यस्तो कुरा आइदिँदा !!

नीलकण्ठ उप्रेतीको भारतका लागि राजदूत हुने बाटो खुल्यो, अर्थात् साउन महिनाभित्र कसैले मुद्दा हालिदिएन भने बहालवाला प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव पनि त्यही प्रकृतिको अवसर पाउन इच्छुक छन् ।

उनले युरोपियन कुनै मुलुकका निम्ति नेपाली दूत वा प्रदेश प्रमुखको रूपमा काम गर्न रहर देखाएको चर्चा छ । हुन त उनको कार्यकाल ५–६ महिना बाँकी नै छ । संवैधानिक आयोगमा करिअरका हिसाबले नभई राजनीतिक भागबण्डाकै आधारमा नियुक्ति भएको र राजदूतको नियुक्ति पनि ‘राजनीतिक’ नै भनी अदालतबाट व्याख्या आएमा अरु केही उम्मेदवारको बाटो खुल्नेछ । त्यस्तो अवस्थामा लोकसेवा आयोगका सदस्य डा.गोविन्दप्रसाद कुसुम, महालेखा परीक्षक टंकमणि शर्मा, अख्तियारका आयुक्त गणेश जोशीहरूलाई मात्र किन अन्याय गर्ने ? संविधानको धारा २४५ को प्रतिबन्धात्मक वाक्यांश ‘राजनीतिक पदमा नियुक्त हुन बाधक हुने छैन’ भन्ने कुरालाई टेकिएको हो भने त्यो भनेको राष्ट्रपति, उपराष्ट्रपति र प्रदेश प्रमुखहरू होला । ती व्यक्तिले राजनीतिक पदमा जान पाउँछन् भन्ने हो भने परराष्ट्रका सहसचिवहरूलाई राजदूत बनाउन मिलेन । स्वभाविकै प्रश्न उठ्छ, राजनीतिक पदमा कर्मचारीलाई पठाउन पाइन्छ ? कुनै पदलाई ‘राजनीतिक’ भनेर बिल्ला लगाइसकेपछि कर्मचारीका हैसियतले त्यस्तो पदका लागि प्रतिस्पर्धा गर्न वा आकांक्षा बोकेर हिँड्न पाइँदैन, कि त जागिर छाड्नुपर्ने हुन्छ । 

उता, प्रदेश प्रमुखको हकमा समय मिलाएर हटाउने स्थिति छ । अहिले नै त्यस्तो गर्दा अदालतले अन्तरिम आदेशबाट निर्णय कार्यान्वयन हुन नदिने खतरा छ । प्रदेश प्रमुखको नियुक्ति सरकारले सिफारिस गरेअनुसार राष्ट्रपतिबाट हुने भनिएको छ । संविधानको धारा १६३ मा राष्ट्रपतिले पदावधि समाप्त हुनुअघि नै पदमुक्त गरेमा बाहेक पाँच वर्ष भनिएको छ । धारा १६५ (ख) अनुसार राष्ट्रपतिले पदावधि समाप्त हुनुअघि हटाएमा प्रदेश प्रमुखहरू पदमुक्त हुन सक्छन् ।

हुन पनि प्रदेश प्रमुखको काम सुतेर, डुलेर खानेबाहेक खासै देखिएन । मन्त्रिपरिषद् बन्दा शपथ गराउने, वर्षमा एकचोटि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, कानुन आए सदर गरिदिने । सार्वजनिक कार्यक्रम, उद्घाटन, सभा, समारोहमा जानका लागि त प्रदेश मन्त्रीहरूलाई नै भ्याइ नभ्याइ छ । 

टिप्पणीहरू