बुद्धलाई चिन्ने को छ विद्वान् ?

दुई दशकअघि ‘मधुपर्क’ साहित्यिक मासिक पत्रिकामा गौतम बुद्धले काखमा एक बालक लिएर बसेको आवरणपृष्ठ छापिएपछि केही बौद्ध धर्मावलम्बी गोरखापत्र संस्थान घेर्न पुगेका थिए । बुद्धले त्यसरी बालबच्चा स्याहारे वा पालेर बसेका कहाँ थिए, राजगृह त्याग गरी बुद्ध बनेका मानिसलाई घरगृहस्थी गर्ने मान्छेजस्तो किन देखाइयो भन्ने तिनको तर्क थियो ।

साहित्यकार घनश्याम राजकर्णिकारले ‘बुद्धको सम्झना–कल्याणको कामना’ (प्र.रिना राजकर्णिकार, २०३९) शीर्षकमा बुद्ध र बौद्धधर्म दर्शनबारे लेखिएका लेखहरूको सँगालो आफ्नो सम्पादकत्वमा प्रकाशनमा ल्याएका थिए । त्यसमा दार्शनिक तथा समालोचक गोविन्द भट्टले ‘बुद्ध–दर्शनका केही प्रगतिशील पक्ष’ शीर्षकमा लेखेको लेख दोस्रो संस्करण ०४७ बाट हटाइयो । कारण थियो, बौद्धधर्ममा आएका विकृतिको पनि आलोचना गरिनु । वैदिक कालको यज्ञ, कर्मकाण्ड आदिका जटिल विधिविधान तथा वेद र ब्राह्मणले रचेका अनेक अमूर्त ब्रह्मा, परलोक, आत्मा, परमात्माजस्त अस्पष्ट र निरर्थक शब्दजालमा मानिस अल्झेर छट्पटाइरहेका बेला बुद्धले हाम्रा दुःख बुझ्न, यसलाई हटाउने उपाय र प्रयासमा लाग्न तथा परलोकभन्दा यसै लोक र आत्मापरमात्माभन्दा आफूलाई नै महत्व दिएको, बौद्धधर्मका अनुयायी भिक्षुहरूमा विलासिता र व्यक्तिवादिता बढेको, अनावश्यक वादविवाद र बौद्धिक जटिलतामा फस्दै आपसी बेमेलमा अल्झेको, औपचारिक विधिविधान र धार्मिक सम्प्रदायवादको भासमा परेको भनी आलोचना गरेका थिए ।

बुद्धलाई महामानवका ठाउँबाट देवताका ठाउँमा राख्न खोज्नाले नै यसमा अनेक किसिमको जटिलता, कृत्रिमता र परलौकिकता आउन थालेको जनाउँदै भट्टले व्यापक नेपाली जनताको सुखदुःखका समस्या र संघर्षबाट बेग्लै बसेर खालि शान्ति वा कल्याणको माला जप्नु आजको सन्दर्भमा अर्थहीन हुने औँल्याएका थिए । ‘अशान्ति, हिंसा र युद्धका काला शक्तिहरू–साम्राज्यवाद, उपनिवेशवाद, फाँसिष्टवाद र अधिनायकवाद अनि सबै किसिमका शोषक वर्गबाट मुक्ति पाउनु नै वास्तविक मुक्ति हो । नेपाली भिक्षुहरूले आजको सन्दर्भमा बुद्धका शिक्षाहरूको सही प्रयोग गर्नेछन् भन्ने नेपाली जनताको आशा छ ।’

हुन पनि हो, बौद्ध भिक्षुहरूले ३६, ४६ र ०६२÷६३का आन्दोलनमा कुनै सक्रियता देखाएनन् । माओवादी जनयुद्धको पराकाष्ठा पुग्दा पनि ती सडकमा ओर्लिएनन् बरु म्यान्मा र अन्य मुलुकमा भिक्षुहरू चीवर वस्त्रमै शान्ति र प्रजातन्त्रका लागि जुलुसमा सहभागी भएको पाइएको थियो । भिक्षु अश्वघोष र आनन्द राष्ट्रियसभा र प्रतिनिधिसभामा मनोनीत भएको केहीलाई चित्त बुझेको थिएन । बौद्ध भिक्षुहरूले पनि परिआएका बेला माला जप्न छाडेर शान्ति र प्रजातन्त्रका पक्षमा बोल्न र सडकमा उत्रिनुपर्ने भावना भट्टको लेखमा छ । भिक्षुहरू पनि यौनकाण्डमा पर्छन् भन्ने कुरा हितकरवीरसिंह कंसाकारको ‘चीवरको मूल्य’कथामा देखाइएको छ ।

राजदरबार छाडेर सन्न्यास लिएका गौतम बुद्धको नाम सत्ता पाउन हिँडेका प्रचण्ड, बाबुराम भट्टराईहरूले बारम्बार लिएर विरोधाभास पनि देखाएका छन् । भट्टराईको पार्टी नयाँ शक्तिले आफ्नो कार्यालयमा आदर्शका रूपमा माक्र्स, बुद्ध, डार्बिन, अल्बर्ट आइन्स्टाइन र म्याक्स प्लाङ्कलाई लिँदै तिनको तस्बिर राखेको छ । बुद्धलाई मान्ने भट्टराईले माओवादी जनयुद्धको बाटो लिएको कुरा पनि विरोधाभाष नै देखिन्छ । कम्युनिष्ट मोदनाथ प्रश्रित पनि नेपालमा बुद्धले जन्म लिएकोमा गर्व गर्दै उनको बाटो सही भएको बताउँछन् । 

हाम्रा राजनीतिक नेता र मन्त्री भने बुद्धको खास दर्शन अनित्य, दुःख र अनात्माबारे व्याख्या गर्न नसकी उनले शान्तिका लागि योगदान दिएको भन्दै त्यसैमा लाग्न जनताका अगाडि भाषण गर्छन् । न तिनले हेतुफल, कार्यकारण वा प्रतीत्यसमुत्पाद सिद्धान्तको कुरा गरे न पञ्चशील र अष्टशीलको नै । खालि शान्तिको कुरा गरेर जोगमेहरले पञ्चायतकालमा गीताको व्याख्या गरेजस्तै कुरा गर्छन् । विश्व कीर्तिमानी प्रतिष्ठानजस्ता संस्था पनि नेपाल बुद्ध जन्मेको देश भन्नसक्ने भन्दा सिद्धान्तको व्याख्या गर्नसक्ने हैसियतका हुँदै होइनन् । सुन्दै जानोस्, यस वर्षको बुद्धजयन्तीमा पनि तिनले बुद्धको जन्म नेपालमा भएको र उनको शान्तिको मार्गमा सबै लाग्नुपर्ने भाषणबाहेक केही गरेनन् । तृष्णा नै दुःखको मूल कारण हो भन्ने कुरा बुझ्न राजनीतिक व्यक्ति होइन, बौद्ध साहित्य नै पढ्नुपर्छ ।

टिप्पणीहरू