गीता माझीका छोरीहरु माइती नेपालको आश्रयमा

गीता माझीका छोरीहरु माइती नेपालको आश्रयमा

आमाको बर्बर हत्या अनि बाबु जेल । यसरी सानैमा अभिभावकविहीन हुन पुगेका चितवनका दुई दिदीबहिनीलाई अन्ततः माइती नेपालले नै हेर्ने भएको छ । खैरहनी–१०, मुसहरवस्तीमा गत जेठमा श्रीमानले मलद्वारमा लौरो घुसाएर यौनाङ्समेत क्षतविक्षत पारी मारिएकी थिइन् गीता माझी । घटनालगत्तै ती क्रूर पति रामचन्द्र माझीलाई प्रहरीले पक्रेर लगिसकेको छ ।

उनीहरुका तीन छोरीमध्ये जेठी पुष्पाको बिहे भइसक्यो । बताइएअनुसार माइली निशा र कान्छी सुस्मिता क्रमशः १३ र १० वर्षको भए तर जन्मदर्ता छैन । उनीहरु मुसहरवस्तीमा सरकारले बनादिइएको घरमा आमाबाबुसँगै बस्दै आएका थिए ।

अब आमाबाबु नै नभएपछि यी टुहुरा बच्चीहरुलाई कसले हेर्ला ? के गरी खालान् ? कस्तो होला उनीहरुको वर्तमान र भविष्य ? सर्वत्र चासो र चिन्ताको विषय बन्यो । उक्त जघन्य अपराधले राष्ट्रिय–अन्तर्राष्ट्रिय जगतकै ध्यान खिचेको थियो ।

घटनाबारे थाहा पाउनेबित्तिकै माइती नेपालकी संस्थापक÷प्रबन्धक अनुराधा कोइरालाले उनीहरुको जिम्मा लिन आफैं अग्रसरता देखाइन् । चितवनका कर्मचारीलाई उनैले फोन गरेर यी बच्चीहरुलाई माइती नेपालले संरक्षण दिने र त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न भनेकी थिइन् ।

सोहीअनुसार माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले गत जेठ १८ गते नै प्रमुख जिल्ला अधिकारीबाट सिफारिस लिए । जतिबेला बच्चीहरु आमाको किरियामा थिए । त्यतिबेला खैरहनीका नगरप्रमुख शशीकुमार खनियाले पछि सोचविचार गरेर आवश्यक निर्णय लिइने बताएका थिए । नगरप्रमुख खनियाले यही असार ७ गते माइती नेपाललाई सिफारिस गरिदिएका हुन् ।

उचित स्याहारसुसार तथा शिक्षादीक्षाको व्यवस्था गरी संरक्षणमा राखिदिनका लागि सिफारिस गरिएको नगरप्रमुख बताउँछन् । बच्चीहरुको जिम्मा लिने भन्दै अरु संघसंस्था पनि आएको उनले बताएका थिए ।

माइती नेपाल महिला, बालबालिकाको क्षेत्रमा काम गरिरहेको प्रतिष्ठित सामाजिक संस्था भएको र उसले धेरै राम्रा कामहरु गरेको सुनिएकोले उसैलाई जिम्मा लगाएर पठाइएको नगरप्रमुखले बताए । माइती नेपालले यी बच्चीहरुको भविष्य उज्ज्वल बनाइदेओस् भन्ने उनको अपेक्षा छ ।

गत सोमबार खैरहनीका जनप्रतिनिधिसहित आफन्त र स्थानीय मानिसहरु भरतपुर आएर बालिकाद्वयलाई आफूहरुको जिम्मा लगाएको माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले जानकारी दिए ।

उनीहरुलाई आज काठमाडौं लगिने गिरीले बताएका थिए । आज बिहान साढे १० बजे फोन गरी सोध्दा बच्चीहरु काठमाडौं हिँडिसकेको र अहिले गाडीमा मलेखु पुगेको उनले जनाए ।

बेचबिखन र हिंसामा परेका तथा जोखिममा रहेका महिला, बालबालिकाको उद्धार गरी माइती नेपालले आवश्यकताअनुसार उनीहरुलाई आवासगृहमा राखेर संरक्षण पनि दिँदै आएको छ । ‘माइती नेपालको काठमाडौंंमा आफ्नै टेरेजा एकेडेमी पनि छ पठनपाठनको लागि’, गिरी भन्छन्, ‘पढ्न आवश्यक र इच्छुकहरुलाई औपचारिक विद्यालय शिक्षाको व्यवस्था त छँदैछ, त्यो बाहेक विभिन्न सीपहरुसमेत सिकाएर उनीहरुलाई सक्षम, आत्मनिर्भर हुन सघाइन्छ ।’

आर्थिक अवस्था र घरायसी वातावरणको कारण २–३ कक्षा पढेर छोडेका निशा र सुस्मिता दुवैले अहिले फेरि पढ्ने रुचि देखाएका छन् । सीप पनि सिकेर आत्मनिर्भर हुने निशाको चाहना छ ।

ज्यालामजदूरी गरेर जिविका चलाउँदै आएका रामचन्द्र र गीताले दैनिक गुजारा चलाउन माछा पनि मार्थे । पढाइ छोडेर यी दुई दिदीबहिनीले पनि अर्काको खेतबारीमा काम गर्न, माछा मार्न जानुपथ्र्याे ।

अब माइती नेपालको आश्रयमा पुगेपछि उनीहरुको जीवनले नयाँ मोड लिने र भविष्य उज्यालो हुने आशा गरिएको छ । कोही नभएपछि घरमा दिदीभिनाजु आएर बस्ने भएका छन् । सबैभन्दा ठूलो कुरा शिक्षा भएको भन्दै पिछडिएको समुदायका यी बालिकाद्वयलाई पढाइलेखाइमै ध्यान दिन लगाइने माइती नेपालकी संस्थापक÷प्रबन्धक अनुराधा कोइरालाले बताएकी छिन् ।

आज काठमाडौं जाने भएपछि हिजो मंगलबार बालिकाहरुले बाबुलाई भेट्ने मनसाय राख्दै थिए । रामचन्द्र माथि जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाइएको छ । हाल उनी पुर्पक्षका लागि कारागारमा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले बताए ।

टिप्पणीहरू