भीमसेन थापा जन्माउन तयार छौ आमा ?

आफूलाई अलौकिक जन्तुका रूपमा परिभाषित गर्दै आएको ‘नीलो स्याल’ साँझ कराएजस्तै भयो प्रधानमन्त्री शेरबहादुर देउवाको दिल्ली भ्रमणमा आएका अभिव्यक्ति । जनताको हित रक्षार्थ कुरा राख्ने, कदम चाल्ने र आफ्ना माग र अडान प्रष्ट पार्ने आधारभूत मान्यतामा प्रधानमन्त्री कति अडिए– अडिएनन् ? त्यसबारे थप चर्चाको जरुरी छैन । तर, नेपालले राजनीतिक रूपमा आमूल परिवर्तन गरेको छ ।

आफूलाई वैज्ञानिक शासन प्रणालीमा ढाल्दै गएको छ । र, नयाँ युगको मागलाई संबोधन गर्ने संरचना स्थापित हुँदै गएको छ भन्ने कुरा मान्ने वा नमान्ने विषयमा छलफलको खाँचो परेको छ । हामी कति सार्वभौम हौं, या स्वतन्त्र छौं भन्ने भ्रमको निवारण यो भ्रमणपछि गरिनु आवश्यक छ । नेपालको राजनीतिमा पराइको हस्तक्षेप आमन्त्रित हो वा उनीहरूकै इच्छाको परिणाम हो भन्नेमा शंका गरिरहनु आवश्यक छैन । दिल्ली भ्रमणले गराएका धेरै प्रश्नको जवाफ समय सन्दर्भले देला नै तर अब पनि हामी स्वविवेकले चल्ने वा नचल्ने भन्ने कुरा अहं बनेको छ ।

भारतीय पक्षको निरपेक्ष आलोचक वा समर्थक बन्ने कुरा घात हुन्छ । यो कुरा जबसम्म हाम्रा नेताले स्पष्टसँग बुझ्दैनन् तबसम्म हामी के र कस्तो अवस्थामा कहिले पुग्छौं भन्न गाह्रो छ । हाम्रा कतिपय कमजोरी, बाध्यता होलान् तर तिनलाई राष्ट्रहितमा कसरी लुकाउने र छिमेकीसम्म हाम्रा सूचना पुग्नबाट रोक्ने भन्ने कुरामा चनाखो रहनुपर्ने बेला जब राजनीतिक नेतृत्वले नै आफ्ना आन्द्राभुँडी छरपष्ट पार्नुमा बहादुरी ठान्छ तब संकट उत्पन्न हुनु स्वाभाविक हो । सामाजिक हिसाबले हेर्दा के कुरा अस्वीकार गर्न सकिँदैन भने छिमेकीको बारीको काँक्रो हात पार्ने सबैभन्दा सजिलो विधि नै त्यो घरका सासू–बुहारीबीच झगडा लगाउनु हो । तर, हाम्रा नेताले यो बुझेनन्, बुझ्न सकेको देखिएन । इतिहास साक्षी छ, नेपालीहरु परचक्रीका एजेन्टलाई आफ्ना नेता मान्न सधैं तयार रहँदैनन् ।

राणा शासन अन्त्यका लागि लडेका जनताले स्वतन्त्रताको अर्थ राम्रोसँग बुझेका छन् । कुनै कालखण्डमा बरु सेरिएर मर्न तयार हुने तर साम्राज्यवादको दास नबन्ने प्रधानमन्त्री देखेको मुलुक हो नेपाल । भीमसेन थापाको त्यो अनुहार बालुवाटारमा सुत्ने र सिंहदरबारबाट कार्यालय सञ्चालन गर्ने जो–कोहीमा खोजिरहेका जनताले यदि यस्तै हो भने अन्यथा निर्णय गर्नुपर्ने हुन्छ । नेपालका प्रधानमन्त्रीले आफ्नो झण्डा सधँै सम्झिरहुन् । नेपालको संसद्ले गरेको निर्णयलाई सर्वमान्य हो भन्ने बुझुन् ।

टिप्पणीहरू