​सम्मान गर्न सिके पो हुन्छ

स्थानीय तह तेस्रो चरणको चुनाव अपेक्षाकृत शान्त वातावरणमा सम्पन्न हुने देखिएको छ । सरकारको चाहनाअनुसार मंसिर १० र २१ गते गरी दुई चरणमा एकै साथ प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गर्ने तयारीमा लागेको निर्वाचन आयोगले निर्वाचन तालिका पनि सार्वजनिक गरिसकेको छ । यसरी हेर्दा प्राविधिक रूपमा अब मुलुक संक्रमणकालबाट मुक्त हुँदै छ  तर यसबीच जसरी राजनीतिक दलबीच धु्रवीकरण बढ्यो र अंकगणितलाई प्राथमिकतामा राखेर प्रमुख दल सत्ताकेन्द्रित बने यसले एउटा नराम्रो परिपाटी विकास गरेको छ ।

कांग्रेस र माओवादीबीच दीर्घकालीन गठबन्धन बनाउनेसम्मको तयारी हुनु, महत्वपूर्ण विषयमा प्रमुख प्रतिपक्षीलाई बेवास्ता गर्ने वा साक्षीमात्र राख्ने प्रवृत्ति विकास हुनुलाई राजनीतिक विश्लेषकले त्यति राम्रो मानेका छैनन् । नत अहिले नै नेपालको राजनीति र लोकतन्त्र राष्ट्रिय सहमतिलाई पूरै बेवास्ता गर्दै अल्पमत र बहुमतका आधारमा गरिएका निर्णयहरुलाई मात्र कार्यान्वयनमा गेर टिक्न र आफूलाई उन्नत पार्न सक्षम देखिन्छ । हुन त यसबीच, जनमतले कस्तो दिशामा मुलुकलाई अघि बढाउने हो त्यो अहिले नै आकलन गर्न गाह्रो छ तर प्रदेश नम्बर २ मा एमालेलाई जुन सकस पर्छ स्थानीय तहको निर्वाचनमा जान भन्ने अनुमान थियो त्यो देखिएन ।

बरु, अत्यन्तै सहज ढंगले अन्य दललाई ठूलो चुनौती बन्दै एमलोले आफ्नो चुनावी अभियान त्यहाँ सञ्चालन गरिरहेको देखिन्छ । उता, मधेसका मुद्दालाई आफूले सधैं साथ दिएका कारण आफ्नो पक्षमा जनमत तयार भएको दाबी गर्दै आएको माओवादीले सोचेजस्तो अवस्था नरहेको विश्लेषण एकातिर छ भने मधेसवादी दलको एकताबाट निर्माण भएको राजपाले नेपाली कांग्रेसले आशा गरेका धेरै ठाउँमा विजय हासिल गर्ने अनुमान गर्न थालिएको छ । चुनावको पूर्वसन्ध्यामा सार्वजनिक भएका अनुमान, विश्लेषण र आकलन कुन मात्रामा सही सावित हुन्छन् त्यो त असोज २ पछि थाहा भइहाल्छ । तर, अहिले के भन्नचाहिँ आपत्ति रहेन भने मधेशमा एमालेको प्रवेश सहज र सामान्य वातावरणमा भयो र यो त्यो पार्टीका लागि अत्यन्तै महत्वपूर्ण र हौसला बढाउने कुरा हो । 

अब केचाहिँ विश्वासस्त पार्न सकिन्छ भने नेपाली जनताले हाम्रा राजनीतिक दल, तिनका शीर्ष नेताका आगामी कदमबारे सहज रूपमा अनुमान लगाउन सक्ने अवस्था छ । यसो हुँदा मुलुकलाई समृद्धि र विकासको बाटोमा अगाडि बढाउन, बाह्य हस्तक्षेप र पराधिनताबाट पूर्ण रूपमा मुक्त राख्न, राष्ट्र, राष्ट्रियता र स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याउन र जनजीविकाको विषयमा सोच्न र चिन्तन गर्न राजनीतिक दललाई बाध्य पार्ने विधि र प्रक्रियाबारे पनि नेपाली जनता सचेत छन् । यसैले मुलुकको राज्यसत्ताको बागडोर सम्हाल्ने दाबी गर्ने हरेक दलले जनभावनाको कदर गर्न र सोहीअनुरुप लोकप्रिय बन्न सक्नुपर्छ । नत्र चुनाव नामक जनादेश सर्वमान्य विधिाट हुने सजाय निर्मम हुने पक्का छ । 

टिप्पणीहरू