​‘जे छ चलेकै छ’

खोजीको विषय छ, प्रधानमन्त्री शेरबहादुर देउवाको छाती एकाएक ‘चौडा’ भयो वा उनलाई सल्लाह दिने ठाउँमा नियुक्ति पाएका र सरकारी तलब खाने ज्ञानचन्द्र आचार्य, डा. दिनेशचन्द्र भट्टराईदेखि प्रेस हेर्ने गोविन्द परियार, ओमबहादुर राई, केशवप्रसाद जोशी, वीरेन्द्रकुमार थापाहरू पनि हुस्सु भए ? 

३१ असोजमा माओवादीका १७ मन्त्री र राज्यमन्त्रीलाई विनाविभागीय बनाएर जिम्मेवारी हेरफेर गर्दा एक जनालाई अझैसम्म पनि भूमिका दिएर राख्नुको पछाडि कुन फ्याक्टरले काम गरिरहेको छ ? यो होस्ल्यांगेपनको अर्काे उदाहरण हो कि होइन ? 

प्रसंग हो वातावरण मन्त्रीको । उनी कांग्रेस–माओवादी गठजोडबाट बनेको सरकारमा जनसंख्या तथा वातावरणमन्त्रीको जिम्मेवारीमा छिन् । र, त्यहाँ नेकपा संयुक्तको कोटाबाट पुगेकी हुन् । जबकि ७ पदाधिकारी, १८ पोलिटब्युरो र ६१ केन्द्रीय सदस्य रहेको नेकपा संयुक्त पार्टी असोज २५ गते नै माओवादी पार्टीमा विलय भइसकेको हो । यसको सिधा अर्थ मिथिला चौधरी अब नेकपा संयुक्तको रहिनन्, माओवादी बनिसकिन् । त्यसको ६ दिनपछाडि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरूलाई जिम्मेवारविहीन बनाएर रेकर्ड राख्दा मिथिलालाई मन्त्री चिनेनन् र उनी बिनाविभागीय हुनबाट जोगिइन् ।

मंगलबार बिहान जनआस्थाले तत्कालीन नेकपा संयुक्तका अध्यक्ष तथा पूर्व विज्ञानमन्त्री गणेश साहसँग यसबारे जिज्ञाशा राख्दा उनले हाँस्दै जवाफ फर्काए, ‘राजनीतिक रूपमा हामी माओवादी बनिसकेका हौं । सम्भवतः यसमा प्रधानमन्त्रीज्यूको नजर नपुगेरै होला ।’ थपे, ‘हामीले केही एक्सन लिएका छैनौं, जे छ चलिरहेकै छ ।’

टिप्पणीहरू