सीएमसी भयो बलियो, पीडित पक्षलाई नै पोलियो

सीएमसी भयो बलियो, पीडित पक्षलाई नै पोलियो

आफन्त गुमाउनुपर्दाको सन्तापमा जलिरहेकाहरु अर्काे भुङ्ग्रोमा घचेटिएका छन् । मृतकको लास जल्न नसकिरहेको अवस्थामा उल्टै मृतक पक्षलाई नै आगोमा झोसिँदैछ । सीएमसीको तर्फबाट नौ जनाविरुद्ध किटानी जाहेरी हिजो (असोज २४ मा) दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी नवराज अधिकारीले जानकारी दिए । त्यसमा तीन जना पक्राउ परिसकेका छन् ।

भरतपुरको चितवन मेडिकल कलेज (सीएमसी)मा यही असोज १७ गते भरतपुर–१३, उज्वलनगरका ३६ वर्षीय रमेश कुँवरको उपचारको क्रममा ज्यान गएको थियो । ‘ग्यास्ट्रिक बढेको’ उपचार गराउन घरबाट मोटरसाईकल चढेर सीएमसीमा पुगेका कुँवरको उपचारमा संलग्नहरुकै लापरबाहीले मृत्यु भएको भन्दै सुरुमा परिवारजन कलेजसँग आगो भएका थिए । फोनको भरमा उपचार गर्दा ज्यान गएको भन्दै उपचारमा खटिएका डाक्टर, कर्मचारीहरुको डाक्टरी सर्टिफिकेट हेर्न पाउनुपर्ने माग गरी पीडित परिवार कलेजमाथि खनिँदै गर्दा भोलिपल्टको घटनाले सीएमसीलाई नै बलशाली बनाइदिएको हो । वडाअध्यक्षसहित छलफल भइरहँदा एक्कासि कलेजमा तोडफोड भएपछि घटनाको ‘सिक्वेन्स’ बदलिएर आगोको मुस्लो कलेजको हातमा पुग्यो, जसले पीडित पक्षका मान्छेहरु नै डामिएर आत्थुआत्थु हुने स्थिति बनेको हो ।

रमेशको मृत्यु भएकै दिन कलेज प्रशासन सहमतिमा आएन । मृतक परिवारमा आवेग बढ्दै गर्दा भोलिपल्ट पीडित पक्षका धेरै नै मान्छे सीएमसीमा आउनेबारे सुरक्षा संयन्त्रलाई ‘नोटेड’ भइसकेको थियो । सोही अनुसार बाक्लै संख्यामा प्रहरी परिचालित भए । सिडिओ अस्मान तामाङका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत ७५ जना भन्दा बढी सुरक्षाकर्मी सीएमसीमा तैनाथ गरिएको थियो । तैपनि कलेजमा तोडफोड भएरै छाड्यो । यहाँसम्मकि आईसीयुमा समेत तोडफोड भयो । यसमा सिएमसीसँग पहिल्यैदेखि आक्रोशित कोही पात्रले घिउ थप्ने काम गरेको जानकारीमा आएको छ । तोडफोडमा घुसपैठ भएको भरतपुर–१३ का वडाअध्यक्ष प्रकाश दवाडीको पनि भनाइ छ ।

घटनाले तोडफोडको रुप लिएपछि पानी हालेको आगोझैं निस्तेज भएका मृतक परिवारमा सिएमसीलाई डाम्ने तातो नै मर्न गयो । उपचारमा लापरबाही भएकोबारे उजुरबाजुर गर्ने हिम्मत सेलाएर सकेसम्म मिल्नै खोजिरहेका थिए । तर आफू माथि परेपछि सीएमसी मिल्ने पक्षमा गएन । त्यसो त बिरामी र विद्यार्थीबाट मनग्गे पैसा कमाइरहेको चितवन मेडिकल कलेजको पहुँच र पावर ठूलै छ । झन् सिएमसीको पक्षमा सिंगो मेडिकल एसोसिएशन नै राँको लिएर उभिएपछि पीडित पक्ष फसादमा परेका हुन् ।

बताइएअनुसार तोडफोडअघि उपचार खर्च मिनाहा गरेर मृतकका बालबच्चाको पठनपाठनको जिम्मा लिन सीएमसी सहमत हुन खोजिरहेको थियो । तर पछि सिडिओले समेत सकेसम्म मिलाउने प्रयास गर्दा पनि कलेज सञ्चालक हरिशचन्द्र न्यौपाने र सिईओ प्रताप देवकोटाहरुले अटेरी गरे । तोडफोडको निहुँमा प्रहरीमा जाहेरी दिएरै छाडे । तोडफोडबाट झण्डै रु. १० लाख बराबरको क्षति भएको र त्यो क्षतिपूर्तिसमेत पाउनुपर्ने माग गर्दै तोडफोडमा संलग्नहरुलाई कारबाहीको माग गरिएको छ । प्रहरी कार्यालयमा दर्ता भइसकेको फौजदारी मुद्दा अब फिर्ता हुन नसक्ने चितवन प्रहरीका प्रवक्ता डीएसपी विजयराज पण्डित बताउँछन् ।

स्मरणरहोस्, मृतक परिवार सुकुमवासी हुन् । बताइएअनुसार उनीहरु कुनै राजनीतिक दलमा आबद्ध छैनन् र संघ–संगठनहरुमा पनि नजोडिएका पहुँचविहीन हुन् । घटनामा प्रत्यक्ष संलग्नताको आधारमा समातिएका ३१ वर्षीय विकास दमाई, ३७ वर्षीय जीवन सुनार र २८ वर्षीय धनबहादुर विक पनि सोही ठाउँका दलित सुकुमवासी नै हुन् । हिजै अदालतबाट म्याद अनुमति लिएर उनीहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिँदैछ । जाहेरीमा किटान गरिएका अन्यलाई पनि समात्न प्रहरी लागिपरेको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ बमोजिम स्वास्थ्य संस्थामा तोडफोड गर्नेहरुलाई तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने प्रावधान छ । त्यसमाथि लाखौं क्षतिपूर्तिको माग पनि छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप अहिलेमात्र लागेको होइन ।

यसअघि पनि पटकपटक यस्ता घटना हुँदै आएको जानकारहरु बताउँछन् । रमेशको उपचारमा संलग्नहरुलाई पीडित परिवारसामु अस्पतालले अहिलेसम्म पेश नगरेको बुझिन्छ । तर प्यान्क्रियाज अंगमा आकस्मिक सुजन भई द्रुत गतिमा संक्रमण फैलिएर शरीरका अन्य अंगहरुले पनि काम नगर्दा बचाउने कोसिस गर्दागर्दै उनको मृत्यु भएको दलिल अस्पतालको छ ।

सीएमसीले दया नगरेपछि अब पीडित परिवार पनि ‘लापरबाहीपूर्ण उपचारले मृत्यु भएको’ विषयमा सिडिओ कार्यालयमा उजुरी गरी न्यायका लागि नेपाल मेडिकल काउन्सिलसम्म पुग्ने तरखरमा छ । हेरौं के हुने हो ?

यो संग सम्बन्धित समाचार पढ्नु होस् ।

दशैंको बेला दशा लागेर सिएमसीमा गए जस्तो !

बिरामीको मृत्युपछि चितवन मेडिकल कलेज तोडफोड

टिप्पणीहरू