अध्यक्षका कारण एनआरएनएमा फेरि भद्रगोल, पदाधिकारीहरु असन्तुष्ट

अध्यक्षका कारण एनआरएनएमा फेरि भद्रगोल, पदाधिकारीहरु असन्तुष्ट

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा आर्थिक पारदर्शितालाई लिएर भाँडभैलो मच्चिएको छ । संघकी कार्यकारी अध्यक्ष रविना थापाले आफूखुशी कोषको रकम खर्च गरेपछि संघभित्रै उनको चर्को आलोचना भएको छ । 

‘कार्यकारी अध्यक्ष भएपछि आफूले भनेको लागु हुनुपर्ने’ भन्दै थापाले स्वेच्छाले कोषको रकम चलाएपछि खैलाबैला भएको संघका एक पदाधिकारीले बताए । केही दिनअघि थापा डोटीका भूकम्पपीडितलाई राहत बाँड्ने भन्दै सुदूरपश्चिम गएकी थिइन् । उनले संघको तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिन् । तर, यसबारे आफूहरुलाई जानकारी नगराएको भन्दै अन्य पदाधिकारी भड्किएका छन् । 

‘कुनैपनि क्षेत्रमा सहयोग गर्नुभन्दा अगाडि कार्यसमितिमा छलफल हुनुपर्दछ । तर, उहाँले आफूलाई महारानी नै सम्झिन पो थाल्नुभएछ । मैले भनेको जसरी पनि पूरा हुनुपर्दछ भन्नुहुन्छ’, ती पदाधिकारीले भने, ‘पाँच लाख ठूलो कुरा होइन । यदि सामूहिक रुपमा छलफल भएको भए त्योभन्दा बढी रकम सहयोग गर्न सकिन्थ्यो । तर, रविनाजीले सस्तो लोकप्रियता कमाउन आफूखुशी गर्न थाल्नुभयो ।’

सुदूरपश्चिम भ्रमणको क्रममा थापा कमैयामुक्त बालबालिकाको समस्याबारे छलफल गर्ने भन्दै कञ्चनपुरस्थित जनभावना आधारभूत विद्यालय पुगेकी थिइन् । उनले विद्यालयमा नेपालको शिक्षा र स्वास्थ्य सुधारका लागि थुप्रै गतिविधि सञ्चालन गरेको बताएकी थिइन् । 

साथै, आगामी दिनमा बालबालिकाको शिक्षाका लागि आवश्यक सहयोग गर्ने वाचासमेत गरिन् । ‘परोपकारी कार्यमा राहत बाँड्नु उत्तम विषय हो । तर, संस्थाको एउटा विधि छ, प्रक्रिया छ’, संघका सह–कोषाध्यक्षले भने । कार्यकारी अध्यक्ष भएपछि सबै अधिकार आफ्नो हुन्छ भनेर थापाले भ्रम पालिरहेको उनको भनाइ छ । 

थापाको आनीबानी र काम गर्ने शैली देखेर संघका पदाधिकारीहरु आजित भएको बताइन्छ । छलफल नै नगरी कोषको पैसा खर्च गर्ने, जहाँ पनि संघले सहयोग गर्ने आश्वासन दिने, नेपालको शिक्षा र स्वास्थ्य प्रणालीमा सुधार गर्छौं भन्दै हिँड्न थालेपछि संघका पदाधिकारीहरु रुष्ट भएका हुन् । 

‘सुहाउने र पच्ने पो गफ हान्नु नि १ ६ महिना प्रतिबद्धता जनाउँदै हिँड्ने मात्रै हो ?,’ एक उपमहासचिवले आक्रोशित हुँदै भने । थापा गत अक्टोबरदेखि संघको नेतृत्वमा छिन् । उनले बहुपदीय प्रक्रियामा छ महिना संघको नेतृत्व गर्ने मौका पाएकी हुन् । 

राजनीतिक हस्तक्षेपका कारण गतवर्ष संघको निर्वाचन भाँडिएको थियो । प्रजातान्त्रिक पक्षका कुल आचार्य र वामपन्थी पक्षधर डा. बद्री केसीबीच नेतृत्व हत्याउने जुहारी चलिरहँदा थापाले पनि अध्यक्ष उठ्छु भन्दै ‘च्याँखे दाउ’ थापेकी थिइन् । ‘काले–काले मिलेर खाउँ भाले’ भनेजस्तै बाँडीचुँडी खाने प्रक्रियामा सहमति भएसँगै उनी संघ हाँक्ने सीटमा पुगेकी हुन् । तर, उनी नेतृत्वमा पुगेपछि संघभित्र झनै तनावको अवस्था सिर्जना भएको छ । 

पहिलो गाँसमै ढुंगा

पद सम्हालेको दुई महिना बितिसक्दा पनि थापाले आफ्नो अध्यक्षतामा एउटा बैठकको डाक्न सकेकी छैनन् । केही समयअघि बोलाइएको पहिलो बैठकमा ‘हिटलर’ प्रवृत्ति देखाउन थालेपछि अर्का अध्यक्ष डा. केसी र आचार्यको आग्रहमा महासचिव गौरीराज जोशीले बैठक नै रोकाएका थिए । 

‘बैठक सुरु हुँदै थियो । रविना जीले जसरी पनि पद बाँड्छु भन्नुभयो । अन्य सबै पदाधिकारी मनोनित नगर्ने पक्षमा थिए । जबरजस्ती गर्न थालेपछि महासचिवज्यूले बैठक नै स्थगित गरिदिनुभयो,’ बैठकमा सहभागी एक जना उपाध्यक्षले जानकारी दिए । 

बैठक स्थगित भएपछि थापा आक्रोशित भएको बताइन्छ । महासचिव जोशीलाई लगत्तै २४ घण्टे स्पष्टीकरणसमेत सोधिएको थियो । 

स्रोतका अनुसार थापाको छ महिने कार्यकालमा एकचोटि पनि बैठक नै नबसि सिद्धिने सम्भावना बढी छ । ‘दुई महिना बित्यो । बाँकी चार महिना पनि यत्तिकै बित्ने सम्भावना छ । रविनाप्रति दुई तीन जनाबाहेक कोही पनि सकारात्मक छैनन्,’ स्रोतको दाबी छ । 

बाालुवाटारस्थित संघको सचिवालयमा कार्यरत कर्मचारीसँग पनि अध्यक्षको राम्रो सम्बन्ध नभएको बताइन्छ । उनले सचिवालयका कार्यकारी निर्देशक रवीकिरण अधिकारीलाई आफूले भनेअनुसार काम नगरे कारबाही गर्ने धम्कीपूर्ण इमेल पठाएकी थिइन् । सचिवालय स्रोतअनुसार थापा र अधिकारीबीच अहिले बोलचालसमेत बन्द भएको छ ।

टिप्पणीहरू