प्रधानमन्त्री जाँदा यति लाग्छ पैसा

हिजो मंगलबारबाट शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सरकारले निजी क्षेत्रबाट सञ्चालित हिमालय एयरलाइन्सको विमान चार्टर गर्दा ६४ लाख ९२ हजारसहित कूल १ करोड ९३ लाख ६२ हजार २ सय ३१ रुपैयाँ खर्च हुने भएको छ ।

सरकारी स्वामीत्वको राष्ट्रिय ध्वजावाहक विमान सेवा सुचारु नै छ । तर, ०७२ मा प्रधानमन्त्री छँदाझैँ यसचोटि पनि आङछिरिङ शेर्पा सञ्चालक रहेको सोही विमानमा यात्रा गर्न रुचि देखिएपछि सो रकम खर्च हुने भएको हो । हिजो बिहान काठमाडौंबाट उडेको उक्त विमानले प्रधानमन्त्रीलाई ल्हासामा उतारेको छ । उक्त जहाजको अघिल्लो सिटमा उड्ने आठ अति विशिष्ट तथा विशिष्ट पदाधिकारीका निम्ति प्रतिव्यक्ति एक घण्टे एकतर्फी उडानमा १३ सय ४५ अमेरिकी डलर (जम्मा १० हजार ७ सय ६० अमेरिकी डलर) खर्च छुट्टयाइएको छ । सरकारी टोलीका ३९ सदस्यको लागि सोही सेक्टरमा जान इकोनोमी क्लासको प्रतिव्यक्ति ७ सय १७ अमेरिकी डलरका दरले जम्मा २७ हजार ८ सय ८५ डलर छुट्याइएको छ । भ्रमणदलका १७ सदस्य बेइजिङबाट ल्हासा उड्नका लागि इकोनोमी क्लासको टिकटमा प्रतिव्यक्ति ६ सय ५० अमेरिकी डलरका दरले ११ हजार ५० डलर खर्च स्वीकृत भएको छ ।

सरकारले प्रधानमन्त्रीसहित भ्रमण दलका सदस्यको लागि प्रतिदिन २५ अमेरिकी डलर छुट्टयाएको छ । त्यसरी ४७ जनाका लागि पाँच दिनको पकेट खर्चबापत प्रतिव्यक्ति १ सय २५ अमेरिकी डलर र अग्रिम टोलीमा जाने एकजनाको आठ दिनका लागि पनि प्रतिदिन २५ डलरकै दरले खर्च स्वीकृत भएको छ । (यसमा पछि थपिएका एक दर्जनको हिसाब राखिएको छैन ।)

चीन सरकारले खर्च व्यहोर्नेबाहेकका सदस्यहरुको हकमा बेइजिङमा १७ जनाका लागि होटल, खाना, नेपाली दूतावासबाट स्वागत समारोह तथा रात्रिभोज आयोजना, सवारी साधन भाडा, सञ्चारसम्बन्धी काम, प्रमको तर्फबाट स्थानीय कर्मचारी तथा सहयोगीलाई दिइने टिप्ससहित विविध शीर्षकमा माग गरेबमोजिमको रकम पनि नेपाल सरकारले डलरमै स्वीकृत गरेको छ । प्रमको सम्मानमा ल्हासास्थित महाबाणिज्यदूतावासले आयोजना गरेको स्वागत तथा रात्रिभोज, सवारी साधन भाडा, टिप्ससहितको विविध खर्चका लागि पनि अलग्गै रकम निकासा दिइएको छ ।

प्रम ओलीले बेइजिङ र ल्हासास्थित चिनियाँ अधिकारीलाई प्रदान गर्ने उपहार (प्याकिङसहित) मा पाँच लाख खर्च गर्ने गरी बजेट बिनियोजन गरिएको छ । त्यस्तै, भ्रमण दलका सदस्यको बीमा खर्चमा चार लाख छुट्टयाइएको छ । शिष्टाचार महापालको सिफारिसमा परराष्ट्र सचिवले स्वीकृत गरेबमोजिम सरकारले भैपरी आउने तथा आकस्मिक खर्चका रुपमा थप तीन लाख उपलब्ध हुनेछ ।

टिप्पणीहरू