पहिरन सुधारौँ पहिला, के पुरुष–के महिला !

पहिरन सुधारौँ पहिला, के पुरुष–के महिला !

जिल्ला प्रहरी कार्यालय चितवनमा रिपोर्टिङको लागि बेलाबेला पुगिरहेको हुन्छु । एसपी, डीएसपी कार्यकक्षतिर जाँदा ढोकामै राखिएको ऐना हेर्छु । भ¥याङ उक्लिनासाथ देखिने अर्काे ऐना पनि नियाल्छु । राम्रो लाग्छ, ऐनाको तलमाथि छेउछेउमा लेखिएको, ‘पोशाकको कदर गर्नुहोस्’ पढ्दा । प्रहरीमा पोशाकको अत्यन्त ठूलो महत्व छ । बर्दीविना त प्रहरीको चिनारी नै हुँदैन ।

प्रहरीको मात्र होइन, पोशाक हरेक मान्छेको पहिचान हो । केही न केही व्यक्तित्व झल्काउँछ पहिरनले । पोशाकको कदर सबैको निम्ति आवश्यक छ । यस संसारमा कपडा लगाउने प्राणी मानिस मात्र हो । किनकि मानिस विवेकशील छ, चेतनशील छ । सही–गलत छुट्याउने खुबी छ । त्यसैले अरु प्राणीभन्दा सर्वश्रेष्ठ छ, लाज–घीन, मान–मर्यादाको ख्याल हुन्छ र हुनुपर्छ हामीलाई । अरुको अगाडि नांगो शरीर देखाउनु लाजको विषय हो, त्यसैले कपडा लगाइन्छ । एकसरो लुगा त जस्तो गरीबले पनि लगाउँछ ।

बरु मागेरै भए पनि माग्नेले समेत कपडा लगाएको हुन्छ । मान्छेको पहिलो आधारभूत आवश्यकता गाँस, बास अनि कपास नै हो । बजारमा छानीछानी पाइन्छन् रेडिमेड कपडा । आफ्नो इच्छा र नापअनुसार कपडा किनेर सिलाउन पनि सकिन्छ । सस्तादेखि अत्यधिक महँगा, सभ्य–छाडा, लामा–छोटा, पारदर्शी–अपारदर्शी किसिम–किसिमका कपडा बजारमा किन्न पाइन्छ । कुन लगाउने, कस्तो देखिने आफ्नो छनोटको कुरा हो ।

मुनिदेखि माथिसम्मकै भए पनि भित्री वस्त्र देखाउने पारदर्शी कपडाचाहिँ किन रोज्नुपरेको होला ?

हिजोआज प्रायः महिलाको रोजाइमा सभ्यभन्दा असभ्य, उत्ताउला कपडा देखिन्छ । मुनि कुर्कुच्चो, पैतालासम्मै ढाक्ने साडी, प्यान्टहरू भन्दा पनि तिघ्रै देखाउने छोटा–छोटा र चिरिएका कपडा धेरैले लगाउन थालेका छन् । सेक्सी र आधुनिक देखिने लहडमा उदांगिने होड छ । माथि पनि सकेसम्म स्तन देखिने गरी वक्षस्थलमा उघारिएका कपडा लगाउँछन् । मुनिदेखि माथिसम्मकै भए पनि भित्री वस्त्र देखाउने पारदर्शी कपडाचाहिँ किन रोज्नुपरेको होला ? कतिपय कुर्ता–सलवार, ब्लाउज लगाउनेको पहिरन हेर्ने हो भने भित्रको रातो, कालो पेन्टी, ब्राको रंग–आकार बाहिर टाढैबाट प्रष्ट देखिन्छ । अरु अंग पनि छ्याङ्ग देखिन्छ ।

कपडाबाटै यसरी अभद्र, अश्लील देखिन चाहनेहरू कसरी शालीन हुन सक्लान् ? व्यक्तिको सोच–व्यवहार जस्तो छ, त्यस्तै देखिने र देखिन चाहने त हो ! तर सोच–विचार जस्तो भए पनि लोकलाजको हामीले ख्याल गर्नुपर्छ । वैयक्तिक स्वतन्त्रता भन्दैमा भेशभूषालाई समेत छाडा त नबनाऔं न हजुर ! फिल्मका हिरोइन, मोडेलहरूको उच्छृङ्खलताको देखासिकी गरेर हुन्छ त समाजमा ? वास्तवमा भन्ने हो भने समाजलाई सन्देश र मनोरञ्जन दिने चलचित्रमा यस्ता विकृति–विसंगतिलाई प्रश्रय दिनै नहुने हो । अंग प्रदर्शन गरेर फिल्म चल्ने, हिरो–हिरोइन हिट हुने होइन, कथावस्तु र अभिनय राम्रो हुनुपर्छ । अरुका अगाडि झट्ट देखिने पहिरनमै लोकलाज पचाएर, बेइज्जत दर्शाएर कसरी होला इज्जतिलो पहिचान ?

घरमा कपडा खोलेर जहाँ पायो त्यहीँ छोड्ने बालबालिकालाई आमाबाबुले सम्झाउँदै भन्ने गरेको पाइन्छ, ‘कपडाको जतन गरे पो कपडाले पनि इज्जत दिन्छ ।’ वास्तवमै मान्छेलाई इज्जत दिने चिज हो कपडा । इज्जतदार कपडा लगाउँदा सबैले राम्रो मान्छन् । बरु फाटेको टालेर लगाउँदा हुन्छ, पुरानो–मैलोलाई धोएर लगाउँदा हुन्छ, सस्तो भए पनि केही फरक पर्दैन । गर्मीमा धेरै बाक्लो लाउनु पनि पर्दैन तर भित्री वस्त्र नदेखिने र शरीर राम्ररी ढाक्नेचाहिँ हुनुपर्छ ।

प्रहरीले लगाउने कपडा हेरौं त बाक्लै हुन्छ । जस्तो चर्काे घाममा पनि उनीहरू उही पोशाक लुगाएर ड्युटी गर्छन् भने हामीचाहिँ गति छाड्ने ? हामीलाई त्यति बाक्लो पनि चाहिँदैन, हल्कामा पनि अपारदर्शी पाइन्छन् । प्रचण्ड गर्मीमै अपारदर्शी सर्ट वा टिसर्ट प्यान्ट, कुर्ता सलवार, साडी लगाएर हिँड्ने महिलाहरू पनि त छन् !

अचेल बजारमा रेडिमेड कुर्ता सलवार लगायतका कपडाहरू एकदम पारदर्शी मात्रै आउन थालेका छन्, सस्तैमा महिलालाई बिगार्न । रेडिमेड पनि खोजे राम्रै पाइन्छ । कपडा किनेर सिलाउँदा पनि पारदर्शी नै किन रुचाउँछन् महिलाहरू ? खोजे अपारदर्शी जति नि पाइन्छ । छोटा कपडामाथि संवेदनशील अंगहरूमा ट्याटु खोपेर देखाउने प्रचलन पनि निकै बढ्दै छ ।

महिला मात्र होइन, पुरुषले पनि शरीर राम्ररी ढाक्नुपर्छ । पुरुषहरू प्रायः सर्ट/टिसर्ट–प्यान्ट नै लगाएर हिँड्छन्, अण्डरवेयर देखिने हुँदैन । घुँडा–घुँडासम्म प्यान्ट लगाएर हिँड्नु त पुरुष–महिला दुवैका लागि सामान्य भइसक्यो । तर गर्मीको निहुँमा घर छिमेकमा बस्दा कम्मरमाथि लुगा नै नभिरी उदांगो भएर, मुनि पनि तौलिया मात्रै बेरेर बस्छन् कैयौं पुरुष । योचाहिँ मर्यादित पक्कै होइन । महिलाको छाती–तिघ्रामा पुरुष लोभिएझैं पुरुषको तिघ्रा–छातीमा महिला नलोभिएलान् ? पुरुषको स्तनको मुन्टामा महिलाहरू आकर्षित हुने अध्ययनले देखाएको समाचार नै आएको छ । पुरुषको पनि यस्तो हर्कतले आफ्नी पत्नी–प्रेमिका वा अरुकी पत्नी–प्रेमिकामा नराम्रो असर र छाप त पर्छ गाँठे †

पुरुषहरूको छाती खोलेर, गम्छा भिरेर हिँड्ने चलनले महिलालाई पनि त्यस्तै छोटा–अश्लील लुगा लगाउन, आफूलाई सक्दो नङ्गा देखाउन प्रेरित गरेको हुनुपर्छ । गाउँघर–टोलछिमेकतिर कैयौं महिला पेटीकोटमात्रै बेरेर हिँडेको, बसेको देखिन्छ । धोती लगाउने पुरुषहरू धोती फर्काएर बस्ने गरेझैं महिला पनि लुंगी, साडी उचालेर हिँडेको, बसेको बग्रेल्ती देखिन्छ । कपडाको कदर नै छैन भने पूरै नांगै हिँडे भइगयो त !

कतिपय मान्छेलाई मैले शरीरको अंग देखाउँदा त्यसको महिमा बढ्छ भन्ने भ्रम होला ! तर, महत्व त्यही चीजको हुन्छ, जुन ढाकिन्छ, छोपिन्छ । सधैं उदांगो, देखिइरहने चीज त मूल्यहीन हुँदै जान्छ । शरीरको गरिमा र इज्जत चाहने हो भने नाङ्गिने किन ? नङ्ग्याउने, नांगिने शब्दलाई चरित्र उदांगो हुनु वा इज्जत/प्रतिष्ठा उत्रिनुसँग त्यसै जोडिएको छैन । उदांगिने, छरपष्ट हुने त आफ्नो प्रेमी–प्रेमिका, पति–पत्नी वा भनौं पार्टनरबीच हो । एकअर्कामा मनपेट पनि खोल्नुपर्छ । वस्त्र उचाल्ने, उतार्ने, उत्ताउलिने, अंग नियाल्ने, सुम्सुम्याउने, टाँसिने, गाँसिने दुई जनाबीच मात्रै भए पो राम्रो ! समाजमा अरुको अगाडि हिँड्दा वा बस्न, उठ्न, काम गर्न सजिलो कपडा त लगाउनुपर्छ तर उत्ताउलो होइन केवल सजिलो, सुहाउँदो र इज्जतिलो ।

टिप्पणीहरू