बेलायत जान मौसमी कामदारको लर्काे

बेलायत जान मौसमी कामदारको लर्काे

नेपालबाट पछिल्लो समय संयुक्त अधिराज्य बेलायतमा ’सिजनल वर्कर’ का रुपमा जानेको संख्या बढ्न थालेको छ । बेलायतले भीसा उपलब्ध गराएपछि गत भदौदेखि नेपाली युवाहरु अल्पकालीन रोजगारीका लागि त्यहाँ जान थालेका हुन् ।

सिजनल वर्करका लागि जान चाहनेहरुले अनलाइनमार्फत आफैँ आवेदन गर्न सक्छन् । तर त्यसबारे पर्याप्त जानकारी नलिँदा म्यानपावर र दलाललाई चर्को शुल्क तिरेर नेपाली युवाहरु बेलायत गएका हुन् ।

सिजनल वर्करका लागि बेलायतमा मात्र नभएर क्यानाडा,नर्वे, फिनल्याण्ड,दक्षिण कोरिया, इजरायललगाय देशले पनि विश्वका विभिन्न मुलुकबाट कामदार लैजाने गरेका छन् । बेलायत मात्र नभएर अन्य देशमा आवेदन दिने नेपालीको संख्या बढेको छ । व्यक्तिगत रुपमा सोझै अनलाइनमार्फत आवेदन भर्न पाइने भए पनि प्रक्रिया नबुझेकाहरु दलालको सम्पर्कमा पुग्ने र तिनले महँगो शुल्क असुलेर पठाउने गरेका छन् ।

सिजनल भीसाबाट ११ सयभन्दा बढी नेपाली बेलायत पुगिसकेका छन् भने कतिपय जाने तयारीमा देखिन्छन् । हालै बेलायतले २०२२ को लागि आवेदन खुलाएको छ । तर अहिलेसम्म कति जना नेपाली सिजनल भीसामा बेलायत पुगे भन्ने आधिकारिक तथ्याङ्क नेपाल सरकारसँग छैन ।

बेलायतका लागि विभिन्न चार वटा कम्पनीले विश्वबाट सिजनल कामदार लगिरहेका छन् । जुनसुकै देशबाट अनलाइनमार्फत आवेदन गर्न सकिने ती कम्पनीले जनाएका छन् । सिजनल वर्करको निम्ति एजी रिक्रुटमेण्ट एण्ड म्यानेजमेण्ट, कोन्कोर्डिया लिमिटेड, फ्रुटफुल जब्स र प्रो–फोर्स वेबसाइटमार्फत आवेदन दिन सकिने बताइएको छ ।

कति लाग्छ खर्च ?

बेलायतमा सिजनल भिसाका लागि आवेदन दस्तुर २५९ पाउण्ड तिर्नुपर्छ । यो भनेको आजको विनिमयदर अनुसार लगभग ४० हजार नेपाली रूपैयाँ हो । यस बाहेक भिसा आइसकेपछि नेपालदेखि बेलायतसम्मको हवाई भाडा एक लाख २० हजारदेखि एक लाख ७० हजार रुपैयाँसम्म पर्न सक्छ ।

श्रम स्वीकृति लिनुअघि स्वास्थ्य परीक्षण गराउनुपर्छ । यसरी सबै शुल्क गर्दा दुईदेखि दुई लाख ५० हजार रुपैयाँमा सिजनल कामदार बेलायत जान सक्छन् । सिजनल वर्करको आवेदन प्रक्रिया थाहा नहुँदा कतिपय नेपाली युवा युवती दोब्बर वा सोभन्दा बढी रकम तिरेर बेलायत गइरहेका छन् ।

वैदेशिक रोजगार विभागले भने अहिलेसम्म कोही पनि ठगिएको गुनासो नसुनिएको बतायो । गुनासो आएमा कानुनबमोजिम कारवाही हुने उसको दाबी छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले महँगो शुल्क तिरेर जानेबारे विभागमा कसैले उजुरी नगरेको बताए ।

सिजनल वर्करमा बेलायत जानु अवैध

‘सिजनल भिसालाई कानुनले नचिन्ने भएकाले यसलाई हामीले अवैध मानेका छौं,’ महानिर्देशक पौडेलले भने । सिजनल वर्कर भिसालाई नेपालको कानुनले नसमेटेकाले उनीहरुले सम्भवतः व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेको महानिर्देशक पौडेलको भनाइ छ । ‘नेपालबाट व्यक्तिगत र संस्थागत रुपमा विदेश जान सकिन्छ तर युवाहरु २÷३ वर्षका लागि खाडी जानुभन्दा छ महिनाका लागि बेलायत जानु राम्रो कुरा हो । कानुनले यसलाई नचिन्ने भएकाले भोलि कुनै समस्या परेको खण्डमा हामी केही गर्न सक्दैनौं,’ उनले भने ।

यसरी विदेश जाँदा भविष्यमा कुनै समस्या आइपरेको खण्डमा राहत तथा उद्धारमा समस्या हुने सरकारी अधिकारीहरुको भनाइ छ । दुई वर्षभन्दा कम अवधिको करार भएकालाई विभागले श्रम स्वीकृति नै दिँदैन । यस कारण उनीहरुको सही तथ्याङ्क राज्यसँग हुँदैन ।

११ महिनामा कति नेपाली बेलायत गए ?

नेपाल सरकारले वर्करको रूपमा कति नेपाली बेलायत गए भन्ने तथ्याङ्क नराखेको जनाएको छ । तर, वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति लिएर चालु आर्थिक वर्षमा ११ सय ४७ जना बेलायत गएको जनाएको छ । तीमध्ये १५८ जना महिला र ९८९ जना पुरुष छन् । वैदेशिक रोजगार कार्यालयका अनुसार बेलायतका लागि सिजनल वर्कर भिसा खुलेदेखि नै नेपालीहरु फाट्टफुट्ट गएका थिए । तर अहिले बढ्दै गएको विभागको बुझाई छ ।

गत भदौमा २५, असोजमा ३०, कात्तिकमा ३१, मंसिरमा ७१, पुसमा ३७ जना, माघमा ७०, फागुनमा ६६, चैत १५३ र वैशाखमा ५५९ जना नेपाली सिजनल भिसामार्फत बेलायत गएका छन् । चैतमा ३३ पुरुष र छ महिला गरी ३९ जना नेपाली सिजनल वर्कर भिसामा बेलायत गएका हुन् । वैशाखमा ३१३ पुरुष र ४९ जना महिला गरी ३६२ जना, जेठमा ४१० पुरुष र ७३ जना महिला गरी ४८३ जना सिजनल वर्करको रुपमा बेलायत गएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

कार्यविधि परिवर्तन गर्दै सरकार

रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले सिजनल भिसालाई व्यवस्थित गर्न कार्यविधि परिवर्तन गरी नयाँ बनाउने तयारी भइरहेको बताए ।

सिजनल वर्करको रुपमा विदेश जाने नेपाली कामदारलाई सहज र व्यवस्थित बनाउन कार्यविधि बनाउने तयारी भएको उनले बताए । ‘हामीले सबै मन्त्रालयसँग छलफल गरिरहेका छौं । अब कार्यविधि बनाएर यसलाई व्यवस्थित गर्छौं,’ प्रवक्ता घिमिरेले भने ।

कार्यविधि बनेपछि सिजनल वर्करले भोग्दै आएका समस्या समाधान गर्न सहज हुने उनको भनाइ छ । सन् २०२२ मा ४० हजार कामदार अन्यत्रबाट लैजाले बेलायत सरकारको योजना छ । त्यसमध्ये ३० हजार कामदारको भिसा सुनिश्चित भइसकेको बेलायत सरकारले जनाएको छ । त्यसका अतिरिक्त १० हजार कामदारलाई तयारी अवस्थामा राखेको जनाइएको छ ।

टिप्पणीहरू