राजधानीका अव्यवस्थित तारलाई कहिलेसम्म दुर्घटनाको पासो बनाइरहने ?

राजधानीका अव्यवस्थित तारलाई कहिलेसम्म दुर्घटनाको पासो बनाइरहने ?

सडकको छेउछाउ खम्बामा टाँगिएका तारले राजधानीलाई कुरुप मात्रै नभई जोखिमपूर्ण पनि बनाइदिएको छ । अव्यवस्थित रुपमा टाँगिएका केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्ने भनिएको वर्षौं बितिसकेको छ । तर परिणाम भने ज्युँको त्युँ छ ।

देख्दै पट्यारलाग्दा तारहरुले पैदलयात्रीको शरीर नै तरगिंत बनाइदिन्छ । एकै ठाउँमा सयौंथरि तारहरु गुजुल्टिएको देख्दा सबैलाई दिक्क लाग्नु स्वाभाविक हो । लत्रेका तारहरुले सँधै सबैलाई त्रसित बनाइदिन्छ ।

इन्टरनेट, केबल र टेलिफोनको तार एकैठाउँमा टाँगिएका छन् । जता हेर्योे तारैतार मात्र देखिन्छन् । कुन तार केको हो चिन्नै मुश्किल पर्छ । एउटा कम्पनीले अर्कैको काटेको कैयौं गुनासा सुनिन्छन् ।

बिजुली र टेलिफोनको पोलले थेग्न नसक्ने गरि अव्यवस्थित तरिकाले तारहरु झुन्डाइएका छन् । कहिलेकाँही तारको भार थेग्न नसकेर पोल ढलेको समेत देखिन्छ । यसबाट हुने असुविधा छुट्टै छन् ।

सवारी साधन तथा दैनिक जीवनयापनमा समेत अव्यवस्थित तारले निकै सास्ती दिएको छ । सेवा दिने नाममा शहर कुरुप बनाउनेभन्दा तारको जालोले अरु केही काम हुन सकेको सर्वसाधारणहरुको ठम्याइ छ ।

संसारको कुनै पनि मुलुकको राजधानी शहरमा यसरी गुजुल्टिएका तारहरु सायदै अपवादबाहेका देशमा देखिन्छन् होलान् । गृहयुद्ध, युद्ध र अन्य समस्यामा रहेका मुलुक बाहेक अरुले यस्ता खालका समस्याको समाधान खोजिसकेका छन् ।

जथाभावी टाँगिएका तारहरुमा आगलागीको जोखिम उत्तिकै हुन्छ । झोल्लिएका तारहरुले स्कुले बालबालिकालाई सबैभन्दा धेरै खतरा हुन सक्ने विगतका उदाहरणबाट समेत पुष्टि भएको छ । कतिपय स्थानमा लत्रिएका र भुइँ छुने गरि टाँगिएका तारले दुर्घटना निम्त्याइरहेको पैदलयात्री आस्था कार्की बताउँछिन् ।

तारहरुलाई व्यवस्थित गर्न भूमिगत गर्न थालिएको दशकौं नाघिसकेको छ । नेपाल विद्युत प्राधिकरणले करिब चार वर्षअघि विद्युतीय तार भूमिगत गर्न थालेको हो । प्राधिकरणले पछिल्लो केही समयदेखि राजधानीका केही स्थानमा केबल भूमिगतलाई तीब्रता दिएको छ ।

त्यस्तै, इन्टरनेट, टेलिफोन र विद्युतीय तारहरुमा ट्याग लगाउने भनिएको थियो । जुन भनाइमा मात्रै सिमित रहेको सम्बन्धित क्षेत्रका कर्मचारीले बताएका छन् । तारलाई व्यवस्थित गर्ने भनिएको छ तर यसतर्फ दीगो कार्ययोजना बन्न सकेको छैन । दीर्घकालीन योजनाको अभावमा सधैं सर्वसाधारणले सास्ती खेप्नु परेको यथार्थ छ । तार व्यवस्थापनलाई लिएर पटकपटक छलफल गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

त्यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत गणेश अर्यालले तार व्यवस्थापनमा सक्दो कोशिस गरिरहेको बताउनुभयो । उहाँले लत्रेका तारहरुको कारण दुर्घटनाको जोखिम हुने भएकाले यसलाई बाँध्ने काम भएको बताउनुभयो ।

ललितपुर महानगरका प्रहरी प्रमुख सिताराम हाछेथुले झण्डै चार महिना लगाएर लत्रेको तारलाई व्यवस्थित गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले मेयर चिरिबाबु महर्जनको नेतृत्वमा लत्रेको तारलाई व्यवस्थित गरेका छौं । अहिलेलाई तार बाँधिएको मात्रै हो ।’

टिप्पणीहरू