सन्दिप लामिछानेलाई भगाउने को ?, सामाजिक सञ्जालमा जुहारी, प्रहरी भन्छ- बोल्न मिल्दैन

सन्दिप लामिछानेलाई भगाउने को ?, सामाजिक सञ्जालमा जुहारी, प्रहरी भन्छ- बोल्न मिल्दैन

नाबालिका बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दिप लामिछाने यतिबेला कहाँ छन् अत्तोपत्तो छैन । सबै खेल छोडेर नेपाल फर्किने र अनुसन्धान प्रक्रियालाई सघाउने सामाजिक सञ्जालमार्फत जानकारी गराएका उनी मङ्गलवार नै नेपाल आइपुग्नु पर्ने हो । तर, हालसम्म आउने सुरसार देखिन्न ।

चार दिनअघि आफू निर्दोष भएको र कानुनी उपचारको लागि नेपाल फर्किने बताएका थिए सन्दीपले । केन्याबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेष्टइण्डिज पुगेको केही दिनमै उनीमाथि नाबालिका बलात्कारको आरोप लाग्यो । एक १७ वर्षीया किशोरीले उनीविरुद्ध २१ भदौमा जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा उजुर दिएकी थिइन् ।

सन्दिप अन्तर्राष्ट्रिय टी- 20 र एक दिवसीय क्रिकेट खेल्न नेपाली टोलीको नेतृत्व गर्दै गत भदौ ६ गते केन्या उडेका थिए । त्यसको अघिल्लो दिन भदौ ५ गते उनले सामाजिक सञ्जालमार्फत नजिकिएकी ती किशोरीलाई बानेश्वरबाट आफ्नै गाडीमा लिएर नगरकोट पुर्याएको र राति काठमाडौँ फर्किएर पटक-पटक करणी गरेको किटानी जाहेरी प्रहरीमा परेको छ ।

सन्दिपमाथि अहिले आरोपमात्रै लगाइएको हो,अनुसन्धानको सिङ्गै प्रक्रिया बाँकी नै छ । अदालत र अनुसन्धानमा खटिएका प्रहरीले यथार्थ के हो पत्ता लगाउने नै छन् । आरोप पुष्टि भई नसकेको अवस्थामा उनलाई दोषी नै करार गर्नुपर्ने अवस्था होइन । तर,कानुनलाई सघाउन आउने भनेका सन्दिप आजसम्म नआउनुले भने कयौँ प्रश्न जन्माएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले उजुरी परेलगत्तै उनलाई निलम्बन गरिसकेको छ । निलम्बन गरेको जानकारी पाएपछि सन्दिप आबद्ध टिम जमैका तलावाजले क्यारेबियन प्रिमियर लिगबाट समेत उनलाई हटाइसकेको बताइएको छ । आफू आबद्ध क्लबले समेत हटाएपछि उनले सबै खेल छोडेर नेपाल आउन लागेको बताएका थिए ।

यद्यपि सन्दिप नेपाल आइसके या देश बाहिर नै छन् भन्नेमा सरोकारवाला पक्षहरू नै बेखबर देखिएका छन् । घटनाको अनुसन्धान गरिरहेको प्रहरी,क्यान, सन्दिपको परिवार र उनी निकटहरुले यसबारे केही बताएका छैनन् । सन्दिप स्वयमले नेपाल फर्किने बताएपछि एअरपोर्टबाटै पक्राउ गर्न कुरेर बसेको प्रहरीले यसबारे थप अपडेट गराएको छैन ।

सन्दिप देश बाहिरै रहेर कानुनी उपचारका बारेमा सल्लाह परामर्श गरिरहेको हुनसक्ने कतिपयको अनुमान छ । आपराधिक घटनामा अभियुक्त देश बाहिर रहेको अवस्थामा प्रहरीले इन्टरपोलको प्रक्रियाबाट पक्राउ गर्न सक्छ । तर सन्दिपको हकमा उजुरीमात्रै परेको र अदालतले दोषी करार गरिनसकेकाले इन्टरपोलको प्रक्रिया लागू नहुने उनका समर्थकहरूको भनाई छ ।

यता कट्टर महिलावादीहरु भने बलात्कारजस्तो जघन्य अपराधमा अदालतले पक्राउ गर्न अनुमति दिइसकेकाले यसैको आधारमा इन्टरपोलमार्फत पक्राउ गर्नुपर्ने बताइरहेका छन् । मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले ‘सन्दिपलाई प्रहरी र क्यानले भगायो’ भनेर सामाजिक सञ्जालमा लेखेकी छन् । उनले गरेको ट्विटमा यस्तो लेखिएको छ ,’सन्दिप लामिछाने भाग्नु भनेको दण्डहीनता संस्थागत छ भन्ने परिणाम हो । सन्दिपलाई भगाउनमा प्रहरी र क्रिकेट संघको हात छ ।’

समर्थन र विरोधमै रुमल्लिएको ‘सन्दिप लामिछाने प्रकरण’ सडकमा समेत पोखिन थालेको छ । वीरगन्जमा सन्दिपको समर्थनमा सडक आन्दोलन नै भयो । विभिन्न प्लेकार्ड बोकेका प्रदर्शनकारीहरुले सन्दिप दोषी ठहर नहुँदै सामाजिक सञ्जालबाट अपराधी करार गरिएको भन्दै आपत्ति जनाएका थिए ।

गायक प्रमोद खरेल पनि सन्दिपको पक्षमा देखिन्छन् । उनले सन्दिपलाई सामाजिक सञ्जालमा खेदो खनेकोमा असन्तुष्टी जनाएका छन् । उनी लेख्छन्,’मानौँ ऊ अन्तर्राष्ट्रिय आतङ्कवादी हो । केही तत्त्वहरू (सबै होइन) हात धोएर लागेका छन् । कानुनी प्रक्रिया पुर्‍याएर काम गरे त हुन्छ होला, देशको झन्डा छातीमा बोकेको मान्छेलाई होहल्ला नगरी कानुनी प्रक्रियामा जाँदा कसैको केही बिग्रिन्छ र ! कि के हो ?’ तर, यी भनाईको सञ्जालमै प्रतिवाद भएपछि गायक खरेलले ट्वीट हटाएका थिए ।

सन्दिपविरुद्ध जाहेरी परेको गौशाला वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रूपमा अनुसन्धान अगाडि बढाएको छ । २५ दिनभित्र प्रहरीले अनुसन्धान पूरा गरेर अदालतसमक्ष पेश गर्ने भनिए पनि सन्दिप कहाँ छन् भन्नेबारे प्रहरीले केही खुलाउन चाहेन ।

यसबारे काठमाडौँ प्रहरी प्रवक्ता दिनेश मैनालीसँग बुझ्न खोज्दा उनले अनुसन्धानकै प्रक्रियामा रहेकाले बोल्न नमिल्ने बताए ।

टिप्पणीहरू