पत्रकारिता जगतलाई प्रचण्डको पुकार

पत्रकारिता जगतलाई प्रचण्डको पुकार

आगामी मंसिर ४ गते संघ र प्रदेशको चुनाव हुँदैछ । त्यसका लागि नेताहरुको दौडधूप निकै चलेको देखिन्छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अग्रगतिको पक्षमा लाग्न मिडियाकर्मीलाई आग्रह गर्नुभएको छ।

विजयादशमी, शुभ–दिपावली, नेपाल सम्वत् ११४३ तथा छठ पर्वको अवसरमा प्रेस सेन्टर नेपाल, जिल्ला शाखा चितवनले आज भरतपुरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष दाहालले भन्नुभयो, ‘पत्रकारिता जगतले बाटो बिराउँदा देश अधोगतिमा जान सक्छ । म के अपिल गर्न चाहन्छु भने राष्ट्रिय एकताको पक्षमा, विभाजनकारी प्रवृत्तिको विपक्षमा, संविधान र गणतन्त्रको रक्षामा पहलकदमी बढोस् ।’

प्रतिगमनकारीहरुबाट जनतालाई भ्रमित पार्ने प्रयास भइरहेको भन्दै उहाँले थप्नुभयो, ‘युद्धलाई शान्तिमा, शान्तिलाई संविधानमा रुपान्तरण गर्दै देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा ल्याउन नेपाली मिडियाको ठूलो भूमिका छ । मुख्य कुरा जनमत निर्माण गर्नु हो । देश फेरि अराजकता र निरंकुशतातिर जान नपाओस् । यसमा खबरदारी गर्न सफलता मिलोस् ।’

जीवनको उत्तराद्र्धमा मुलुकको आर्थिक समृद्धि र क्रान्तिमा व्यतीत गर्ने प्रचण्डले बताउनुभयो । उहाँको भनाइ छ, ‘अबको दशक आर्थिक क्रान्तिको दशक हो ।’ चितवनको विकासलाई देशकै नमूना विकासको रुपमा अगाडि बढाइने पनि उहाँको भनाइ छ । मुलुकको मध्यभागमा अवस्थित एवम् बसाइँसराइ गरेर आउनेहरुको केन्द्र बनेको चितवनलाई आर्थिक विकास र समृद्धिको एउटा मोडल बनाउने आफ्नो सपना रहेको प्रचण्डले बताउनुभयो ।

प्रेस सेन्टर नेपाल, चितवनका अध्यक्ष सूर्य पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ, एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष अरुणपीडित भण्डारी, माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पनि मन्तव्य राखेका थिए ।

राष्ट्रिय सभा सदस्य नारायण दाहाल, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्य सुवेदी, प्रदेश मन्त्री घनश्याम दाहाल लगायतको आतिथ्यता रहेको कार्यक्रममा माओवादी केन्द्रको प्रेस सेन्टरलगायत अरु पार्टी सम्बद्ध पत्रकारहरु पनि सहभागी थिए ।

टिप्पणीहरू