छर्रा अनेक छुटिरहने

छर्रा अनेक छुटिरहने

बहुलवादी समाजलाई मार्गनिर्देश गर्ने, प्रतिस्पर्धाको विधिबाट नेतृत्व चयन गर्ने मान्यतामा अगाडि बढेको राजनीतिक दल एकाएक एककोषीय धारमा लागेपछि कस्तो हुन्छ ? प्रतिपक्षीविहीन पार्टी बनाउने अध्यक्ष केपी ओलीको अभ्यासका कारण अहिले केन्द्रदेखि जिल्ला–जिल्लामा विग्रह पैदा भएको छ ।

नवौँ महाधिवेशनमा जम्मा ४५ मत बढी ल्याएर अध्यक्ष हुनुभएका उहाँले त्यसपछि प्रदर्शन गर्नुभएको एककोषीय कार्यशैलीका कारण पार्टी विभाजनसम्म पुगेको छ । त्यसमाथि त्यही कार्यशैली अहिले पनि अपनाइँदा झन्झन् समस्या देखिँदैछ ।

छर्राहरू

राष्ट्रिय राजनीतिलाई तरंगित पार्नका निम्ति केपी ओली एकपछि अर्को छर्रा फ्याँक्न सिपालु हुनुहुन्छ । तर, छर्राहरू फ्याँक्दाफ्याँक्दै राष्ट्रियसभा निर्वाचनको संघारमा पुग्दा पराजय स्वीकार्नुपर्ने स्थितिमा हुनुभयो । कहिले प्रचण्डले ज्ञानेन्द्रसँग सम्झौता गरेको छर्रा त कहिले ‘मसँग प्रचण्डले छुट्टै सम्झौता गरेको’ नाममा राजनीतिलाई तरंगित पारिरहनुभएको छ । डिभोर्सपछि पतिपत्नीको गुनासो झैं ‘प्रचण्डसँग मिल्दाका दिनमा जे–जस्ता सम्झौता र कुराकानी भए पनि अब छुट्टिएपछि ती सम्झौताको के अर्थ हुन्छ ?’ एकजना एमाले नेताले प्रश्न गरे ।

ठाउँ र ठहर

एमालेको भद्रगोल उसको पार्टी कार्यालयभित्रै देखिन्छ । उपाध्यक्षलाई कुर्सी छैन, कार्यालय सचिव डा. भिष्म भ¥याङमुनि चिसोमा सेकिँदै छन् । थापाथली हाइटमा एकजना मारबाडीको विद्युत बक्यौता मिनाहा गरिदिएबापत प्रयोगमा ल्याइएको घरलाई पार्टी कार्यालय बनाइएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा पार्टी कार्यालय सार्ने भनिएको थियो ।

तर, त्यहाँ आवश्यक पर्ने संरचनाको निर्माणकार्य पूरा नहुँदा सरेको छैन । अहिलेको कार्यालयमा पदाधिकारी १९ लाई राख्ने क्षमता पनि छैन । परिवार बस्ने निजी निवास न हो, त्यसमाथि अध्यक्षकै कार्यकक्ष साँघुरो छ । सात उपाध्यक्षका लागि दुई कोठा छन् । एउटामा चार र अर्कोमा तीन जना पालैपालो बस्नुपर्ने अवस्था छ ।

कार्यालयमा नियमित जाने नेता विष्णु रिमाल र विष्णु रिजाल मात्र हुन् । रिजाललाई प्रचार काम गर्नका लागि कुर्सी दिइएको छ । १० औँ महाधिवेशनअघिसम्मका हर्ताकर्ता विष्णु पौडेल हिजोआज बिरलै पार्टी कार्यालय छिर्नुहुन्छ । महासचिव शंकर पोखरेल पहिला ईश्वर पोखरेलले प्रयोग गर्ने कक्षमा हुनुहुन्छ भने वरिष्ठ उपाध्यक्ष भएपछि ईश्वरका निम्ति अतिथि भेटघाट गर्ने कोठा छुट्टयाइएको छ ।

तर, उहाँको कार्यालय आवतजावत निक्कै पातलिएको छ । विदेश विभाग प्रमुख राजन भट्टराई ‘कुर्सी भएपछि आउँछु’ भन्दै बाहिरै व्यस्त हुने गर्नुभएको छ । पहिला उपमहासचिव प्रदीप ज्ञवाली र सचिव योगेश भट्टराईको एउटै कार्यकक्ष थियो । अहिले त्यो प्रदीप र पृथ्वीसुब्बा गुरुङको कार्यकक्ष भएको छ ।

सातै जना सचिवलाई कम्प्युटर कोठामा थन्क्याइएको छ । उपमहासचिव विष्णु रिमालको कार्यकक्ष पहिलादेखि नै माथिल्लो तलाको अध्यक्षको छेउमा छ । केन्द्रीय सदस्यहरूको कार्यकक्ष हुने कुरै भएन । विभागका सदस्यहरू चाहिँ तलैबाट केपी ओलीको फोटो हेरेर फर्किने गर्दछन् ।

उता, राजेश शाक्य काठमाडौंको पार्टी सचिव बनाइएका छन् । काठमाडौं कमिटीमा ईश्वरपक्षको बाहुल्य छ । अध्यक्ष दिपक निरौला, उपाध्यक्ष नवराज पराजुलीसम्म ईश्वरका मान्छे हुन् । काठमाडौं जिल्ला कमिटीमा १० बुँदे पक्षधरहरूको उपस्थिति न्यून छ । त्यसमध्ये कामपा १४ की वडाध्यक्ष शोभा सापकोटा जिल्ला कमिटीमा परिनन् ।

टिप्पणीहरू