मानसिक रोग निम्त्याउँदै मोबाइल र इन्टरनेट

मानसिक रोग निम्त्याउँदै मोबाइल र इन्टरनेट

एक महिनाअघि ललितपुरका एक दम्पतिले ‘इन्टरनेट एडिक्सन’ छुटाउन घरको इन्टरनेट अफ गर्नुका साथै मोबाइल फोन लुकाइदिए । फोन चलाउन नपाएपछि रोइकराई गर्ने, छटपटाउने, कसैसँग नबोल्ने अवस्थामा पुगेकी ती १४ वर्षीया छोरीलाई मनोविद्कहाँ लैजानुपर्ने अवस्थासमेत सिर्जना भयो ।

मोबाइल नहेरी खाना नखाने, गृहकार्य नगर्ने, स्कुल जान नमान्ने जस्ता क्रियाकलाप उनमा देखिएको थियो । स्कुलमा राम्रो नतिजा ल्याउने उनी एकाएक कमजोर बन्दै गएकी थिइन् । त्यसपछि उनलाई मनोचिकित्सक कहाँ पुर्याइएको हो ।

मनोचिकित्सकको क्लिनिकमा पुगेपछि थाहा भयो ‘परिवारले सामान्यरुपमा लिएको किशोरीको मोबाइल एडिक्सनले उनलाई मानसिक रोगी बनाउँदै लगेको रहेछ ।’ त्यसपछि ती दम्पतिले छोरीलाई मोबाइल दिन छाडे र मनोविद्को सल्लाहअनुसार विभिन्न कार्य गर्न थाले । उनी बिस्तारै त्यस्तो लतबाट बाहिर निस्किँदै आएको आमाले बताइन् ।

करिब दुई दशकदेखि मनोपरामर्शको क्षेत्रमा काम गर्दै आएकी मनोविद् गंगा पाठक पाँच वर्षयता डिजिटल लतमा परेर आउनेको संख्या उल्लेखनीय रहेको बताउँछिन् । प्रविधिको सहज पहुँचले एक अर्कालाई जोड्नुको साटो युवा पुस्तालाई खराब लततर्फ धकेलेको उनको बुझाई छ ।

आजभोलि अधिकांश अभिभावकले ‘बच्चाले मोबाइल बिना खाना नै खाँदैन’ भनेर गुनासो लिएर आउने गरेको उनी सुनाउँछिन् । ‘भाइरल बन्नका लागि मानिसले अनेक अश्लिल हर्कत गरिरहेका हुन्छन् । त्यही भिडियो हेर्दै बालबालिकाहरु खाना खाइरहेका हुन्छन् । त्यसैले उनीहरु पनि त्यस्तै खालका सामग्री र भिडियो हेर्न मरिहत्ते गर्छन् । र, आफूलाई कामै नलाग्ने सामग्री हेरेर समय खेर फालिरहेका हुन्छन्,’ मनोविद पाठकले भनिन् ।

‘हिजो आजका बालबालिकाहरुको ध्यान जतिखेर पनि मोबाइलमा हुन्छ । बिजुली जानेबित्तिकै इन्टरनेट कनेक्सन टुट्छ । कनेक्सन टुट्ने बितिक्कै बालबालिका मोबाइलमा नेट चलेन भनेर रुन थाल्छन्, उनी थप्छिन्, ‘बालबालिका इन्टरनेटको लतमा फसिसके । यो कुनै लागुऔषधभन्दा कम घातक छैन ।’

अभिभावक नै इन्टरनेटको लतमा परेकाले बालबालिकामा त्यसको प्रभाव परेको उनको बुझाइ छ । ‘यहाँ बालबालिका मात्रै होइन, अभिभावक नै इन्टरनेटको लतमा छन् । एकछिन इन्टरनेट नहुँदा श्वास रोकिए जसरी छटपटाउने अभिभावक धेरै भेटिन्छन् । उनीहरु मानसिक रोगी जस्तै बनिसके,’ पाठक भन्छिन् ।

के हो इन्टरनेट एडिक्सन डिसअर्डर ?

इन्टरनेट या ‘भर्चुअल’ दुनियाँमा मात्रै बानी पर्ने समस्यालाई इन्टरनेट एडिक्सन डिसअर्डर भनिन्छ । मोबाइल वा इन्टरनेट बिना खाना नखाने, साथमा मोबाइल नभए असहज महशुस गर्ने, जतिखेर पनि मोबाइलको निम्ति खल्ति छामिरहनुपर्ने, सपनामा समेत मोबाइलमा हेरेका कुराहरु देख्नेलगायत इन्टरनेट एडिक्सन डिसअर्डरका लक्षण हुन् ।

मनोविद् पाठककानुसार यो बिहेबियरल (व्यवहारिक) डिसअर्डर हो । लागुऔषध लिने बानी परेका, रक्सी खाने बानी परेकालाई जसरी त्यो बिना बाँच्न गाह्रो हुन्छ, इन्टरनेट या मोबाइलको लतमा परेका बालबालिकालाई पनि यो बिना बस्न गाह्रो हुन्छ ।

यो समस्या भएका बालबालिकाको दिमागमा जतिखेर पनि इन्टरनेटको कुरा खेलिरहेको हुन्छ । इन्टरनेट चलाउन नपाए उनीहरूमा चिढचिढापन हुने, झगडा गर्ने, झर्कने स्वभाव बढ्दै जान्छ । धेरै लत लागिसकेपछि भने बालबालिकामा आत्मसन्तुष्टिमा कमी आउन थाल्छ । उनीहरू कुनै कुराले पनि खुशी नहुने र त्योभन्दा झन ठूलो माग गर्ने स्वभावका हुन्छन् ।

त्यस्तै, बालबालिकामा भएका प्रतिभा बिस्तारै हट्दै जान्छ । कसैलाई पेन्टिङ गर्न मन पथ्र्याे, गीत गाउन या नाच्न मन पथ्र्यो भने त्यो पनि बिस्तारै हट्दै जान्छ र ती कुराहरू स्क्रिनमा हेरेर रमाउने बानी पर्छ ।

इन्टरनेट एडिक्सन डिसअर्डरको सबैभन्दा डरलाग्दो लक्षण भनेको बालबालिकाले कुरा लुकाउने, झुठो बोल्ने र समस्या समाधानबाट भाग्ने स्वभावका हुन थाल्छन् । यो समस्याबाट बाहिर निस्कन बालबालिकालाई समय तालिका सिकाउन जरुरी हुने विज्ञहरुको सुझाव छ ।

त्यसका लागि अभिभावक नै जिम्मेवार बन्नुपर्ने मनोविद् पाठकको भनाइ छ । ‘आफू मोबाइल बिना केही नगर्ने अनि बालबालिकाले पढेन भनेर कम्प्लेन गर्ने ? पहिले आफू सुध्रिएर देखाउनुस्, बालबालिकाका लागि आइडल बन्नुहोस् । अनि उनीहरु आफैँ सुध्रिन्छन्,’ उनले भनिन् ।

टिप्पणीहरू