आगामी चुनावमा एमाले शक्तिशाली हुने अध्यक्षको दाबी

आगामी चुनावमा एमाले शक्तिशाली हुने अध्यक्षको दाबी

एमाले अध्यक्ष केपी शर्मा ओलीले वास्तविक जनमतको नेतृत्वको आफूहरुले गर्ने दाबी गर्नुभएको छ । वर्तमान सरकारले जनमतको नेतृत्व गर्न नसक्ने भन्दै उहाँले आगामी चुनावमा देखाइदिने चेतावनी पनि दिनुभयो ।

आज पार्टीको जिल्ला अधिवेशनको संयुक्त रूपमा भर्चुअल माध्यमद्वारा उद्घाटन गर्दै ओलीले एमालेसँग जनताको साथ रहेकाले आगागी निर्वाचनमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउने दाबी गर्नुभयो । ‘हामीलाई जनताको कवच प्राप्त छ’, उहाँले भन्नुभयो, ‘हामी चुनावको प्रतिक्षामा छौँ । त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ ।’

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई प्रतिगामी सरकारको संज्ञा दिँदै उहाँले पाँचमुख भएको सरकारले जनताको पक्षमा काम गर्न नसक्ने जिकिर गर्नुभयो । तुइन काटेर जनतालाई नदीमा खसाल्दा पनि बोल्न नसकेको उहाँले आरोप लगाउनुभयो ।

राज्यका सबै अंग आ–आफ्नो मर्यादामा बस्नुपर्नेमा जोड दिँदै ओलीले जनताको आदेशविना अन्यत्रबाट सरकार बनेको दाबी गर्नुभयो । ‘सरकार बन्यो संसदले समेत पनि थाहा पाएन’, उहाँको भनाइ छ ।

आफ्नो सम्बोधनको अधिकांश समय ओलीले सरकार गठनसम्बन्धमा सर्वाेच्च अदालतले दिएको आदेशप्रति खरो टिप्पणी गर्नुभएको थियो ।

टिप्पणीहरू