मुक्तिनाथ जाने बाटोमा अरिङ्गाल खानेको ताँती

मुक्तिनाथ जाने बाटोमा अरिङ्गाल खानेको ताँती

बारुलोदेखि डराउने अधिकांश मानिस अरिङ्गालको नाम सुन्दा पनि तर्सिन्छन् । हुन पनि अरिङ्गालको टोकाइबाट मानिसको ज्यानसमेत जान सक्छ । तर, त्यही अरिङ्गालको परिकार खान अहिले पालो पर्खनुपर्ने भएको छ । त्यस्ता पारखीले चार दिनअघि नै फोन गरेर पालो कुर्ने गरेका छन् ।

म्याग्दीको सदरमुकाम बेनीमा त्यस्तै रेष्टुरेण्ट खोलिएको छ । बेनी नगरपालिका वीरेन्द्रचोकस्थित जिल्ला प्रशासन कार्यालय नजिकैको होटल रोजिना एण्ड रेष्टुरेन्टमा अरिङ्गालको विभिन्न परिकार पाइन्छ ।

परिकार बनाउने होटल सञ्चालिका स्वयम् हुन् । उमेरले पाँच दशक टेकेकी सिर्जना भट्टचनले तीन वर्षदेखि अरिङ्गालको परिकार बेच्दै आएकी छन् ।

सिर्जनाको होटलमा अन्य परिकार पनि पाइन्छ । तर,पछिल्लो समय ग्राहकको पहिलो रोजाइमा अरिङ्गालको परिकार परेको बताउँछिन् ।

उनलाई हिजोआज अरिङ्गालको परिकार बनाउन भयाइनभ्याइ छ । असोजपछि खानाको अर्डरबमोजिम अरिङ्गाल जम्मा पार्न धौधौ समेत हुने उनको अनुभव छ ।भन्छिन्, ‘मनसुन शुरुदेखि असोजसम्म अरिङ्गाल धेरै पाइन्छ । त्यसपछि कम हुँदै जान्छ । हिउँदका दिनमा भने ग्राहकको माग धान्न अलि गाह्रो हुन्छ ।’ अहिले सिर्जना बेनीमा अरिङ्गालवालीको उपनामले प्रख्यात भएकी छन् ।

स्थानीय सर्वसाधारणले गोलो पोलेर ल्याएका अरिङ्गालका लार्भाहरु सिर्जनाले किन्छिन् । एक प्लेट फ्राइ अरिङ्गालको मूल्य पाँच सय लिन्छिन् । उनले हरेक दिन १० देखि १५ प्लेटसम्म अरिगांल बेच्ने गरेको बताइन् ।

यस पटक असोजसम्म दैनिक ५० प्लेट अरिङ्गाल बेच्ने योजनामा छिन् । पछिल्लो समय अरिङ्गालको व्यापार राम्रो हुँदै गएकाले दंग छिन् ।

स्वादिलो थकाली खाना र अरिगांलको परिकार बनाउन माहिर सिर्जनाको पसलको चर्चा बेनीमा मात्र सीमित छैन । उनले बनाएको अरिगांलको परिकार पोखरा, काठमाडौंका विभिन्न होटल तथा रेष्टुरेन्टमा समेत पुग्ने गरेको बताइन्छ ।

पोखरा, काठमाडौंमा प्याकिङ गरेर अरिङ्गाल पुर्याउँदै आएको उनले जनआस्थासँगको कुराकानीमा भनिन् । खाली हात बस्न नरुचाउने उनी लप्सी,डल्ले खुर्सानीलगायतको मुख मिठ्याउने अचार बनाउनसमेत सिपालु छिन् ।

त्यसैले अचार पनि बनाउँछिन् । घरको छतमा लोकल कुखुरा समेत पालेकी छिन् । लप्सी, डल्ले खुर्सानीलगायत उनले बनाएका अचार पोखरा, काठमाडौं हुँदै हिजोआज मध्यपूर्वका धेरै वटा देशमा पुग्ने गरेको छ ।

उनको होटल क्षमता २० जनाको छ । ग्राहकलाई लोकल कुखुराको मासुसँगै मुस्ताङमा फलाइएका अर्गानिक मार्सी चामलको खाना खुवाउँछिन् । आफ्नै कौसीमा तरकारी पनि फलाउँछिन् ।

स्थानीय उत्पादन,सिर्जनाको फरासिलो स्वभाव र मीठा परिकार बनाएर खुवाउने भएकाले उनको होटल बेनी बजारकै चल्तीको होटलमा गनिन थालेको हो । होटल, अचार,कुखुरा, अण्डा सबैबाट उनलाई राम्रो आम्दानी भएको बताइन् । अरिङ्गालको परिकारले उनलाई बेग्लै परिचय दिएको छ ।

टिप्पणीहरू