माननीयहरु महाधिवेशनमा हिँडेपछि राजदूत नियुक्ति अलपत्र, उजुरी गोप्य

माननीयहरु महाधिवेशनमा हिँडेपछि राजदूत नियुक्ति अलपत्र, उजुरी गोप्य

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि आज बोलाइएको संसदीय सुनुवाई समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । पार्टीको महाधिवेशनको चटारोले नेपाली काँग्रेस र एमालेका सांसदहरु बैठकमा अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।

आज सिंहदरवारमा बोलाइएको समितिको बैठक कोरम नपुगेपछि आगामी मंसिर १७ गतेसम्मको लागि स्थगित गरिएको छ । कोरम नपुगेपछि समितिको बैठक आगामी मंसिर १७ गते बस्ने गरी स्थगित गर्नुपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभएको छ ।

एमाले र काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु महाधिवेशनको कारण उपस्थित हुन नसक्दा समितिको बैठकको निम्ति आवश्यक कोरम अपुग भएको कर्णको भनाइ छ ।

‘आजको बैठकमा कोरम पुगेन । कारण विभिन्न होला । महाधिवेशन चलिराख्या छ अहिले एमालेको । उहाँहरु केही आउनुभयो, केही आउन सक्नुभएन । नेपाली काँग्रेसको पनि गाउँ÷जिल्ला अधिवेशनहरु चलेको छ । उहाँहरु पनि आउनु भएन । आउँछु भन्ने मान्छेहरु पनि आएनन् । हामीले कमसेकम कोरम पुग्छ भनेर बैठक राखेका हौं, तर त्यो भएन । अब बीचमा एमालेको महाधिवेशन छ । त्यसपछि आइपीओमा जाने माननीयज्यूहरु पनि परेका छन् । त्यसकारण अहिले मोटामोटी १७ गते अर्को बैठक गर्ने भन्ने टेन्टेटिभ तोकेका छौं’, कर्णले भन्नुभयो ।

गत कात्तिक ११ गते बसेको मन्त्रीपरिषद् बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाको लागि श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यलाई नेपाली राजदूतका लागि सिफारिस गरेको थियो । प्रस्तावित तीन वटै देशका राजदूतको सुनुवाईका लागि आज समितिको बैठक बोलाइएको हो । समितिले गत कात्तिक १८ गते प्रस्तावित तीन राजदूतका विषयमा उजुरी आह्वानसमेत गरेको थियो ।

सोही सम्बन्धमा प्राप्त उजुरी खोल्ने, उजुरीकर्तासँग छलफल गर्ने र सुनुवाइ गर्ने भनिए पनि कोरम नपुगी बैठक स्थगित भएको सभापति कर्णले जनआस्थालाई बताउनुभयो । उहाँका अनुसार समितिका बहुमत सदस्यहरु अनुपस्थित रहेसँगै बैठक स्थगित भएको हो । संसदीय सुनुवाई समिति १५ सदस्यीय छ । तर बैठकमा कोरम पुग्न आठ जना सदस्य चाहिन्छ । आउँछु भनेका सदस्य समेत उपस्थित नभएपछि कोरम नपुगेर बैठक स्थगित गर्न बाध्य हुनु परेको समेत कर्णले जानकारी दिनुभयो ।

समितिमा देव गुरुङ, पूर्णाकुमारी सुवेदी, भिमसेन दास प्रधान, सुरेन्द्र पाण्डे, शिव मण्डल, पुष्पा भुषाल, निरुदेवी पाल, जितेन्द्र नारायण देव, नन्दा चपाई, सुमनराज प्याकुरेल, अमृता थापालगायत सदस्य छन् । चार जना सदस्य भने अहिलेको मन्त्रिपरिषदमा पनि छन् ।

तीनै जनाविरुद्ध परेका उजुरीमाथि सुनुवाइ समितिले छानबिन गर्नेछ । समितिले अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । समितिमा एउटा उजुरी परेको भनिए पनि त्यसलाई गोप्य राखिएको छ ।

टिप्पणीहरू