मोटरसाइकलमा सवार आमाछोरी घाइते, चालक बिते

मोटरसाइकलमा सवार आमाछोरी घाइते, चालक बिते

झापामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुबै चालकको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–२, बेलडाँगीमा मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुवै चालकको ज्यान गएको हो ।

दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार मत्यु हुनेमा मे.३ प ५५८० मोटरसाइकलका चालक बाह्रदशी गाउँपालिका–२, का २५ वर्षीय अनिस साउदेन र मे.५प १६०४ नम्बरका मोटरसाइकल चालक सोही गाउँपालिका–६, का ४३ वर्षीय भोलाराज भुजेल हुन् ।

भुजेलको मोटरसाइकलमा सवार उनकी पत्नी ४२ वर्षीया चन्द्रकला भुजेल र नौ वर्षीया छोरी प्रशना भुजेल घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारका क्रममा दुवै मोटरसाइकल चालकको मृत्यु भएको हो ।

घाइते आमा–छोरीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय, अनारमनीले दुबै मोटरसाइकल नियन्त्रणमा लिएको बताइएको छ ।

टिप्पणीहरू