​सैनिक हिरासतबाटै सुइँकुच्चा

केन्द्रीय सैनिक प्रहरीको जंगीअड्डास्थित हिरासतभित्रैबाट ७ गते बिहीबार एकजना हवल्दार कर्मचारी (हुक) नवराज गुरुङ हत्कडीसहित बेपत्ता भएका छन् । कसुर हो, भर्ना छनौटसम्बन्धी अनियमिततामा संलग्नता । 

सेनाको भर्ना छनौटका प्रमुख टेकबहादुर सिंह हुन् भने संगठन हेर्ने कार्यरथी विभाग प्रमुखमा दुई तारे जर्नेल शेखर बस्नेत छन् । शेखर आजकल बिहानदेखि बेलुकीसम्मै भर्ना छनौटको काममा मैदानमै रहने गरेका छन् । भर्ना छनौटका मुख्य हाकिमहरुलाई कसैले केही गर्न सकेका छैनन् । सानो दर्जाका सैनिकलाई हिरासतमा राखिएको र त्यहाँ जोगाउन नसकेको चर्चा छ । अहिले भर्ना छनौटमा भएको भनिएको अनियमितता छानवीन गर्नका लागि कार्यरथीका उनै जर्नेल शेखर बस्नेतको संयोजकत्वमा एक समिति बनाइएको छ । अहिले शेखर जसरी सबेरैदेखि साँझसम्म मैदानमा भिडेका छन्, पहिल्यैदेखि यसरी दत्तचित्तका साथ भिडेको भए अनियमितताको यस्तो तनावमा पर्नै नपर्ने † यसबीच चौरासी जनाको अधिकृत कमाण्डो तालिममा झण्डै एक तिहाइ अर्थात् पच्चिस जना अनुत्तीर्ण भएको खबर छ ।

त्यस्तै, आइतबार चीन भ्रमणबाट प्रधानमन्त्री काठमाडौं ओर्लिएकै दिन परमाधिपतिका हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई जंगी अड्डाको निरीक्षण गराइएको छ । सो क्रममा अहिले सेनाले निर्माण गरिरहेको फास्टट्रयाकका लागि यथेष्ट उपकरण नभएको, विपद् व्यवस्थापनमा स्रोत र साधनको अभाव, बजेट, हतियार, विष्फोटक पदार्थ पनि पर्याप्त नभएको गुनासो गरिएको थियो ।

यसैबीच, संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन पेइरी लाक्रोइस नेपाल आएका छन् । उनीसँग सेनाले शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय मिसनमा खटिने कोटावृद्धिका लागि माग गर्ने भएको छ । तीन साताअघि नेपाल सरकारले ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघीय कार्यालयमा सञ्चालित भूमिगत ‘डिपार्टमेन्ट अफ पोलिटिकल अफेयर्स’ अफिस (डीपीए) लाई बन्द गराएको थियो । उक्त निकायले अलग तराई राज्यको माग गर्ने सिके राउतको समूहलाई सघाउ पुग्ने गरी कार्यक्रम र अभिव्यक्ति दिएको आरोप छ । यसबीच घर जाने बेला प्रधानसेनापति राजेन्द्र क्षत्री १९ गते बुटवलका बाहिनीपति राजेन्द्र कार्कीसँगै बर्मा हुँदै चीन जान लागेका छन् । 

त्यस्तै, प्रधानसेनापतिका भाइ ज्योतेन्द्र क्षत्रीलाई यो सालको बजेट चलाएर अब अरु चेक काट्न नपाउने गरी आफ्नो पोष्टिङ रहेको हेटौंडास्थित मध्यपृतना हेडक्वार्टर, सुपारिटार जान आदेश दिइएको छ । उनले जंगीअड्डास्थित आफ्नो कार्यभार महासेनानी योगराज शर्मालाई बुझाउँदै छन् । 

उता, नेपाल भ्रमणमा आएका पाकिस्तानी सेना प्रमुखलाई सिन्धुलीगढी किल्ला घुमाइएको छ । पहिला भारत, पाकिस्तान र बंगलादेश एक हुँदा त्यहाँबाट अंग्रेज फौजलाई नेपालको गोर्खाली फौजले लखेटेको थियो । उनलाई पहिला माउण्टेन फ्लाइटबाट नेपालका हिमश्रृंखलाको दृश्यावलोकन गराउन खोजिएको थियो । तर, अकस्मात मौसम खराब भएपछि सिन्धुलीगढी घुमाउने कार्यक्रम बनेको हो । विश्वका ठुल्ठूला हिमालमध्ये आठ नेपालमा र केटुलगायत बाँकी दुई पाकिस्तानमा छन् । हिमाली रेञ्जबाट नेपाल पाकिस्तानसँग जोडिएको मुलुक पनि हो । पाकिस्तान त्यस्तो देश हो, जसले ३० हजार घाइते र अपांग सेनालाई पालेर राखेको छ । आतंकवादग्रस्त ऊ विश्वभर कहलिएको सैनिक फोर्स हो । सन् २००९ सम्म पाकिस्तानमा यति धेरै आतंककारी गतिविधि हुन्थे कि, त्यसमा सेनाले राम्रो कमाण्ड कन्ट्रोल गरेर नियन्त्रणमा ल्याएको छ । 

टिप्पणीहरू