चितवनका तीन वटै क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, ३ नम्बरमा काँग्रेस छिन्नभिन्न

चितवनका तीन वटै क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, ३ नम्बरमा काँग्रेस छिन्नभिन्न

चितवनको तीन वटै निर्वाचन क्षेत्रमा आगामी निर्वाचनमा मुख्यगरी त्रिपक्षीय, भीडन्त हुने पक्का छ । सत्ता गठबन्धन, एमाले, राप्रपा र रवि लामिछानेको पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

पछिल्लो अवस्थाअनुसार निर्वाचन निर्वाचन क्षेत्र नम्बर १ मा हिजो दिउँसोसम्म घण्टी चिन्हका उम्मेदवार हरि ढकाल माथि आएको बताइन्थ्यो । तर आजबाट त्रीपक्षीय भीडन्त हुने र आज बिहानबाट काँग्रेस थोरै मतले अगाडि रहेको चर्चा चलाइएको छ । नेपाली काँग्रेसबाट विश्व पौडेल उम्मेदवार छन् ।

घण्टी र रुख जो अगाडि भए पनि थोरै मत तरल रहेकाले यसै भन्न नसिकने अवस्था बन्दै गएको हो । एमालेका सुरेन्द्र पाण्डे पनि प्रतिस्पर्धामा रहेकाले मतगणना नहुञ्जेल भन्न नसकिने स्वतन्त्र विश्लेषकहरु बताउँछन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा हिजोबाट काँग्रेस एक ढिक्का भएकाले उसको सम्भावना बढेको भन्न थालिएको छ । तर बाहिर चलाइएको चर्चा र हाउगुजीअनुसार घण्टी चिन्ह लिएका रवि लामिछाने अगाडि भन्नेहरु पनि छन् । काँग्रेसले भित्रभित्रै अगाडि हुने रणनीति बनाएको दाबी गरिएको छ । काँग्रेसबाट उमेश श्रेष्ठ उम्मेदवार छन् ।

सोही क्षेत्रमा उठेका एमालेका कृष्णभक्त पोखरेलको भविश्य कालिका नगरपालिकामा गएर अडिएको विश्लेषण गरिएको छ । एमालेको धेरै भोट रहेको कालिका नगरपालिकाका स्थानीयले कति पटक पोखरेललाई ? भनेकाले अनेका आशंका गरिएको छ । स्थानीयको आशंका यथार्थमा परिणत भयो भने उनलाई गाह्रो हुने एमालेजनको भनाइ छ ।

यता आज रवि लामिछानेले सोही क्षेत्रमा आमसभा राखेका छन् । कम्तीमा २५ देखि बढीमा ३० हजार मानिस उतार्ने योजना बनाएकाले पनि घण्टी चिन्ह आक्रामक ढंगले अगाडि आएको अनुमान गरिएको छ । आजको आमसभामा हुने उपस्थितिले पनि धेरै कुराको निक्र्यौल हुन सहयोग पुग्ने बताइन्छ । 

लामिछाने एक महिनादेखि घर भाडामा लिएर त्यतै बसेका छन् । तर उक्त घरको भाडा उनले तिर्न नपर्ने भएको । लामिछानेका विदेशमा रहेका फ्यानले चुनाव प्रचारको निम्ति आफ्नो घर घण्टी चिन्हका उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुनावभर दिएको बताइन्छ । 

निर्वाचन क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेको ‘कमब्याक’ राम्रो हुनसक्ने आकलन छ । माओवादी केन्द्रका डा. भोजराज अधिकारीको पनि अवस्था राम्रो रहेको बताइन्छ । यसअघिको निर्वाचनमा अध्यक्ष प्रचण्डसँग उठ्दा पाण्डेले माडीबाट बराबर भोट ल्याएकाले अहिले अधिक ल्याउने दाबी गरेका छन् ।

केही दिन अगाडिसम्म डा. भोजराज विक्रमभन्दा धेरै अगाडि रहेको अनुमान गरिएको थियो । त्यहाँ पनि काँग्रेसका बागी उम्मेदवार दिनेश कोइरालासहित त्रिपक्षीय भिडन्त हुने बताइन्छ । गठबन्धनभित्र इमान्दारितापूर्वक मतदान भएमा भोजराजले जित्नेमा कुनै शंका देखिँदैन । तर, माओवादीलाई उम्मेदवारी दिएका कारण स्थानीय काँग्रेस नेता, कार्यकर्ता र समर्थक छिन्नभिन्न भएकाले परिस्थिति फरक हुनसक्ने बताइन्छ ।

उता मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा भने गठबन्धन दलका उम्मेदवारहरु अगाडि रहेको देखिएको छ ।

टिप्पणीहरू