दशैंताका आतंक मच्चाउने दाउ

एकपछि अर्को गर्दै ओली सरकारलाई अप्ठेरोमा पार्न विभिन्न तत्व सक्रिय छन्, कतिपय घटना दृश्यमै प्रकट भएका पनि छन् । यसैबीच, विप्लव नेतृत्वको नेकपा र सिके राउतलाई तेस्र्याइने आशंका बढेको छ । सरकारलाई असफल पार्ने हो भने त्यसका विभिन्न श्रृंखला र अध्याय हुन्छन् । कुनबेला के अस्त्र प्रयोग गर्ने भन्ने रणनीति कुनै बन्द कोठामा तयार भइरहेको छैन भन्न सकिन्न । 

अहिलेको सरकारले पूर्ववर्ती सरकारहरुले खोक्रो बनाएको जर्जर आर्थिक दुरावस्था सम्हाल्नुपरेको छ । प्रोत्साहन भत्ता काटिएका कारण कर्मचारीहरु पनि राजस्व असुलीमा जोखिम मोल्न तयार छैनन्, काममा उत्साहित पनि छैनन् । यसैबीच, विप्लवलाई बिच्काएर, उनका मान्छेहरु बढीभन्दा बढी समातेर वा घेराबन्दीमा पारेर दशैंको छेका केही प्रहरी चौकी र सशस्त्रका ब्यारेक हान्न लगाउने, अशान्ति मच्चाउने, हाईप्रोफाइलका केही उद्योगी–व्यवसायीलाई आक्रमण गर्ने र नेपालमा भयावह स्थिति सिर्जना भयो भन्ने बनाएर राजश्वको राम्रो स्रोतरुपी बाह्य र आन्तरिक पर्यटनमा मन्दी ल्याउनेजस्ता काम नहोला भन्न सकिने अवस्था छैन । नेकपा नेता भीम रावलको शव्दमा भन्ने हो भने अछामको रामारोशन क्षेत्रमा पहिला जसरी माओवादीले तालिम दिन्थे, त्यही शैलीमा भर्खरै विप्लव समूहका १८ सय कार्यकर्तालाई तालिम दिइएको छ । तर त्यसो गर्दा पनि सरकारको जासुसी संयन्त्रले पत्तो नपाएको स्थिति छ । 

यसबीच सरकारको लोकप्रियताको स्तर पनि उस्तै छ । भनिएका कामहरु थाल्न सकिएको गर्न सकिएको छैन । विभिन्न जालमा परेर सरकारलाई अलोकप्रिय निर्णय गराउन बाध्य पारिएको छ । यस्तो बेलामा मीनबहादुर गुरुङजस्ता कुनै व्यापारीलाई आक्रमण गर्दै राज्यको कर नतिर्ने भ्रष्टाचारी, व्यापारीलाई हानेको नाममा विप्लव नेकपाले जनताको सहानुभूति नबटुल्ला भन्न सकिन्नँ । त्यसो गर्दा व्यापारीहरु विप्लवतिर च्यानल बनाउन लाग्ने, उनैलाई चन्दा दिनेजस्ता काममा लागे भने के हुन्छ ? यस्ता गम्भीर विषयमा चासो त्यत्ति दिइएको पाइन्न । 
 

टिप्पणीहरू