चुनावमा जान थाले कर्मचारी, साढे २ लाख खटिने

चुनावमा जान थाले कर्मचारी, साढे २ लाख खटिने

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा निर्वाचन आयोगले साढे दुई लाख कर्मचारी खटाउने भएको छ । निर्वाचनमा सुरक्षाकर्मी बाहेक दुई लाख ४६ हजार जनशक्ति परिचालित हुने बताइएको छ ।

निर्वाचन आयोग ऐन र निर्वाचन जनशक्ति व्यवस्थापन सम्बन्धी निर्देशिका तथा कार्यविधिबमोजिम आयोगले निर्वाचनमा जनशक्ति पठाउन लागेको बताइएको छ । सोहीअनुसार कतिपय दुर्गम जिल्लाका विकट मतदान केन्द्रको निम्ति कर्मचारीहरु खटिन थालेका छन् ।

निर्वाचन आयोग ऐन २०७३ को दफा १९ बमोजिम निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत आवश्यक देखिएका अन्य पद सिर्जना गरि कर्मचारी नियुक्त गर्न सक्ने व्यवस्था छ ।

कहाँ कति कर्मचारी ?

निर्वाचनका लागि गत असोज २० गतेदेखि सबै जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने मुख्य निर्वाचन अधिकृतका लागि न्यायपरिषद्को सिफारिसमा जिल्ला अदालतका न्यायाधीशलाई खटाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत एक जना, सहायक निर्वाचन अधिकृत एक जना, लेखापाल एक जना, सहायक कर्मचारी एक जना राखिएको छ । त्यसैगरी कम्प्युटर अपरेटर एक, सवारी चालक एक, सहयोगी कर्मचारी दुई, पिएसओ एक गरी नौ जना कर्मचारी रहने व्यवस्था छ । आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जना कर्मचारीको दरबन्दी तोकिएको छ ।

कुन मतदान केन्द्रमा कति कर्मचारी ?

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक व्यवस्थापन कार्यविधि २०७९ मा भएको व्यवस्थाअनुसार दुई सय ५० जना मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक–एक जनासहित नौ जना कर्मचारी रहने छन् ।

सोही व्यवस्थाअनुसार आयोगले २५१ देखि पाँच सयसम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक–एक जनासहित ११ जना कर्मचारी खटाएको छ । आयोगले पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा थप एक जना स्वयंसेवक राख्ने व्यवस्था गरेको छ । सोही कार्यविधिबमोजिम अस्थायी मतदान केन्द्रको पनि व्यवस्था गरिएको छ ।

मतपत्र रुजु गर्ने, प्याकेजिङ्ग गर्ने र मतदान अधिकृतलाई मतपत्र बुझाउने कामका लागि थप जनशक्ति आवश्यक भएमा निर्वाचन अधिकृतले बढीमा पाँच दिनको लागि कर्मचारीलाई काजमा ल्याउन ल्याउन सक्ने व्यवस्था छ । मतदान केन्द्रका लागि आवश्यक पर्ने अन्य निर्वाचन सामग्रीको चेकजाँच, रुजु, भण्डारण, बाँडफाँड तथा वितरण प्रयोजनका लागि थप जनशक्ति काजमा ल्याएर कार्यसम्पादन गर्न सकिने व्यवस्था छ ।

यी कर्मचारी निर्वाचनमा नखटिने

आयोगले निजामती कर्मचारी, शिक्षक तथा अन्य सरकारी संघ संस्थासँग सम्बद्ध राष्ट्रियस्तरको ट्रेड युनियनका संघ, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारीलाई निर्वाचनमा परिचालन नगरिने बताएको छ । यस्तै, कुनै कर्मचारीको नजिकको नातेदार उम्मेदवार भएमा पनि सो निर्वाचन क्षेत्रमा त्यस्ता कर्मचारीलाई निर्वाचनमा नखटाउने आयोगको भनाइ छ ।

जनशक्ति व्यवस्थापन निर्देशिकामा सुरक्षा गार्ड, स्वास्थ्य सेवा, विद्युत, टेलिफोन, बैंक, वारुणयन्त्र, खानेपानी जस्ता अत्यावश्यक सेवा प्रदान गर्ने निकायका कर्मचारीलाई वैकल्पिक व्यवस्था नगरी निर्वाचन कार्यमा खटाउन नहुने उल्लेख छ ।

टिप्पणीहरू