​जुवामै छ जसको जिन्दगी

राज्यलाई बुझाउनुपर्ने कर, होटललाई दिनुपर्ने भाडा र मजदुर, कर्मचारीलाई तिर्नुपर्ने तलब, भत्ता, सञ्चयकोष आदि केही नदिइकन कम्पनी चलाइरहन पाइन्छ ? नपाइनुपर्ने हो, तर यहाँ यसैगरी थुप्रै कम्पनी चलिरहेका छन् ।

होटल याक एण्ड यतीमा रोयल क्यासिनो सञ्चालित छ । व्यवस्थापनले मजदुर र कर्मचारीलाई दशौं करोड रुपैयाँ दिएको छैन । राज्यलाई बुझाउनुपर्ने करोडौं कर पनि तिरेको छैन । यति मात्र होइन, क्यासिनो सञ्चालकले होटल मालिकलाई सम्झौताबमोजिम मासिक दिनुपर्ने भाडा, बिजुली र पानी खपत गरेबापतको रकम पनि गएको छैन ।

दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सञ्चालित क्यासिनो प्यालेसले त झन् ९ सयभन्दा बढी कर्मचारीको तलब, भत्ता, सञ्चयकोष, कल्याणकारी कोषलगायत बीसौं करोड बक्यौता दिएको छैन । सर्वोच्च अदालतले सबै कर्मचारी तथा मजदुरलाई उनीहरूले काम गरेबापतको रकम उपलब्ध गराएर मात्र क्यासिनो सञ्चालन गर्न÷गराउन गत जेठमा आदेश दिएको थियो । आदेशमा त्यहीं काम गर्न चाहने मजदुरलाई रोजगारीबाट वञ्चित नगर्नू पनि भनिएको छ । तर, हाल क्यासिनो चलाइरहेका विनय साह तेलीले एकैजना मजदुरलाई पनि बाँकी नदिई पीडित बनाएका छन् । 

विनय पहिले सोहीहोटलमा सञ्चालित क्यासिनो अन्नामा क्यासियर तहका कर्मचारी हुन् । क्यासियर हुँदा स्लटको पैसा लुकाउने र हिनामिना गर्ने गरेकाले तत्कालीन महाप्रबन्धक महेन्द्र राजकर्णिकारले स्लटमै जान प्रतिबन्ध लगाएका थिए । त्यसपछि एभरेष्ट क्यासिनोमा मार्केटिङ अफिसरको रूपमा काम गर्न थाले । त्यहाँ पनि उनको बदमाशी र अनियमितताको खुलासा हुन थालेपछि निकालिए । त्यसपछि क्यासिनो ¥याडमा मार्केटिङमै काम गर्न गए । त्यहाँ करोडजति हिनामिना गर्न भ्याएको र निकालिएको उनीसँगै कार्यरत मजदुर बताउँछन् । लगत्तै होटल सोल्टीमा सञ्चालित क्यासिनो माजाङमा शेयरहोल्डर बनेर पसे । जसरी पनि कमाउने बानी परेका विनयको त्यहाँ पनि मुख्य लगानीकर्ता विनोद श्रेष्ठसँग सम्बन्ध बिग्रिएर निकालिए । मीनभवन क्याम्पस पढेका उनले अदालतको आदेश लत्याएर प्यालेस क्यासिनो सञ्चालन गरिरहेका छन् । 

रोयल क्यासिनोले पनि मजदुरको रकम र सरकारी कर बीसौं करोड तिरेको छैन । त्यहाँ राजबहादुर सिंह, मनोज सुवेदी र सुरेन्द्र सिंहले क्यासिनो पालैपालो चलाएका हुन् । राजबहादुर पूर्वराजाका ज्वाइँ, मनोज क्यासिनोकै पूर्वकर्मचारी र सुरेन्द्र कर्मचारी तथा माओवादी युनियनका अध्यक्ष । सुरेन्द्रले त्यतिबेला खराब आचरण र व्यवहार देखाएपछि महिला मजदुरबाट पिटाइ भेटेका थिए । तर, यी कसैले पनि बक्यौता तिरेनन् र आफूले मात्र करोडौं आम्दानी गरी बाहिरिए । अहिले सो क्यासिनो भारतीय नागरिक आशिष पटेलको लगानीमा चलिरहेको छ । आशिषलाई सुरेन्द्रले बेचेका हुन् । 

रोयलमा मालिक परिवर्तन भइरहनुमा अञ्जली नामक एक महिलाको निर्णायक भूमिका रहने गरेको बुझिएको छ । होटल मालिक राधेश्याम सर्राफको दिल जितेकी अञ्जलीले जसो भन्यो त्यसै हुने गरेको बताइन्छ । नयाँ मालिक ल्याउँदा अञ्जलीलाई थप कमिसन आउने कारणले गर्दा पनि उनी प्रायः नयाँको चक्करमा रहने गरेकी हुन् । उनले प्रहरी, पर्यटन विभागदेखि न्यायालयसम्म म मिलाउँछु भन्ने गरेकी छन् । सर्वोच्चका एक श्रीमान्को नाम लिँदै स्टे अर्डर लिइहाल्छु नि भन्दै राधेश्यामलाई प्रभावमा पार्ने गरेको चर्चा छ । 

टिप्पणीहरू