बजेट सक्ने दाउमा ठेकेदार, रातारात माटोमाथि कालोपत्रे

बजेट सक्ने दाउमा ठेकेदार, रातारात माटोमाथि कालोपत्रे

सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको बजेट सक्ने दाउमा धमाधम सडक निर्माणको काम हुन थालेको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा छुट्टाएको बजेट सक्नकै लागि पूर्वतयारीबिना रातारात ठेकेदारहरुले सडक कालोपत्रे गर्न थालेका हुन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६, खप्तड बोर्डिङ स्कुल नजिकको सडकको हालत त्यस्तै छ । उक्त सडक निमार्णको ठेक्का पाएको जिल्ला पूर्वाधार विकास समितिका अधिकारीहरुले नै बजेट दुरुपयोग गरेका छन् । नगरपालिकालाई समेत जानकारी नदिएर माटोमाथि कालोपत्रे गरिएको हो ।

सडक कालोपत्रे गर्नुअघि पहिले प्राइमर र अलकत्रा आवश्यक हुन्छ । तर, त्यो सबै आवश्यकता पूरा नगरि माटोमाथि कालोपत्रे गरिएको छ । ठेकेदारले गरेको लापरबाहीविरूद्ध अहिले त्यहाँका जनप्रतिनिधि र स्थानीय विरोधमा उत्रिएका छन् ।

पिच गरेको भनिएको सडक दुई तीन दिनभित्रै पहिलेकै हालतमा पुगेको एक स्थानीयले बताए । सडक निमार्ण दीर्घकालीन हुनपर्छ भन्नेमा जोड दिएका उनले भने, ‘यो रोड पिच भएको आज तीन दिन भयो । तर, हिजो नै पिच उक्किएको छ । दुई दिनमै पहिलेको धुलो उड्न थालेको । यो हाम्रो आखाँमा छारो हाल्ने काम गरिएको हो । प्रदेशको बजेट सक्ने बाटो बाहेक अरु केही होइन् ।’

एकलौटी टेण्डर आह्वान गरेको स्थानीय सरकारको आरोप

स्थानीय सरकारले आफूलाई जानकारी नै नदिएर प्रदेश सरकारले एकलौटी रुपमा टेण्डर आह्वान गरि आर्थिक अनियमितता गरेको आरोप लगाएको छ । शुक्लाफाँटा नगरपालिकाका मेयर रणबहादुर महराले उक्त पिचको हालत प्रदेश सरकारले आफ्नो मन परेको व्यक्तिलाई ठेक्का दिनुको परिणाम भएको बताए । गिट्टी, अलकत्रा र अन्य आवश्यक सामाग्रीबिना नै सडक कालोपत्रे भएको कुरो स्थानीयबाट थाहा पाएको दाबी गर्दै मेयर महराले पछि अनुगमन गर्दा त्यही तथालिङ्ग अवस्थामा सडकको अवस्था देख्दा दुःख लागेको उल्लेख गरे । यसबारे थप छानबिन हुने उनको भनाइ छ ।

वडाध्यक्ष दान सिंह ऐनले आफ्नै वडामा सडक पिच गर्दासमेत कुनै सूचना नदिएको भन्दै गुनासो गरेका छन् । उनले ठेकेदारले सडक कालोपत्रे गर्दा चरम लापरबाही गरेको आरोप लगाएका छन् । करिब छ सय मिटर लामो सडकमा गरिएको यो कालोपत्रे एक दिन मै बिग्रिएको उनले पनि दाबी गरेका छन् । वषौँदेखि धुलो उडेको सडकमा आवतजावत गर्दै आएका स्थानीयलाई राहत दिने कामभन्दा उल्टै उनीहरूको आँखामा ठेकेदारले छारो हाल्ने काम गर्नु गैरजिम्मेवार भएको उनको ठहर छ ।

‘प्रदेश सरकारले नै टेण्डर आह्वान गरेपनि वडालाई खबर गर्नुपर्ने हुन्छ । तर, हामीलाई यसको बारेमा कुनै जानकारी नै दिइएको छैन,’ उनले भने, ‘स्थानीयले प्राइमर र अलकत्राबिना नै सडक कालोपत्रे भएको गुनासो गरेपछि मेयरसहितको टोली र म गएर अनुगमन गर्दा मात्र यसबारे थाहा भएको हो । यसमा ठेकेदारको चरम लापरबाही देखिएको छ । उनीमाथि हाम्रो तर्फबाट आवश्यक छानबिन हुन्छ । तर, त्योभन्दा पहिले प्रदेश सरकारको हामी ध्यानाकर्षण गर्न चाहन्छौँ । किनकि यसमा प्रदेश सरकारको ठूलो हात छ ।’

आफ्नो बचाउमा प्रदेश सरकार

यता, प्रदेश सरकारले आफूमाथि लागेको आरोपको बचाउ गरेको छ । यसबारे प्रदेश सरकारलाई कुनै पनि जानकारी नभएको उल्लेख गर्दै सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री प्रकाश रावलले त्यसबारे थप बताउन चाहेनन् । उनले उक्त सडक पिचको लागि बजेट छुट्टाएको भन्ने विषय आफूलाई जानकारी नै नभएको उल्लेख गरे । मन्त्री पद सम्हालेको दुई महिना भएकाले अन्य मन्त्रीको कार्यकालमा भएको विषयमा आफू जिम्मेवार नहुने अभिव्यक्ति दिएका छन् ।

‘म मन्त्री भएको दुई महिना भएको छ । आगामी आर्थिक वर्षको बजेटमा उक्त सडक पिचको लागि बजेट छुट्टाएका छैनौँ,’ उनले भने, ‘यसअघिका माननीय मन्त्रीहरुले बजेट छुट्टाउनु भएको होला । यो विषयमा मलाई जिम्मेवार बनाउन मिल्दैन र मलाई यसबारे कुनै जानकारी पनि छैन् ।’

यसैगरी, प्रदेश सभा सांसद तथा पूर्वमन्त्री लालबहादुर खड्काले काम देखाउनकै लागि ठेकेदारहरुले कुनै प्रक्रिया नै नपुर्याएर रातारात सडक कालोपत्रे गर्ने गरेको बताए । यसबारेमा भौतिक पूर्वाधार कार्यालय कञ्चनपुरलाई ताकेता गर्ने तयारी भएको उनले जानकारी दिए ।

उनले भने, ‘अहिले ठेकेदारहरुलाई असारभित्र ठेक्कापट्टाको काम सक्नुपर्ने चटारो छ । उनीहरुलाई जसरी पनि बजेट सकिएको देखाउनु छ । काम दीर्घकालीन होस् या नहोस् मतलब हुँदैन । उनीहरु रातारात कालोपत्रे गर्नेतिर लागेका छन् । यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हामीले यसबारे भौतिक पूर्वाधार कार्यालयमा ताकेताको तयारी गरेका छौँ ।’

टिप्पणीहरू