बल्खुमा सँधै विद्यार्थीको लाइन

बल्खुमा सँधै विद्यार्थीको लाइन

कर्णाली प्रदेशको विकट जिल्ला जुम्लाबाट अध्ययनको निम्ति काठमाडौँ आएका धर्म सिंह त्रिभुवन विश्वविद्यालको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यलय अगाडि भीडमा भेटिए । शंकरदेव क्याम्पस काठमाडौँबाट स्नातक उनी ट्रान्सक्रिप्ट निकाल्न त्यहाँ पुगेका हुन् ।

उनी ट्रान्सक्रिप्टको निम्ति फारम भरेर प्रशासन शाखामा बुझाउने तयारीमा देखिन्थे । त्योभन्दा अघि बैंकमा शुल्क तिर्नुपर्ने भएकाले चार घण्टासम्म सेवाग्राहीको लाइनमा बसेर उनले बल्लतल्ल ट्रान्सक्रिप्ट वापतको शुल्न तिरे । तर, सिंहको फारम बुझाउने समय अझै निश्चित थिएन ।

त्रिवि प्रशासनको ढिलासुस्तीबाट आजित उनलाई कार्यालयका कर्मचारी रिसाएर झन् काम बिग्रने हो कि भन्ने डर पनि थियो । हतास मुद्रामा देखिएका उनको अनुहारबाट उक्त डर र आशंका पुष्टि भइरहेको थियो ।

उनलाई एउटा फारम बुझाउन घण्टौं लाग्ने कुरा थाहा नै नभएको बताउँछन् । उनी परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेको यो नै पहिलो पटक भएकाले त्यसबारे सबै थाहा हुने पनि भएन । किनभने सिंह सबै काम एक घण्टामा सक्ने योजना बनाएर त्यहाँ पुगेका थिए ।

तर, त्रिवि पुग्दा उनले बनाएको योजना उल्टियो । उनले एक घण्टामा सक्ने भनेको काम एक दिन लाग्ने देखियो । ‘म एक घण्टा समय लिएर यहाँ आएको हुँ, ‘सिंहले भने, ‘अफिसमा पनि केही नभनी स्नातकको ट्रान्सक्रिप्ट निकाल्न आएको हुँ । यहाँ त फारम बुझाउने पालो पनि आउला जस्तो छैन । बैंकमा भौचर बुझाउनै चार घण्टा लाग्यो । कर्मचारी पनि भित्रै काम गरेर बसेका देखिन्छन् तर एक घण्टामा मुश्किलले एक जनाको काम भएको छ ।’

उनका अनुसार यस्तो काम अनलाइन प्रणालीबाट गरिएको भए कसैलाई पनि सास्ती हुँदैन थियो । अहिले सबैले अरु काम छाडेर यहाँ लाइनमा बस्नुपर्ने अवस्था देखिएको छ । जताततै भद्रगोल र राजनीतिक चलखेल भएकाले सोझा जनतालाई थप दुःख भएको उनको बुझाइ छ ।

उनी जस्तै मानविकीमा स्नातक अञ्जिला दाहाल पनि ट्रान्सक्रिप्टका लागि फारम भर्न बल्खु पुगेकी थिइन् । उनले बिहान १० बजेदेखि बैंकमा भौचर बुझाउन लाइनमा लागेको बताइन् ।

लगभग तीन घण्टा बैँकमा लाइन लागेपछि फारम बुझाउने लाइनमा पुगेकी उनले भनिन्, ‘त्रिविले परीक्षाको नतिजा निकाल्न त एक वर्ष लगाउँछ । अरु कामबारे के गुनासो गर्नु ? कर्मचारीको बोल्ने शैली उस्तै रुखो छ । केही कुरा सोध्यो की झर्किन्छन् ।’

चर्को घाम त्यसमा दिनभर लाइनमा बस्नुपर्ने बाध्यताबाट दिक्दार बनेकी दाहालले भनिन्, ‘विभिन्न प्रयोजनको निम्ति कोठा बाहिर स्पष्टसँग् लेखिनुपर्नेमा त्यसो नगरिएकाले दुःख पाइएको छ । कम्तिमा कोठा बाहिर बोर्ड राखिदिनुपथ्र्यो । तर सिष्टम केही छैन । त्रिवि प्रशासन अस्तव्यस्त देखिन्छ । अब कहिले ट्रान्सक्रिप्ट लिन बोलाउँछ केही थाहा छैन ।’

अरुको भन्दा फरक समस्या लिएर बल्खु पुगेकी समीक्षा कुमारी थापालाई एउटा सानो गल्तिका कारण दैनिक त्रिवि धाउनु परेको हो । हतास मुद्रामा देखिएकी उनलाई आफ्नो मनको गुनासो पोख्न निकै गाह्रो परेको थियो । तीन दिनसम्म परीक्षा नियन्त्रण कार्यालय धाएकी उनलाई कर्मचारीको काम र व्यवहारले हैरान बनाएको बताउँछिन् ।

फारम भर्ने क्रममा सामान्य गल्तिका कारण उनले अहिले दुःख भोग्नु परेको हो । एउटा सानो गल्तिले दिनहुँजसो बल्खु आउनु परेको उल्लेख गर्दै भनिन्, ‘मेरो प्रमाण पत्र र फारमको नाममा केही फरक परेको छ । मैले नाम र बीचको नाम नेपालीमा जोडेर लेखेको थिएँ । तर त्यो मिलेन भनेपछि आज फेरि पैसा तिरेर लाइनमा लागेको छु । अब के हुन्छ हेरौँ ।’

उनीहरु सबै प्रतिनिधि पात्र मात्र हुन् । अन्य सयौँ विद्यार्थीले पनि सँधै त्यस्तै सास्ती खेप्नु परेको छ । धेरैजसो सेवाग्राहीले दिनभर लाइनमा बसे पनि काम नहुने गरेको गुनासो पनि सुनाएका छन् । सरकारी कर्मचारीको कार्यालय समय निश्चित भएकाले पनि उनीहरु समस्यामा पर्ने गरेका हुन् । सेवाग्रहीको चाप बढी हुँदै गएको तर सम्बन्धित फाँटमा कर्मचारी कम भएका कारण विद्यार्थीले दुःख खेप्नुपरेको विश्वविद्यालय स्रोतको दाबी छ ।

अनलाइन सेवाको तयारी

परीक्षा नियन्त्रण कार्यालय बल्खुका प्रमुख पुष्पराज जोशीले कर्मचारी अभावका कारण सेवाग्राहीको भीड लाग्ने गरेको बताए । सेवाग्रहीलाई लामो समय लाइन लाग्ने झण्झटको अन्त्य गर्न अनलाइन प्रणालीमार्फत् कार्यालयका सेवाहरु प्रदान गरिने उनको दाबी छ । अनलाइन सेवाको कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै जोशीले भने, ‘घरमै बसेर सेवा लिन सकिने भएकाले अब बल्खु धाउन पर्दैन ।’

मानविकी बाहेक अन्य संकायमा अनलाइनमार्फत सेवा दिने गरेको उनको भनाइ छ । आफूहरु सेवाग्राहीलाई छिटो छरितो सेवा दिने पक्षमा रहेको जोशी बताउँछन् । केही प्रशासनिक समस्या र कर्मचारी अभावका कारण कठिनाइ भएको स्वीकार्दै उनले भने, ‘हामी यसमा गम्भीर छौँ । अब सबै सेवा अनलाइनमार्फत् दिने तयारीमा छौँ । छिट्टै सबै समस्या समाधान हुन्छ ।’

प्रमुख जोशीका अनुसार अबदेखि ट्रान्सक्रिप्ट निकाल्न एक दिन मात्र लाग्ने छ । तर, कार्यालयले आजका दिनसम्म ट्रान्सक्रिप्ट निकाल्न फारम भरेको १० दिनदेखि एक महिना लगाउने गरेको छ ।

टिप्पणीहरू