असल-अस्वस्थ खसी बोका कसरी चिन्ने,कहाँ किन्ने ?

असल-अस्वस्थ खसी बोका कसरी चिन्ने,कहाँ किन्ने ?

काठमाडौँमा आजदेखि खसीबोका भित्रिने भएका छन् । दशैंमा अत्यधिक मासु खपत हुने भएकाले ५० हजार खसीबोका काठमाडौँ ल्याइने भएको हो ।हरेक साल दशैँलाई लक्षित गरेर ५० देखि ६० हजारसम्म खसीबोका उपत्यका भित्र्याइने गरेको छ । जसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्यमा खसीबोका बिक्री गर्दछ । यो वर्ष लिमिटेडले दुई हजारको हाराहारीमा खसीबोका बिक्री गर्ने तयारी छ ।

उपत्यकाका लागि मकवानपुर, चितवन र विभिन्न पहाडी जिल्लाबाट खसीबोका आयात गरिन्छ । त्यस्तै,भेडा च्याङ्ग्रा भने तिब्बतलगायत हिमाली भेगबाट आयात गरिन्छ । बाहिरबाट लामो यात्रा तय गरेर आएका खसीबोका ल्याउँदा ल्याउँदै बिरामी हुने गर्दछन् ।

दशैमा अधिकांशले आफ्नै घरमा ल्याएर खसीबोका काट्ने चलन छ । तर,स्वस्थ खसीबोकाको पहिचान गर्न नसक्दा यसबाट विभिन्न रोग लाग्न सक्ने खतरा रहन्छ । स्वस्थ खसीबोका पहिचान गर्न कठिनाइ नहोस् भनेर आजदेखि काठ्माडौं महानगरपालिकाले पशु सेवा विभाग र बागमती प्रदेशको भेटेनरी अस्पतालसंग सहकार्यमार्फत परीक्षण शुरु गरेको छ ।

चौपायाहरु स्वस्थ छन् कि छैनन् भनेर पशु सेवा विभागले प्राविधिकहरुको सहयोगबाट चौपायाको सिंगमा रंग लगाउने गरेको छ । चौपायाहरुको स्वास्थ्य अवस्था हेरेर खानयोग्य खसीबोकाको सिंगमा हरियो र खान अयोग्य भएको खसीबोकाको सिंगमा रातो रंग लगाउने कार्यको थालनी भएको छ ।

चौपायाको शारीरिक लक्षण हेरेर पनि तिनको स्वास्थ्य अवस्था पत्ता लगाउन सकिने बताइएको छ ।

पशु चिकित्सकहरुका अनुसार झोक्राएर बसेका,रसिला आँखा भएका,नाकबाट सिँगान बगेका र मुखबाट प्याल चुहाइरहेको चौपाया खरिद गर्नु हुँदैन । सिंगान नबगेका, प्याल नचुहिएका,आँखाबाट कचेरा ननिस्किएका,खुट्टाहरु नसुन्निएका र भुँडी नढाडिएको खसीबोका स्वस्थ हुने पशु चिकित्सकको भनाइ छ ।

टिप्पणीहरू