अधिकांश सवारी दुर्घटनामा चालक दोषी

अधिकांश सवारी दुर्घटनामा चालक दोषी

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे सात हजारभन्दा बढी सवारी दुर्घटना भएका छन् । त्यसमा ८ सय ८६ जनाले ज्यान गुमाएका छन् भने १० हजार ६ सय १ जना घाइते भएका छन् । घाइतेमध्ये २ हजार ३ सय ८५ को अवस्था गम्भीर रहँदा ८ हजार २ सय १६ जनाको अवस्था सामान्य पाइएको तथ्याङ्कले देखाएको छ । प्रहरी विवरणअनुसार साउनदेखि कात्तिकसम्म कुल ७ हजार ७ सय ८३ वटा सवारी दुर्घटनामा परेका छन् ।

प्रहरीका अनुसार नेपालमा सवारी चालकको लापरवाहीका कारण सर्वाधिक दुर्घटना हुने गरेको छ । यसका अतिरिक्त यात्रु, सवारी साधन, सडकको अवस्था, मौसम र पशुचौपायाका कारण पनि सवारी दुर्घटना हुने गरेको छ ।

प्रहरीको तथ्याङ्कमा पछिल्लो चार महिनामा विभिन्न कारणले महानगरीय क्षेत्रमा ३ हजार ३ सय ६१, प्रदेश नम्बर १ मा १ हजार २ सय ८७, प्रदेश नम्बर २ मा १ हजार ६ सय ९८, बाग्मती प्रदेशमा ५ सय ८९, गण्डकी प्रदेशमा १ सय ३०, लुम्बिनी प्रदेशमा ४ सय ३, कर्णालीमा १ सय २८ तथा सूदुरपश्चिम प्रदेशमा १ सय ८७ वटा सवारी दुर्घटना भएको उल्लेख छ ।

‘चालकको लापरवाहिबाट ६ हजार ७ सय ३९ दुर्घटना’

सवारी दुर्घटना हुनुमा चालकको बढी दोष रहेको तथ्याङ्कले देखाएको छ । चालकले लापरवाही गर्दा पछिल्लो चार महिनाको अवधिमा ६ हजार ७ सय ३८ दुर्घटना भएको हो । जसमा चालकले ट्राफिक नियम उल्लंघन गर्दा, जथावाभी ढोका खोल्दा, ओभरटेक गर्दा, तीव्र गतिमा सवारी चलाउँदा, निदाउँदा, मादक पदार्थ सेवन गरि सवारी चलाउँदा, मोबाइल फोन प्रयोग गर्दा, सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको र अन्य विविध कारणले गर्दा दुर्घटना हुने गरेको पाइएको छ ।

पछिल्लो चार महिनामा चालकले ट्राफिक नियम उल्लंघन गर्दा ३ सय ३४, जथावाभी ढोका खोल्दा १६, ओभरटेक गर्दा २ सय ८६, तीव्र गतिमा सवारी चलाउँदा ३ हजार ७ सय ४९, चालक निदाउँदा १३, मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा ४ सय २, मोबाइल फोन प्रयोग गर्दा २, सवारी चालक अनुमतिपत्र प्राप्त नहुँदा ३ सय ३ र अन्य विविध कारणबाट चालक दोषी देखिएका १ हजार ६ सय ४ दुर्घटना छन् ।

‘सवारी दुर्घटनाका अरु कारण’

सवारी साधन दुर्घटना हुनुमा चालक मात्र नभई अन्य पक्षको पनि उत्तिकै दोष देखिएको छ । तथ्याङ्कअनुसार पछिल्लो चार महिनामा सवारी साधनको अवस्थाका कारण २ सय ४० दुर्घटना भएको छ । जसमध्ये यान्त्रिक गडबढीका कारण ९५, ओभरलोडका कारण ११, ब्रेक नलागेका कारण १ सय ६, टायर खुस्केका कारण ७, टायर पञ्चर भएका कारण १२, सवारीको लाइटका कारण ५ तथा अन्य विविध प्राविधिक त्रुटीका कारण ४ वटा दुर्घटना भएको पाइएको छ । त्यसैगरी सवारी साधन पुरानो अवस्थाका कारण भएका दुर्घटनालाई पनि सुचक मानिएको छ । तर पनि उक्त अवधिमा पुराना सवारी साधन दुर्घटनामा परेका छैनन् ।

त्यस्तै, सवारी दुर्घटना हुनुमा यात्रु समेत जिम्मेवार रहेको तथ्याङ्कले बताएको छ । जसअनुसार सवारी साधन चढ्दा १०, ओर्लंदा १४, झुण्डिएर यात्रा गर्दा ९, छतमा यात्रा गर्दा १, शरिर बाहिर निकाल्दा ३, बाटो काट्दा सर्वाधिक लापरबाही हुने गरेको र सो समयमा १ सय ७९ दुर्घटना भएको पाइएको छ । यात्रुका विभिन्न कारणले गर्दा २० दुर्घटना हुँदा कुल २ सय ३६ दुर्घटना भएको तथ्याङ्कमा उल्लेख छ ।

‘सडकको अवस्था नाजुक हुँदा दुर्घटना ’

सवारी दुर्घटनाको अर्को कारण सडक रहेको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्कका आधारमा सडक अव्यवस्थित हुँदा चार महिनामा ४ सय ७४ सवारी दुर्घटनामा परेका छन् । दुर्घटनामा पर्नेमध्येमा सडकमा भएका खाल्डाखुल्डीका कारण १ सय ३५, निर्माण सामाग्री राखेका कारण ४, सडकमा चिप्लेर ८, घुम्ति सडकमा ९२, उकालोमा १८, ओरालोमा १३, साँघुरो बाटोमा १ सय ३१, खतरा बाटो र ढलमा २, जीर्ण सडकमा १०, निर्माणाधीन सडकमा ४, कच्ची सडकमा ५२, ग्राभेलमा १ पक्की सडकमा शुन्य तथा अन्य कारणले ४ वटा दुर्घटना भएका छन् ।

यस्तै, खराब मौसमका कारण पछिल्ला चार महिनामा २९ वटा सवारी दुर्घटना भएको छ । यसबीचमा हुस्सु, कुहिरोका कारण २, आँधिबेरीका कारण १, वर्षाका कारण १६, बाढीका कारण ४, पहिरोका कारण ३, अन्य विविध मौसम गडबढीका कारण ३ वटा दुर्घटना भएको उल्लेख छ ।

पछिल्लो चार महिनामा पशु चौपायाका कारण ६५ सवारी दुर्घटना भएको तथ्याङ्कले जनाएको छ । दुर्घटनामा पर्ने सवारी साधनमा अधिकाशं मोटरसाइकल तथा स्कुटर रहेको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्ककै आधारमा विभिन्न कारणले सवारी दुर्घटना हुँदा महानगरीय क्षेत्रमा ४ हजार ९ सय ८७, प्रदेश नम्बर १ मा ९ सय ९९, प्रदेश नम्बर २ मा ८ सय ७८, बाग्मती प्रदेशमा ५ सय ६६, गण्डकी प्रदेशमा १ सय २, लुम्बिनी प्रदेशमा ३ सय ३१, कर्णालीमा २ तथा सूदुरपश्चिम प्रदेशमा शुन्य गरी कुल ७ हजार ८ सय ५५ सवारीमा क्षति पुगेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू