लोभ्याउँदै चुनावी लहर

उम्मेदवारी दर्ताअघि नै काभ्रेका प्रस्तावित उम्मेदवार मतदातालाई प्रभावित पार्न उधारो योजना घोषणा गर्दै छन् । असोज २८ गते मध्यरातमा म्याद सकिएर पुनः उम्मेदवारको सूचीमा सिफारिस भएका निवर्तमान सांसदले उम्मेदवारीको अन्तिम निर्णय नहुँदै आचारसंहिताविपरीत योजनाका नाममा पैसा वितरण गर्न थालेका छन् । 
 
कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार निवर्तमान सांसद तीर्थ लामाले जिल्ला समन्वय समितिमा असोज २८ गतेभित्र पेस गरिसक्नुपर्ने निर्वाचन क्षेत्र विकास र पूर्वाधार विकास दुवै कार्यक्रममा योजना छनोट नगरी निर्वाचनलाई केन्द्रित गरी योजना वितरण गरेका हुन् । पनौतीको मल्पी ब्वाइज युनियनलाई उनले इ–लाइब्रेरीका लागि ५० हजार रुपैयाँ दिने घोषणा गरे । लामाले साविकको क्षेत्र नम्बर १ का सबै गाविस र पछि विस्तारित क्षेत्रमा साढे ३ करोड रकमका योजना खल्तीमा राखेर अवस्था हेरी घोषणा गर्न थालेका छन् । 
 
अर्का उम्मेदवार एवं कांग्रेस क्षेत्रीय सभापति, निवर्तमान सांसद कञ्चनचन्द्र बादेले पनि योजनामा रकम वितरण गर्न थालेका छन् । बनेपाबाट सिनागाल जाने पुण्यमाता खोलाका लागि १० लाख रकम बोलेका बादेले बनेपामै रहेको टुकम्पो मन्दिरका लागि ५ लाख रकम कबोल गरेका छन् । व्यक्तिगत रकम विनियोजन गर्ने गरी बादे र लामाले योजना खल्तीमार्फत वितरण गरिरहेका छन् । दुवै जना आगामी निर्वाचनका उम्मेदवार हुन् । उनीहरूलाई आचारसंहिता लाग्ने कि नलाग्ने ? भन्ने विषयमा कार्यकर्ता र दलले आवाज उठाएका छन् । ‘देशव्यापी ६ सय १ सांसदले यसरी नै रकम वितरण गर्ने हो भने निर्वाचन कसरी स्वच्छ बनाउन सकिन्छ ?’ नागरिक समाजका एक अगुवाले भने ।
 
दोस्रो चरणको उम्मेदवारी दर्ता कात्तिक १६ गते बिहीबार तय भएको छ । प्रदेश ३ का १३ मध्ये ६ वटा जिल्लामा पहिलो चरणमा उम्मेदवारी दर्ता भइसकेको छ । आव ०७४÷७५ मा खर्च गर्ने गरी निवर्तमान सांसदले योजना बाँडफाँट गरिसकेका छन् । उम्मेदवारको सूची अन्तिम भइनसकेका कारण निवर्तमान सांसदहरूले निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गतको बजेट बाँडफाँट गर्न सकिरहेका छैनन् । प्रत्यक्ष तर्फबाट विजयी भएका कांग्रेस क्षेत्रीय सभापति तीर्थ लामा र कञ्चनचन्द्र बादेले असोज मसान्तभित्र पेस गरिसक्नुपर्ने योजनाको सूची अझै नबुझाएका हुन् । प्रत्यक्षतर्फका सांसदद्वय रामहरि र विदुरले ५० लाख रकममध्येको निर्वाचन क्षेत्र विकास कोषअन्तर्गतका योजना पेस गरिसकेका छन् भने समानुपातिकतर्फका कमला दोङ, श्याम श्रेष्ठ र उद्योग राज्यमन्त्री रहेका निवर्तमान सांसद रेशम लामाले समेत योजना पेस गरिसकेका छन् । प्रत्यक्षतर्फका सांसदमार्फत विनियोजन हुने ३ करोड बराबरका योजना भने टुंगो लागिसकेको छैन । सांसद विदुर सापकोटाले प्रस्तावित योजना भनेर पेस गरेका छन् । 
 
३ करोडका योजना छनोट गर्न निर्वाचन क्षेत्रमा ५१ प्रतिशत रकम विनियोजन गर्ने समानुपातिक सांसद अनिवार्य रूपमा सदस्य बन्नेछन् । तीर्थको क्षेत्रमा माओवादी केन्द्रका सांसदद्वय श्याम श्रेष्ठ र कमला दोङले ५१ प्रतिशत रकम विनियोजन गरेका छन् भने सांसद सुवेदीको क्षेत्रमा रेशम लामाले ५१ प्रतिशत रकम विनियोजन गरेका छन् । त्यस्तै, सांसद कञ्चनचन्द्र बादेको क्षेत्रमा एमालेका केशव बडालले ५१ प्रतिशत रकमका योजना छनोट गरेका छन् । क्षेत्र नम्बर ४ मा भने कुनै पनि सांसदले ५१ प्रतिशतका योजना छनोट गरेका छैनन् । त्यही कारण सांसद विदुर सापकोटाले एकलौटी योजना छनोट गरी पठाइसकेका छन् । पार्टीबाट टिकट लिएर निर्वाचित सांसदले एकलौटी योजना छनोट गरेको विषयलाई पटक–पटक इस्यु बन्ने गरे पनि पार्टीले कडाइसाथ कार्यान्वयन गर्न नसकेको गुनासो आमकार्यकर्ताको छ । कांग्रेसका तीर्थ प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट पार्टी एकीकरणअघि नै सर्वसम्मत उम्मेदवार भए पनि फोरमबाट आएका गणेश लामाले समेत दाबी गरेपछि द्विविधामा थिए । उनले विनियोजन गर्ने योजना आगामी चुनावी नारा बनाउने योजना बनाएका छन् ।

सोही कारण लामा र बादेले योजना छनोट नगरेका हुन् । ५० लाखसम्मका योजनाको छनोट असोज मसान्तभित्रै गरिसक्नुपर्ने थियो । त्यहीबेला असोज २८ गते सांसद निवर्तमान भएपछि योजना छनोटलाई आगामी निर्वाचन केन्द्रित गरेका छन् । एमालेका दुवै सांसद प्रत्यक्षका उम्मेदवार भएनन् भने कांग्रेसका दुवै सांसद पुनः उम्मेदवार बन्ने रस्साकस्सीमा छन् । बादे प्रतिनिधिसभा २ अर्थात् सोही निर्वाचन क्षेत्रको प्रदेश ‘ख’ बाट उम्मेदवार बन्नेछन् । ५० लाखसम्मका योजनासमेत दुई सांसदले पेस नगरेपछि जिल्ला समन्वय समिति अन्योलमा परेको छ । पेस गरेका योजना पनि कार्यकर्तानिकट छन् । 
 

– मोतीराम तिमल्सिना

टिप्पणीहरू