सडकले खानेपानीलाई हेँला गरेको गुनासो

सडकले खानेपानीलाई हेँला गरेको गुनासो

खानेपानी ठूलो कि सडक ? पानीविना त जिन्दगी बाँच्नै सक्दैन । जीवन धान्नका लागि एक ठाउँबाट अर्काे ठाउँ पुग्न सडक पनि चाहिने नै कुरा हो । तर खानेपानीलाई सडकले खासै महत्व नदिएको, हेला गरेको गुनासो छ ।

सडक निर्माण तथा विस्तारका क्रममा खानेपानीमा क्षति पुग्ने गरेको छ, पानीका पाइपहरु फुट्छन् । तर सडकको काम गराउने र गर्ने ठेकेदारहरुले त्यो नोक्सानी नव्यहोर्दा खानेपानी सेवाप्रदायक संस्थाहरुलाई निकै मार र भार परिरहेको बताइन्छ । त्यसरी पाइप फुटेपछि खानेपानी प्रदूषित हुनसक्छ, कतिपय ग्राहकको धारामा पानी पुग्दैन । ग्राहकलाई पानी खुवाउनैपर्यो ।

पानीलाई प्रदूषित हुन र खेर जान पनि दिन भएन । त्यसैले सडकले बिगारे पनि बनाइहाल्न खानेपानीलाई करै छ । खानेपानीको काम सडकका मान्छेले नगरे पनि आफ्नो काममा अरुको नोक्सान हुँदा लाग्ने खर्चको व्यवस्थापन त गरिदिनुपर्ने नि ¤ तर त्यसो नभइरहेको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहाल बताउँछन् ।

‘हाम्रो काम बाटो बनाउने हो, खानेपानीको हामीलाई मतलब छैन । हाम्रो बाटोमा पानीको पाइप किन राखेको ? भन्छन् सडकका मान्छेहरु’, दाहालले भने । सडक र ढलको काम हुँदा खानेपानीले यस्तो समस्या ठाउँ–ठाउँमा भोग्नु परिरहेको उनले बताए । यस्तै मर्मत–सम्भार र टालटुलमा लगानी र समय खर्च हुँदा नयाँ पाइपलाइन विस्तार गर्न बोर्डको आम्दानीले नभ्याइरहेको उनले बताए ।

‘हाम्रो कार्यक्षेत्रअन्तर्गत अहिले ४८ प्रतिशतलाई पानी खुवाउन सकेका छौं । अरुलाई पनि शुद्ध पानी खुवाउने बोर्डको दायित्व हो’, बोर्डका सूचना अधिकारीसमेत रहेका प्रशासन शाखा प्रमुख सञ्जय बराल भन्छन्, ‘तर विकास निर्माणको कारण सिर्जित समस्यामै हाम्रो श्रमशक्ति र लगानी खेर गइरहेको छ ।’ सडक र ढलका काममा खानेपानीमा हुने क्षतिलाई दृष्टिगत गरी सोही अनुसार लागत स्टिमेट बनाउनुपर्ने बराल बताउँछन् ।

शहरी विकास कार्यालय, सडक डिभिजन र सडक बनाउँदा पालिकाहरुले खानेपानीको पाइप प्रतिस्थापनका लागि पनि बजेट राख्नुपर्ने भन्दै बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले आफूहरुले पानीको पाइप बिछ्याउँदा सडकमा हुनजाने क्षतिका लागि समेत पैसा छुट्याउने गरेको जनाए ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुर चितवनका प्रमुख जगरनाथ दासले पनि आफूहरुले आयोजना सञ्चालन गर्दा सडकमा पुग्ने क्षतिको निम्ति रोड कटिङ भनेर बजेटको व्यवस्था गर्ने गरेको जानकारी दिए । सडकले भने खानेपानीलाई बेवास्ता गर्दै आएको उनले बताए ।

तर सडकको काम गर्दा खानेपानीमा हुन जाने क्षतिको धेरैजसो पूर्ति आफूहरुले नै गरिरहेको सडक डिभिजन भरतपुरका इन्जिनियर शिव खनाल बताउँछन् । ‘ठेक्कामै खानेपानीको पाइप मर्मत भनेर अलिअलि व्यवस्था गरिएको हुन्छ’, उनले भने, ‘तर पुरानो घर भत्काएर नयाँ घर बनाउँदाको खर्च त खानेपानी आफैंले गर्नुपर्यो नि ! पानीको संरक्षण गर्ने, बढाउने काम खानेपानीले नै गर्नुपर्छ’, उनले थपे, ‘पुलचोक–गोन्द्राङ सडकमा खानेपानीकै लागि भनेर विभागसँग साढे तीन करोड माग्दैछौं ।’

सडकको काम गर्दा खानेपानी, ढल र विद्युतको पोल सार्न ‘साइट क्लियरेन्स’ भनेर ठेक्कामै खर्च व्यवस्थापन गरिएको हुने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी पनि बताउँछन् । ‘तर यता कहिलेकाहीँ बिर्सन सक्छ’, उनले भने । विस्तार भइरहेको पुलचोक–गोन्द्राङ सडकमा भरतपुर खानेपानी व्यवस्थापन बोर्डसँग समन्वय गरेर गत वर्ष १० लाख रुपैयाँ दिइएको उनले जनाए ।

तर त्यो १० लाखले छेउ पनि नहुने भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक बताउँछन् । ‘६ किमि सडकमा दुवैतर्फ गर्दा १२ किमि पाइप चाहिन्छ । मेन लाइन हो । सबै पाइप फेर्नुपर्छ’, दाहालले भने, ‘त्यसमा लगभग १२/१५ करोड रुपैयाँ खर्च लाग्ने देखिन्छ ।’ यसैगरी आँपटारी–केन्द्रीय बसपार्क सडकमा खानेपानी बनाउन ९ देखि १० करोड खर्च लाग्ने उनले बताए । ‘पाइप किन्दा, खन्दा, बिच्छ्याउँदा, धारामा कनेक्सन गर्दा खर्चैखर्च छ’, उनले भने, ‘अन्य भित्री सडकहरुमा पनि यस्ता समस्या बग्रेल्ती छन् ।’

खानेपानी सेवा प्रदायक संस्थाहरुको ठूलो समस्या नै यही भएको मेघौली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष शिवलाल भुर्तेल बताउँछन् । तर हरहालतमा क्षतिपूर्ति असुल्न थालेपछि पछिल्लो समय आफूहरुकोतिर नोक्सानी केही कम हुँदै गएको उनले बताए । सडक बनाउनेबाट खानेपानीमा भएको बिगारको क्षतिपूर्ति असुल्न एक पटक प्रहरीमा समेत रिपोर्ट गर्नुपरेको उनले सुनाए ।

टिप्पणीहरू