​आफैँभित्रबाट आपत

पर्दापछाडिबाट मधेसी र माओवादीलगायत दललाई एमालेबाट अलग्याउने र फेरि मुलुकमा अस्थिरता निम्त्याउने खेल त भइरहेको छैन ? प्रधानमन्त्री जिताउन मतदान गर्न आएका मधेसी र एकीकरणको तयारीमा रहेका माओवादीका सांसद नै संसद् बैठकमा गैरसंसदीय शब्द प्रयोग गर्दै प्रधानमन्त्री ओलीलाई सत्तोसराप गर्छन् । प्रसंग हो, प्रदेश २ को । त्यहाँ अस्ति चलेको संसद् बैठकमा माओवादी सांसद जगत यादव र राजपा सांसद मनीष सुमन प्रधानमन्त्री ओलीविरुद्ध धाराप्रवाह खनिए । जगतले ‘केपी ओलीलाई संघीयताविरोधी’को आरोप मात्र लगाएनन् । ओली मधेसविरोधी भएको र ओलीको बोली मधेसीका लागि गोलीझैं भएको मन्तव्य व्यक्त गरे । यादव पछाडि विशेष समय लिएर बोल्दै थिए राजपा महासचिव मनीष सुमन । उनी पनि जगतझैं प्रधानमन्त्रीकै विरुद्ध धाराप्रवाह खनिए । 

‘अघिल्लो पटकको निर्वाचनमा एमालेको घोषणापत्रमा संघीयताको कुनै विषय उल्लेख नभएको, प्रदेश सभास्थल निर्माणका लागि मात्र करोडौं खर्च लाग्ने बताएका कारण प्रम ओली संघीयताविरोधी भएको दलिल पेश गरे । प्रम ओली  संघीयता र मधेसविरोधी भएको र संघीयता नै धरापमा पर्न लागेको टिप्पणी गरे । एमाले सांसद तथा पूर्वखेलकुदमन्त्री सत्यनारायण मण्डल बीचमै उठेर नियमापत्ति जनाए । उनले नियमापत्ति जनाइरहँदासमेत मनीष बोल्न रोकिएनन् । थपे, ‘राजनीतिमा लागेपछि गाली पनि खानुपर्छ, ताली पनि पाइन्छ । यस्ता कुरा चित्त बुझ्दैन भने राजनीति त्याग्नुहोस्, मन्दिरको पुजारी बन्नुहोस् । पण्डित र पुजारी बन्नुभयो भने यस्तो गाली खान पर्दैन ।’

यो बीचमा पूर्वमन्त्री मण्डल उठिरहे । पटक–पटक नियमापत्ति जनाइरहे । संघीयता र गणतन्त्र संस्थागत गर्न लडेका नेतालाई गैरसंसदीय शब्द प्रयोग गरेर बोल्न नमिल्ने र मनीष सुमनले बोलेका सबै शब्द रेकर्डबाट  हटाउन सभामुख सरोजकुमार यादवसँग पटक–पटक आग्रह गरे । अन्ततः सांसद मण्डलकै आग्रहबमोजिम त्यहाँको रेकर्ड हटाइएको छ । यो विषयमा मंगलबार अपराह्न त्यहाँका सांसद सत्यनारायण मण्डलसँग जिज्ञासा राख्दा ‘ संसद्भित्रैबाट प्रमलाई अपशब्द प्रयोग गरी गाली गर्नु र जयकृष्ण गोइतको जयजयकार गर्ने गैरसंसदीय चरित्र आफूले कुनै हालतमा सहन नसक्ने’ प्रतिक्रिया दिए ।  

टिप्पणीहरू