सरकार, देखेनौ यो सिन्डिकेट ?

प्रधानमन्त्री केपी ओलीले अस्ति सोमबार मात्रै नेपालमा चुनढुंगा प्रशस्त पाइने भएकाले सस्तोमा सिमेन्ट उत्पादन गरी भारत निकासी गर्न सकिने बताए । ९० प्रतिशतभन्दा बढी कच्चापदार्थ नेपालमै पाइने भए पनि यहाँ उत्पादित सिमेन्टको मूल्य भने भारत र चीनमा भन्दा झण्डै दोब्बर महँगो छ । सरकारले सक्रिय पहल गर्ने हो भने सिमेन्ट नेपालको निर्यातजन्य उत्पादन बन्न सक्छ ।

तर, अहिले यो उद्योगीका नाममा निश्चित मानिसको मनचिन्ते झोली बनेको छ । यातायात व्यवसायी महासंघ, विदेश मानिस पठाउँदा स्वास्थ्यको प्रमाणपत्र दिने स्वास्थ्यसंघ जस्तै सिमेन्ट उत्पादक संघ छ । हालसम्म संघको निर्णयमा सिमेन्टको मनलाग्दी मूल्य कायम गरिएको छ । संघीय संसद्को चुनावलगत्तै सिमेन्टको मूल्य एकैचोटी प्रतिबोरा डेढ सय रूपैयाँ बढाइयो । मूल्य किन वृद्धि गरियो भनेर कुनै विश्वसनीय कारण उत्पादकले दिएका छैनन् । सिमेन्ट उत्पादकको कतिसम्म एकलौटी छ भने निजी उत्पादकले मूल्यवृद्धि गरे पनि सरकारी लगानीमा उत्पादन गरिरहेको हेटौंडा सिमेन्ट फ्याक्ट्रीले पुरानै दरमा सिमेन्ट बजारमा पठाइरह्यो । तुलनात्मक रूपमा अझ विश्वसनीय र राम्रो मानिएको हेटौंडा सिमेन्ट नै प्रतिबोरा डेढ सयमा सस्तो पाइने भएपछि यसको कालोबजारी बढ्यो । अनि त हेटौंडा सिमेन्टले समेत कालोबजारीलाई प्रश्रय दिनुको सट्टा बाध्य भएर मूल्य बढाएर बेच्न सुरु गरेको हो ।

सिमेन्ट बनाउन चाहिने ९३ प्रतिशतभन्दा बढी कच्चा पदार्थ नेपालमै उपलब्ध छ । कोइला, जिप्सम, आइरनवेयरजस्ता पदार्थ विदेशबाट ल्याउनुपर्छ । अधिकांश सिमेन्ट कारखानाले क्लिंकर नेपालमै बनाउँदै आएका छन् । यसका लागि आवश्यक चुनढुंगा हजारौं वर्षलाई पुग्नेगरी नेपालको चुरे–महाभारत क्षेत्रमा पूर्वी नेपालदेखि पश्चिमसम्म पहाडका रूपमा छन् ।

नेपालको श्रमशक्ति पनि तुलनात्मक रूपले महँगो छैन । तैपनि, नेपाली सिमेन्ट सिन्डिकेटकै कारण महँगो छ । सरकारी कम्पनीले सस्तो मूल्यमा सिमेन्ट बजारमा दिन खोज्दासमेत नसक्ने अवस्था छ । अग्नि सिमेन्टको मूल्य अहिले बिक्रेताले कारखानाबाटै उठाउँदा प्रतिबोरा ७ सय ८० रूपैयाँ पर्छ । यसमा यातायात र गाडीमा राख्ने र झार्ने मूल्य जोडिएको छैन । यसैगरी शिवम्को ८ सय २५, गोएन्का, शक्तिमान र विशाल सिमेन्टको फैक्ट्री मोल ७ सय ७० रहेको छ । यो दाम बजारमा पुगेर ग्राहकले खरिद गर्दा ६० देखि प्रतिबोरा एक सय ३० सम्म बढ्ने एक बिक्रेता बताउँछन् । नेपाली सिमेन्टका फ्याक्ट्री मूल्य ७ सय ४० देखि ८ सय ६० सम्म छ । यही सिमेन्ट पसलबाट खरिद गर्दा ८ सय ५० देखि ९ सय ९० सम्म क्रेताले खर्चनुपर्छ । शिवम् सिमेन्ट बजारमा खरिद गर्दा ओपिसीको ९ सय ९० पर्छ । सर्वोत्तम सिमेन्ट पिपिसीको ८ सय ५० पर्छ । पिपिसी सिमेन्ट कम्पाउन्ड वाल लगाउने कार्यमा बढी प्रयोग गरिन्छ भने ओपिसी सडक, ठूला भवन, पुल निर्माणका लागि प्रयोग हुन्छ ।

भारतमा नेपालकै गुणस्तरको सिमेन्ट भा.रु.२ सय ८५ देखि पाइन्छ । नेपालीमा यो मूल्य भनेको ने.रु.मा ४ सय ५५ जति हो । भारतीय अम्बुजा सिमेन्टको मोल भारु २ सय ८५ रहेको छ भने एसिसीको ३ सय २० छ । भारतीय अल्ट्राटेक सिमेन्ट नेपाली ५ सय २८ रूपैयाँ पर्छ । चीनमा पनि सिमेन्टको मूल्य नेपालको भन्दा आधा जति नै सस्तो छ । तर, नेपालमा भने झन् बढी हुनुमा व्यवसायीबाहेक अरूको के स्वार्थ होला र ?

टिप्पणीहरू