फोहोर फाल्नेलाई कारबाही,नउठाउनेलाई के ?

फोहोर फाल्नेलाई कारबाही,नउठाउनेलाई के ?

काठमाडौं महानगरपालिकामा फोहोर व्यवस्थापन सधैंको समस्या हो । बर्खा,हिँउद जुनसुकै मौसम भएपनि फोहोरको किचलो उस्तै छ । बर्खामा बाटोको अवरोध, अन्य बेला स्थानीयको । जसका कारण राजधानीवासीले सास्ती खेपिरहेका छन् ।

काठमाडौं यतिबेला फोहोरमाडौं बनेको छ । चोकचोकमा थुप्रिएको फोहोरले सर्वसाधारणलाई श्वास फेर्नसमेत गाह्रो भइरहेको छ । महानगरले फोहोर व्यवस्थापन गर्न नसक्दा घरबाट निस्केको फोहोरले सडक भरिएको छ । जताततै फोहोरको थुप्रोभन्दा अरु केही देखिदैन ।

फोहोर जथाभावी फ्याक्दा सडक दुर्गन्धित बनेको छ । बर्खायाम भएकाले महामारी फैलिने त्रास पनि उत्तिकै छ । फोहोरले गर्दा हिँडडुल गर्न पनि मुश्किल छ । महानगरले फोहोर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोल र बञ्चरेडाँडामा आगामी भदौ १ गतेदेखि फोहोर विसर्जन गर्न नदिने भनिएको छ ।

स्थानीयले साउन ३१ गतेभित्र आफ्ना मागहरु पूरा नभए फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका छन् । फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्ती अलग गर्ने कार्य नगरेमा सदाका लागि फोहोर फाल्न नदिने अडान उनीहरुको छ ।

त्यस्तै,स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग राखिएको छ । योसंगै फोहोर व्यवस्थापन थप चुनौती बनेको छ । फोहोर व्यवस्थापन गर्न असमर्थ भएको स्वीकार्न नसक्ने महानगरले सडकमा फोहोर फाल्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । अर्कोतिर महानगरले विकल्पको खोजी गर्न पनि सकिरहेको छैन् ।

यस्तोमा सर्वसाधारणलाई कारबाही गर्नु उचित छ ? महानगरले तोकेको समयमा फोहोर उठाएको र सर्वसाधारणले सडकमा फोलेको भए कारबाही गर्नु स्वाभाविकै हो । तर, फोहोरचाहि नउठाउने अनि चेतावनी मात्र दिनु सरासर गलत भएको देखिन्छ ।

फोहोर सडकमा फाल्नेलाई कारबाही भए नउठाउनेलाई के गर्ने ? महानगरका प्रवक्ता नविन मानन्धर कारबाही भन्ने शब्द नै हटाउनुपर्ने बताउछन् । कारबाही गर्नुको साटो एकअर्कालाई सहयोग गरेर फोहोर व्यवस्थापनमा लाग्नुपर्ने उनको भनाइ छ ।

उनकोअनुसार सिसडोल र बञ्चरेबासीको माग सम्बोधन गर्ने तयारी भइरहेको छ । भन्छन्,‘फोहोर व्यवस्थापन महानगरको मात्र नभई सबै नागरिकको जिम्मेवारी हो । सबैले सहयोग गरिदिएमा यो समस्याको समाधान निस्किन्छ ।’

टिप्पणीहरू