ओलीले आगामी चुनावमा उठाउन लागेका यी मुध्दा

अहिले बिपक्षीहरुमाथि दिनदिनै जसो खनिन थाल्नुभएका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा पुनः एकपटक भारतविरोधी राष्ट्रवाद र हिन्दू धर्मको सेन्टिमेन्ट क्यास गर्ने निश्चित भएको छ,’ यो भनाइ एमालेकै एक जना विश्लेषकको हो ।

गत असारमा सत्ताबाट विमुख भएपछि गत मंसिरमा पुनः अध्यक्ष निर्वाचित हुनुभएका उहाँले व्यक्त गर्नुभएका धारणाले उक्त कुराको छनक दिएको हो । उनै विश्लेषकका अनुसार अध्यक्ष ओलीले यसबीच बोलेका कतिपय कुरा र चुच्चे नक्सा जारीपछि आफूले सरकार छाड्नुपरेको पटक पटकको भनाइले पुनः राष्ट्रवाद र हिन्दू धर्मको सेन्टिमेन्ट क्यास गर्ने जमर्को एक पटक हुने सम्भावनालाई बढाएको हो ।

६ वर्षअघि भारतले लगाएको नाकाबन्दीपछि राष्ट्रवादको जुन लहर ल्याइएको थियो आगामी निर्वाचनमा पनि त्यसैगरी चुच्चे नक्साको प्रसंग उठाएर अर्को एक पटक राष्ट्रवादी लहर आउनेमा उहाँ ढुक्क हुनुभएको स्रोतले बताएको छ ।

किनभने पछिल्ला दिन राष्ट्रिय राजनीतिमा एमालेको भूमिका सबैभन्दा ठूलो पार्टी भएर पनि सत्ताबाट विमुख हुनुपर्ने रहेछ भन्ने विषयमा छलफल हुनुले उक्त सम्भावनाको आकलन गरिएको हो ।

“६ वर्षअघि भारतले लगाएको नाकाबन्दीपछि राष्ट्रवादको जुन लहर ल्याइएको थियो आगामी निर्वाचनमा पनि त्यसैगरी चुच्चे नक्साको प्रसंग उठाएर अर्को एक पटक राष्ट्रवादी लहर आउनेमा उहाँ ढुक्क हुनुभएको स्रोतले बताएको छ”

अर्कोतर्फ अहिलेको चुनावी प्रणालीबाट एकमना सरकार वा बहुमत प्राप्त हुनसक्ने सम्भावना नभएकोमा अनौपचारिक छलफलमा एमाले नेताहरुको समान धारणा सुनिन्छ । त्यसैले ओलीले कुनै पनि नयाँ विषयमा विगतमा झैँ पुनः ह्विम ल्याए पनि जनताले पत्याउन गाह्रो देखिन्छ ।

आगामी चुनावमा पक्कै पनि यसअघिको चुनावी घोषणापत्रमा लेखिएका कुराको बारेमा गम्भीर प्रश्न चिन्ह उठ्नसक्नेतर्फ वामपन्थी विश्लेषकहरुले अर्थ्याएका छन् । गत मंसिरमा भएको चितवन महाधिवेशनपछि एमालेभित्रै पनि विभिन्न खालका टिकाटिप्पणी हुन थालेको बुझिएको छ ।

अध्यक्ष ओलीले पावर टेकओभर गरेपछि आफ्ना मान्छेलाई एक एक सेटल गरेको असन्तुष्टहरुको भनाइ छ । महाधिवेशनमा एमाले संस्थापन पक्ष ‘आइ लभ यु केपी बा’ भन्ने एकथरि युवाको जमातलाई पूर्णरुपले परिचालन गर्न सफल हुनु बाहेक अन्य केही नभएको उनीहरुको निश्कर्ष हो ।

किनभने एमालेमा दशौं महाधिवेशन र त्यसपछि केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार अन्य पार्टीबाट विभिन्न कालखण्डमा प्रवेश गरेका सबैजसो सोत्तर भएका छन् । मार्क्सवादीलगायतका पार्टीबाट हिजो मालेमा छिरेका सबैलाई ‘नो’ भन्ने म्यासेज दिइएको छ । मालेकै पुराना कार्यकर्ता सबैलाई ‘घरमै बस’ भन्ने सन्देश दिइएको छ ।

यसअघि मुलुकका राजनीतिक दलहरुमध्ये आन्तरिक लोकतन्त्र सबैभन्दा बलियो एमालेमा नै थियो । तर यस पटकको महाधिवेशनपछि उक्त आधार सकिएको धेरैको बुझाई छ । विगतमा एमालेमा आएको र देखिएको उत्साह त्यहि आन्तरिक लोकतन्त्रको कारणबाट मजबुत भएको वामबुध्दिजीवीहरुको भनाइ छ । ‘अब पार्टीको अवस्था पहिलेझैँ नहुन सक्छ,’ एमालेबाट विगतमा नियुक्त एक जना राजदूतको भनाई हो यो ।

टिप्पणीहरू