निर्देशन दिएर घट्छ भीड ? हट्छ कोरोना ?

निर्देशन दिएर घट्छ भीड ? हट्छ कोरोना ?

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण घटे पनि पूरै नियन्त्रणमा आइसकेको छैन । अहिले पनि दैनिक एक हजारको हाराहारीमा संक्रमित थपिईरहेका छन् भने मृत्यु हुनेको संख्या शून्यमा झरेको छैन । संक्रमणको जोखिम कायमै रहे पनि शहरका गल्ली,चोक, सार्वजनिक यातायात,फुटपाथ, व्यवसायिक स्थल आदिमा भीडभाड झनझन बढिरहेको छ ।

दशैँ,तिहारजस्ता चाडपर्व नजिकिएसँगै किनमेल गर्नेहरुको भीड बढ्दो छ । केही दिनयता उपत्यकाका असन–इन्द्रचोक, न्यूरोड,सुन्धारा,ठमेल,रत्नपार्क, भृकुटीमण्डप,सूर्यविनायक, लगनखेल,जावलाखेललगायतका मुख्य बजारमा दशैँका लागि सामान किन्नेहरु खचाखच देखिन थालेको छ । तर,भीडले स्वास्थ्य सुरक्षाको न्युनतम मापदण्डको समेत पालना गरेको देखिंदैन ।

त्यसो त,सरकारले कोभिड–१९ महामारीका वीचमा चाडपर्व र उत्सवहरू मनाउँदा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आव्हान गरेपनि कार्यान्वयन प्रभावकारी नहुँदा भीडभाड रोकिएको छैन, बरु बढेको छ । यसले संक्रमणको जोखिम थप बढेर जाने जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् ।

यता,कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले नयाँ आदेश जारी गरेको छ । आदेशमा संक्रमण कायमै रहेकाले अनावश्यक रुपमा घर बाहिर निस्कने,जम्मा हुने,भीडभाड गर्ने, सभा जुलुस गर्ने,जात्रा महोत्सव र भोज गर्नेजस्ता क्रियाकलाप नगर्न भनिएको छ । चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै न्यूनतम सहभागितामा सांकेतिक रुपमा घरभित्रै पर्व मनाउन प्रशासन कार्यालयको आदेशमा भनिएको छ ।

बजारमा मात्रै होइन,सार्वजनिक यातायातमा पनि त्यस्तै भीड बढेको देखिन्छ । ढोकैसम्म यात्रु झुन्डिएको देख्दादेख्दै पनि ट्राफिक प्रहरी मस्त मोबाइल चलाइरहेका हुन्छन् । यात्रुहरुले मास्कसमेत लगाएका हुँदैनन् । चालक र सहचालकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दैनन् ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक यातायात संचालनका लागि पनि नयाँ आदेश जारी गरेको छ । सिट क्षमताभन्दा बढी यात्रु नराख्न,यात्रुले अनिवार्य मास्क प्रयोग गर्न,मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिन,चालक र सहचालकले अनिवार्य मास्क र भाइजर र पन्जा लगाउन कार्यालयले आदेश गरेको छ । तर, प्रशासनको आदेश पालना भएको छैन ।

सभा,गोष्ठी र बैठक सञ्चालनको हकमा पनि नयाँ आदेश छ । तर, राजनीतिक दलकै सभा,गोष्ठीमा त्यसको पालना भएको देखिदैन । हालै सम्पन्न एमालेको विधान महाधिवेशनमा समेत नेताहरुले नै स्वास्थ्य मापदण्डको उल्लङ्घन गरेको देखियो ।

सरकारले पचास प्रतिशत मात्र सेवाग्राही राखेर सञ्चालन गर्न छुट दिएको रात्रिकालीन व्यवसाय मापदण्ड विपरित निर्वाध चलिरहेका छन् । डान्स बार, दोहोरी साँझजस्ता रात्रिकालीन व्यवसायलाई निर्वाध संचालन गर्न दिएर कोरोना संक्रमणको कारखाना जस्तै बनाइएको छ ।

हालमात्रै ठमेलमा रहेको एक डान्सबारमा निकै भीड देखिएको थियो । कोरोना जोखिमका बीच ठमेलको भगवतीस्थानमा रहेको एलओडी बारमा देखिएको भीड डरलाग्दो थियो । मुखमा मास्क नलगाएका हजारौँ ग्राहकहरु त्यहाँ देखिन्थे । सामाजिक दूरीको पालना भएको थिएन ।

जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्ने तर अनुगमनमा चासो नदिँदा यस्ता भीडभाड बढेको सरोकारवालाहरुको गुनासो छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने अनुगमन नभएको भन्ने कुरा सत्य नभएको बताएका छन् । यसबारे जनआस्थाले गरेको प्रश्नमा उनले ‘म अनुगमन गर्न लगाउँछु’ भन्ने जवाफ दिएका छन् । ‘मैले प्रहरीलाई निर्देशन दिएको छु’ सिडिओ रिजालले भने ।

टिप्पणीहरू