ई–पासपोर्ट बनाउनै सास्ती,दिनभर बस्छन् फर्किन्छन् राती

ई–पासपोर्ट बनाउनै सास्ती,दिनभर बस्छन् फर्किन्छन् राती

जन्मेको र हुर्किएको गाउँ छाडेर उच्च शिक्षा हासिल गर्न काठमाडौँ शहर पसेका पारस लामाको सोच परिर्वतन भएको छ । सिन्धुली घर भएका २६ वर्षीय लामा रोजगारको सिलसिलामा विदेश जाने तयारीमा छन् । त्यसकै लागि अहिले त्रिपुरेश्वरको राहदानी विभागमा पासपोर्टका लागि महिनौँदेखि धाइरहेका हुन् । तर,अझै पासपोर्ट बनाउन सकेका छैनन् ।

एकाबिहानै विभागमा लाइन बस्न आउने उनी साँझ हुँदै चाबहिलस्थित त्यही सुनसान डेरा कोठा पुग्छन् । बेरोजगारले परिवर्तन भएको मन, घरपरिवारले देखेको सपनालगायत अन्य आर्थिक समस्याबाट विक्षिप्त उनलाई समयमै पासपोर्ट नबनेपछि थप कठिन भएको छ ।

आफ्नै देशमा पढेर काम गर्ने सोच भएका लामा अहिले भन्छन्, ‘हामी जस्ता इमान्दार व्यक्तिको यहाँ केही लाग्दैन । म पासपोर्टका लागि राहदानी विभाग धाउन थालेको धेरै भएको छ । साइबरमा गएर अनलाइन फर्म भरेको मात्रै एक महिना भइसक्यो । अझै डेट आएको छैन । यस्तै हो भने विदेश गएर पैसा कमाउने सपना पनि पुरा होला जस्तो छैन । यता पनि केही नभएपछि विदेश जान खाजेको हुँ ।‘

उनले थपे, ‘पहुँचवालाले एक दिनमै पासपोर्ट बनाएर गएको पनि हाम्रै आँखाले देखेका छौँ । के भन्नु हजुर, हामी गरिब दुःखीको दशा हो कि व्यथा उस्तै छ ।‘गुल्मी घर भएकी नविना तामाङ अर्जेन्ट पासपोर्ट बनाउन राजधानी आएको दुई महिना भइसक्यो । तीन दिनमा राहदानी पाउने आसमा त्रिपुरेश्वर पुगेकी उनको अनलाइन फर्म भरेको मात्र दुई महिना पुग्न लाग्यो । अझै डेट आउने मेलोमेसो केही छैन ।एक लाख खर्च भइसकेको गुनासो गर्दै सुनाउँछिन्,‘ ई-पासपोर्टको लागि फर्म भरेको दुई महिनै पुग्न लाग्यो । यहाँ धाउन थालेको पनि त्यति नै हुन्छ । आज त डेट आयो होला भनेर आउँछु । सधैं रित्तो हात लिएर बेलुका कोटा फर्किनुपर्छ । घरबाट ल्याएको पैसा जति सबै सकिइसक्यो । अब दुई तीन दिनमा डेट आएन भने गाउँ फर्किन्छु होला । यहाँ त बस्न सकिदैन ।‘

छ महिनापछि बल्लतल्ल ई-पासपोर्टको डेट पाएका दिनेश क्षेत्रीको अनुहारमा धेरैपछिको खुशी प्रष्ट देखिन्थ्यो । उनले अर्जेन्ट पासपोर्टका लागि साइबरमा तीन हजार तिरेर अनलाइन फर्म भरेका थिए । तर, अनलाइन फारम भरेको छ महिना पछि बल्ल तीन दिनमा राहदानी पाउने भएका हुन् ।

बुटवलका सोमप्रसाद भुसाल पनि तीन हप्तादेखि राहदानी विभाग धाइरहेका छन् । यही वीचमा दुई पटक गाउँमा ई पासपोर्टका लागि फर्म भर्ने भनेर गइसकेका छन् । तर, जिल्ला प्रशासनले छ महिनापछि मात्र आउनुपर्ने बताएपछि उनी फेरि यतै आएका हुन् । गाउँमा र काठमाडौँ आवतजावत गरेरै ५० हजार भन्दा बढी खर्च भइसकेको गुनासो गर्छन् भुसाल ।

बिहान खाना नखाइकन राहदानी विभागको गेटमा लाइन लाग्न आउने गरेको बताउँदै उनले भने, ‘जिल्लामा ई पासपोर्ट बनाउने भनिएको छ । तर, त्यहाँ पनि पहुँच हुनुपर्दो रहेछ । जताको पनि हालत यस्तै छ ।‘

उनले थपे, बिहान ८ बजेदेखि नै लाइनमा बसेको छु । तर, अहिलेसम्म पालो आएको छैन, काम बन्ला र कोठामा खाना बनाएर खाउँला भन्ने सोचले आएको अझै पालो आएको छैन् । यस्तै हो भने आज पनि पालो आउला जस्तो छैन ।‘

विभागका कर्मचारीहरुले विभिन्न कागज माग गर्दै अनायासै अल्मलाउने गरेको उनको गुनासो छ । हजारौँको संख्यामा आउने सेवाग्राहीको लागि टोकन सिस्टम भए मात्र सहज हुने उनको बुझाइ छ ।

‘यहाँका कर्मचारीहरुले धेरै अल्मल्याइ दिनुहुन्छ । कहिले परिचयपत्र भएन, कहिले केही भएन भनेर दिन बिताइदिनु हुन्छ । अनि अर्को दिन फेरि आयो के के समस्या देखाउँछन्,‘ उनले भने, हामी त हैरान भइसक्यौ ।‘

यी त उदाहरण मात्र हुन् । यस्ता हजारौं सेवाग्राहीले दैनिक सास्ती भोग्नु परेको छ । सरकारी कर्मचारीको ढिलासुस्ती, अव्यवस्थित वितरण प्रणालीका कारण सेवाग्राहीको चाप लाग्ने गरेको सरोकारवालाहरु बताउँछन् ।

लाइन बस्न बिहानै धाउँछन् सेवाग्राही

पासपोर्टका लागि अनलाइन फर्म बिहान ११ बजेदेखि खुल्ने गरेको छ । तर, सेवाग्रही अनलाइन फर्म भर्नका लागि बिहानैदेखि राहदानी विभाग नजिकको साइबरमा लाइन लाग्न पुगेका हुन्छन् । त्यसैमध्ये कोहलपुरका सन्दीप खड्का पनि एक हुन् । बिहान ६ बजेदेखि नै अनलाइन फर्मको लागि लाइन लागेको उनले बताए । तर, ३० जनाको पछि मात्र आफ्नो पालो आउने बताउँदै उनले भने, ‘म बिहानैदेखि लाइनमा आएको हुँ । पहिले नै फर्म भर्नुपर्छ भन्ने थियो । मेरो भन्दा अगाडि यत्रो साथीहरु हुनुहुन्छ । खोइ, आज पनि मेरो फर्म समावेश होला जस्तो छैन ।‘

फर्मको मात्र ६ हजार तिर्नुपर्ने बाध्यता

पासपोर्टका लागि अनलाइन फर्म भरेको मात्रै ६ हजार तिर्ने गरेको सेवाग्राही बताउँछन् । सुर्खेतका सुरेन्द्र कुमार बिक ६ हजार तिरेर अनलाइन फर्म भरेको गुनासो गर्छन् । अर्जेन्ट राहदानी बनाउनुपर्ने भएकाले ठूलो रकम तिरेर फर्म भर्न बाध्य भएको उनको भनाइ छ ।

‘ यहाँ सबै पैसाको खेल हो । जसले धेरै पैसा दिन्छ यसको आजको आजै स्वीकृत भएर आउँछ । यहाँ एक दुई सय तिर्ने साथीहरू पनि छन् । तर उनको आवेदन स्वीकृत भएको छैन । उनले भने, धेरै पैसा दिनेको छिटो स्वीकृत हुन्छ भन्ने सुनेर मैले पनि ६ हजार तिरेर फर्म भरेको,एकै दिनमा आयो ।‘

फर्म भर्नेहरुले अनलाइन फर्म भरेको साढे दुई सयदेखि पाँच सय रुपैयाँ लिने बताउँछन् । तर,तिनै व्यक्तिले दुई हजारदेखि ६ हजारसम्म सेवाग्राहीबाट शुल्क असुल गरेको भेटिएको छ । यता, कम शुल्क तिरेका सेवाग्राही भने समयमा नै फर्म स्वीकृत नभएको गुनासो सुनाउँछन् ।

नाम मात्रको अनलाइन

विभागले अनलाइन सेवा भने पनि सम्पूर्ण काम अनलाइन हुँदैन । राहदानीको लागि फर्म भर्ने काम मात्र अनलाइनबाट हुने गरेको छ । सेवाग्राहीहरूले रुजुदेखि बायोमेट्रिक गर्नसमेत भौतिक रुपमा विभागमा उपस्थित हुनुपर्छ ।

यति मात्र होइन,पासपोर्ट बनाएबापत दिनुपर्ने रकम तिर्न पनि भौतिक रूपमै विभागभित्र रहेका बैंकमा धाउनुपर्ने हुन्छ । त्यस कारण बैंकमा पैसा बुझाउन पनि लाइन लाग्नुपर्ने बाध्यता छ । सबै काम एउटै ठाउँबाट हुने कारणले पनि सेवाग्रहीहरूको भीड लाग्ने गरेको जानकारहरू बताउँछन् ।

‘कोरोनाका कारण अहिले भीड बढ्यो‘

कोरोना महामारीको समयमा दुई वर्षदेखि राहदानी वितरणमा आएको समस्याका कारण अहिले सेवाग्राहीको भीड् लाग्ने गरेको परराष्ट्रमन्त्री डा.नारायण खड्काका स्वकीय सचिव लीला भट्टराई बताउँछन् । उनका अनुसार अझै केही महिनासम्म यस्तै चाप रहनेछ । लामो समयसम्म रोकिएपछि नयाँ र पुराना पासपोर्ट रिन्यू गर्ने काम एकै चोटी परेकाले सेवाग्राहीको घुइँचो लागेको उनको ठहर छ ।

विभागले दैनिक पाँच हजारको संख्यामा राहदानी वितरण गर्ने गरेको दाबी गर्दै उनले भीडभाड कम गर्न एनआरपी गर्न खोजिएको जानकारी दिए । दैनिक झण्डै आठ हजार मान्छे आउने हुँदा विभागको भीड कम गर्न नसकिएको बताउँदै भट्टराईले भने, ‘विभागले पाँच हजारसम्म एक दिनमा राहदानी वितरण गर्छ । त्यसमा पनि धेरै जसोले आफ्नो साथीभाइ र आफन्तहरु लिएर आउनुहुन्छ । यसरी सबै हेर्ने हो भने झण्डै आठ हजारकै संख्यामा यहाँ मानिसहरु आउनुहुन्छ । अनि कसरी विभागले भीडभाड कम गर्न सक्छ ?‘ सरकारले अनलाइन फर्मका नाममा धेरै रकम लिने व्यवसायीहरुलाई कारबाही गरेको दाबी गर्दै यस्ता कुरामा सेवाग्रही स्वयम सचेत हुनुपर्ने उनको सुझाव छ ।

उनले भने, ‘अनलाइन फर्म भरेबापत धेरै रकम लिने व्यवसायीलाई सरकारले कारबाही गरेको छ । फेरि पनि यस्तो भेटिएमा कडा प्रतिकारमा उत्रिन्छौँ । तर त्यसको लागि सेवाग्राही पनि सचेत हुन आवश्यक छ । काम छिटो हुन्छ भन्दै उसले जति भन्यो यति दिने ? अनि पछि हामी ठगियौँ भन्न त मिल्छ नि ?‘
कतिपय व्यक्ति पासपोर्टका लागि आवश्यक पर्ने कागजातहरु बोकेरै नआउने गरेकाले पनि दुःख भोग्ने अवस्था रहेको उनको भनाइ छ ।

सेवाग्राहीलाई राहदानी बनाउने सामान्य प्रक्रियाका बारेमा समेत पर्याप्त ज्ञान नहुँदा समस्या भएको बताउँदै भट्टराईले भने, ‘सेवाग्राहीहरु प्रक्रिया ने नपुर्याइकन आउनुहुन्छ । त्यसपछि लाइन बसेर अन्तिममा दुःख पाउनुहुन्छ । अनि उहाँहरुले कर्मचारी र विभागलाई दोष दिनुहुन्छ । यसमा आफू पनि त जिम्मेवार हुनुपर्छ नि ?

जिल्लाबाट पनि राहदानी बनाउने गरिए पनि धेरैले राहदानीका लागि जिल्ला छाडेर काठमाडौँ नै आउने गरेको उनको भनाइ छ । ‘जिल्लाबाट पनि राहदानी बन्छ । तर, धेरैलाई काठमाडौं गएपछि राहदानी पनि छिटो बन्छ भन्ने भ्रम छ,‘ उनले भने, ‘यताभन्दा जिल्लामै छिटो राहदानी बन्छ । यहाँ मानिसहरुको धेरै चाप छ । अर्जेन्ट पनि सेवाग्राहीले भनेकै समयमा बनाउन सक्ने अवस्था छैन । त्यसैले अब आआफ्नो जिल्लामै राहदानी बनाउने कुरामा उहाँहरुले पनि जोड दिनुपर्छ ।‘

पासपोर्ट शुल्क

राजधानी विभागले अहिले जिल्ला प्रशासनबाटै पनि विद्युतीय राहदानी दिने व्यवस्था मिलाएको छ । जिल्लामा पासपोर्ट बनाए पाँच हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । उत्तः शुल्कमा पासपोर्ट बनाउन कम्तिमा ३० देखि ४५ दिनसम्म कुर्नुपर्ने विभागले जनाएको छ ।

यसैगरी, काठमाडौँमा तीन दिनभित्र पासपोर्ट निकाल्न १२ हजार रुपैयाँ शुल्क तोकिएको छ । विभागका अनुसार पासपोर्ट हराएर पुन: बनाउनका लागि १७ हजार शुल्क पर्छ ।

६४ पेजको पासपोर्ट लिनेलाई २० हजार र उक्त पासपोर्ट हराउनेलाई विभागले २५ हजार रुपैयाँ शुल्क लिने व्यवस्था गरेको छ ।

टिप्पणीहरू