नारायणहिटीमा रमाइलो गर्न कसले अनुमति दियो ?

नारायणहिटीमा रमाइलो गर्न कसले अनुमति दियो ?

दरबार संग्रहालय परिसरमा रेष्टुरेन्ट खोल्न दिइएको अनुमतिमाथि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एकाएक रोक लगाएपछि अहिले सबैभन्दा धेरै चर्चा भएको छ ।

यसअघि उक्त अनुमति एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारले दिएको थियो । दरबार परिसरभित्र रेष्टुरेन्ट खोल्न निर्माण कार्य थालेको बि.म्यानेजमेन्ट प्रा.लि.लाई निमार्ण कार्य रोक्न पर्यटन मन्त्री प्रेमबहादुर आलेले निर्देशन दिएपछि उक्त विषय हिजो साँझदेखि एकाएक चर्चामा आएको छ ।

मन्त्रालयको निर्देशनपछि आज दरबारभित्रको निर्माण कार्य रोकिएको छ । तर,ऐतिहासिक महत्वको सार्वजनिक सम्पत्ति परिसरभित्र व्यवसायिक कार्यको सम्झौता गर्न कसले अनुमति दियो ? आदेशको हिसाबले केपी ओली र प्रशासनिक प्रक्रियाले तत्कालीन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको नाम अगाडि आएको छ ।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले दरबारभित्र रेष्टुरेन्ट बनाउन पूर्वमन्त्री भट्टराईले अनुमति दिएको खुलमखुल्ला बताएका छन् । दाहालले पूर्वमन्त्री भट्टराईले नै मौखिक रुपमा सैध्दान्तिक सहमति दिएको बताउँदै नारायणहिटीभित्र एउटा गतिलो क्याफ्टेरिया चाहिएको भनेपछि उक्त प्रक्रिया अघि बढेको बताएका छन् ।

सर्वत्र आलोचना हुन थालेपछि पूर्वमन्त्री भट्टराईले रेष्टुरेन्ट प्रकरणमा आफ्नो संलग्नता नरहेको स्पष्टीकरण दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यससम्बन्धी कुनै पनि निर्णयमा मेरो संलग्नता छैन ।’

भट्टराईले सोबारे कुनै पनि निर्णय आफ्नो जानकारीमा समेत नरहेको बताउँदै संलग्नता नरहेको कार्यप्रति जवाफदेहिता समेत नहुने सामाजिक सञ्जालको पोष्टमा उल्लेख गरेका हुन् ।

बिनाकसुर कसैको सार्वजनिक छविमा आँच आउने समाचार र टिप्पणी नगर्न पूर्वमन्त्रीले सबैलाई अनुरोध गरेका छन् । थप स्पष्ट पार्दै मन्त्रीले भनेका छन्, ‘मेरो संलग्नता रहेको भए सत्य,तथ्य र मेरो हस्ताक्षरसहितको निर्णय कपी वा मेरो लिखित निर्देशनपत्र सार्वजनिक गर्न चुनौती दिन्छु ।’

भट्टराईले तत्कालीन घटनाक्रमवारे स्मरण गराउँदै आफू मन्त्री हुनुअघि दरबारभित्र कफी हाउस बनिसकेको उल्लेख गरेका छन् । यता,हिजो रेष्टुरेन्ट निर्माण रोक्न निर्देशन दिएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भने सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ ।

टिप्पणीहरू