​प्रधानमन्त्रीपत्नी यसर्थ पराजित

७ नम्बर प्रदेशमा प्रतिनिधिसभाका १६ सिटमध्ये वाम गठबन्धनले १४ क्षेत्र जितेको छ  । एमालेले १० र माओवादीले ३ अनि कांग्रेसले १ र राजपाले १ सिट  । समानुपातिक पनि एमाले–कांग्रेस ८/८, माओवादी ४ र राजपाले १ सिट पाउने स्थिति छ  । एमालेले १/१ क्षेत्र रहेका बाजुरा, बझाब, बैतडी, दार्चुला, डोटी जितेको छ  । यस्तै गरेर कञ्चनपुरका तीन वटै, अछामका दुई वटै र कैलालीमा पाँचमध्ये दुई सिट हात पारेको छ  । माओवादीले पनि कैलालीमा दुई वटै क्षेत्र जितेको छ भने कञ्चनपुरबाट प्रचण्डकी बुहारी बीना मगरले जितेकी छन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेलधुरामा जितेर साख जोगाएका छन् । माओवादी नेता–कार्यकर्ता नै कांग्रेस प्रवेश गरेपछि त्यहाँका माओवादी उम्मेदवार खगराज भट्टले तेस्रो पटक हार व्यहोरेका हुन् । 

सात नम्बरमा सबैभन्दा कम मतले रमेश लेखक पराजित भएका छन् । कञ्चनपुर– ३ बाट एमालेका डा. दीपकप्रकाश भट्टले २ सय ५९ मतले उनलाई हराएका हुन् । यस्तै, कैलाली १ मा टीकापुर घटनाका प्रमुख आरोपी रेशम चौधरीले २१ हजार मतान्तरमा जितेका छन् । वारेसमार्फत उम्मेदवारी दिएका उनले वारेसबाटै प्रमाणपत्र लिने प्रयास गरेका थिए  । तर, सर्वाेच्च अदालतले त्यो बाटो रोकेको छ  । प्रदेशमा वाम गठबन्धनको प्रत्यक्षबाटै प्रदेश सरकार बन्ने गरी ३२ मा २७ सिट आएको छ  । प्रत्यक्षका ३२ सिटमा एमालेले १७ र माओवादीले १० सिट जितेको छ  । समानुपातिक जोड्दा एमालेको २५ र माओवादीको १४ सिट हुन्छ  । समानुपातिकसहित ५३ जनाको संसद्मा सरकार बनाउन २७ सिट आवश्यक हुन्छ एमालेले एक्लै सरकार बनाउन २ सिट कम भएको छ  । यस्तै, प्रत्यक्षमा ४ सिट जितेको कांग्रेसले समानुपातिकसहित १२ सिट पाएर तेस्रो भएको छ भने १ सिट जितेको राजपाले समानुपातिकमा पनि १ सिट पाएको छ  । किन हारिन् आरजुले ?

बहुचर्चित कैलाली–५ बाट प्रधानमन्त्री शेरबहादुर देउवापत्नी चार हजार आठ सय ८० मतले पराजित भएकी छन् । एमालेका वैकल्पिक केन्द्रीय सदस्य नारदमुनि रानासँग हारेकी राणाले २२ हजार ३ सय २२ मत पाएकी थिइन् भने रानाले २७ हजार २ सय २ मत ल्याएका हुन् । आरजुले पत्रकार सम्मेलन गर्दै कांग्रेसभित्रको असन्तुष्टि समाधान गर्न नसक्दा हारेको बताएकी छन् । उनले विगतमा एमाले र कांग्रेसका नेतालाई देउवाले भनेर मन्त्री बनाउने गरेको भाषण गर्दै आएकोमा चुनाव हारेपछिको पत्रकार सम्मेलनमा पनि नारदमुनिलाई मन्त्री बनाउन प्रयास गरिदिने बताइन् । उनले धनगढी आएर व्यापारी गोपाल हमाल पत्नीको नाममा रहेको घर चार करोडको किनेर स्थानीय भएँ भन्ने देखाउन खोज्नु, चुनावकै केही दिनअघि माओवादीबाट धनगढीको मेयर उठेका रामसमझ रानालाई पार्टी प्रवेश गराउनु पनि हारको कारण मानिएको छ  । रामसमझलाई पैसामा बिकेको र राना जातिको बेइज्जत गरेको भन्दै गाउँमै पस्न दिएनन् । उनी चुनावभर लुकेर बसेका थिए  । 

रानाहरूले कुटपिट गर्न पनि खोजेका हुन् तर वाम गठबन्धनका नेताले त्यस्तो गर्न दिएनन् । अर्कोतर्फ धनगढी नगरको चुनावमा स्वतन्त्र उम्मेदवार रहेका गोपाल हमालको घर किन्यो भन्दै कांग्रेस पनि आक्रोशित थिए  । आरजुले चुनाव जित्न युवा, महिला, विद्यार्थी र पत्रकारको भातभान्छाका बिबिसी नेपाली सेवाका उमिद बागचन्द र कान्तिपुर टिभीका टेकराज जोशीलाई परिचालन गरेको चर्चा छ  । तर, त्यो रकम सदुपयोग नभएको आरोप लाग्न थालेको छ भने मौन अवधिका बेला गदरियामा सल, धोती र सारी बाँडिए पनि भोट एमाले र राजपाका लक्ष्मण चौधरीलाई गएको छ  । आरजु घरदैलोमा नगएको, भेट्न आएकालाई पनि घण्टांै कुराएको, कतिसँग भेट्नै नमानेको चर्चा छ  । सोमबार राति भएको अगुवा कार्यकर्ता भेलामा भने निवर्तमान सांसद पुष्करनाथ ओझाको खुला असहयोगका कारण चुनाव हार्नुपरेको निष्कर्ष निकालिएको छ  । आरजु हराऊ भन्ने पर्चा पनि पुष्करले नै निकाल्न लगाएको आरोप छ  । पुष्कर ०५६ मा सांसद जितेर सञ्चार राज्यमन्त्री भएका थिए भने ०७० मा देउवाले छाडेपछिको उपचुनाव जितेका थिए  । 

रेशम जितका कथा 
टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीले चुनाव जित्नका विभिन्न कारण छन् । उनले आफू थारूकै लागि लड्दा लुकेर बस्नुपरेको भन्दै रोएर बनाएको भिडियो एलसीडी प्रोजेक्टरबाट गाउँगाउँमा देखाइएको थियो भने भारतको तिकुनियामा भलमन्सा र बुद्धिजीवीको भेला गराएको, भेलामा आउनेलाई नगद र मिठाई बाँडेको बताइन्छ  । यस्तै, गाउँ–गाउँका युवायुवतीलाई राम्रा–राम्रा मोबाइल पठाइएको थियो । आफ्नाविरुद्ध रहेका थारू बस्तीमा फोन गरेर असहयोग गर्नेलाई भारतबाटै बम हानेर बस्ती उडाउनेजस्ता हावादारी धम्की पनि दिइएको आरोप छ  । १ नम्बर क्षेत्रकै प्रदेश १ बाट एमाले उम्मेदवार बनेका बुबा लालवीर चौधरीले सम्पूर्ण सूचना उनलाई दिने गरेका थिए  । सो प्रदेशबाट पनि राजपाले जितेको छ भने लालवीरले तेस्रो मत पाएका छन् ।

झण्डै ६२ हजार मत खसेको १ नम्बर क्षेत्रमा आधाजसो थारू मत रहेको अनुमान छ  । १० प्रतिशतजति अरू उम्मेदवारलाई गएकाले उनले थारूबाट २० हजारसम्म मत पाएको अनुमान छ  । एमालेकी गरिमा साह र कांग्रेसकी ईश्वरी न्यौपाने हारुन् भन्ने मानसिकताका एमाले, माओवादी र कांग्रेसको भोट पनि उनलाई गएको अनुमान छ  । वान्टेड रेशमले वारेसमार्फत उम्मेदवारी हाल्दा गरिमा र ईश्वरीले उनको उम्मेदवारी खारेजीको प्रयास किन गरेनन्? भन्ने विषय पनि अहिले चर्चामा छ  । अघिल्लो दुईवटा संविधानसभा चुनावमा रेशमको धरौटी जफत भएको थियो ।

टिप्पणीहरू