पिण्ड चढाउने ज्ञानेन्द्रको पालो

पूर्वराजा ज्ञानेन्द्र सोह्रश्राद्धको तिथिअगावै १६ गते शुक्रबार बैंककबाट फर्किंदैछन् । अब तिहारसम्म कतै नजाने गरी आउन लागेका उनले एक हप्तापछि शुरु हुने सोह्रश्राद्धअन्तर्गत तीनजनाको पिण्डदान गर्नुपर्नेछ । स्रोतका अनुसार आमा रत्नराज्य बस्दै आएको नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा बाबु महेन्द्र, दाजु वीरेन्द्र र भाइ धीरेन्द्रको पिण्ड तीन फरक–फरक तिथिमा दान गर्नुपर्नेछ ।

यो क्रम ०५९ सालदेखि शुरु भएको हो । शाही परम्पराअनुसार राजाका रुपमा गद्दीसीन रहेको बेला यस्ता धार्मिक औपचारिकता पूरा गरिरहनुपर्दैन । तर, राजकाज नचलाएको बेला भने पितृहरुको नाममा वर्षेनी श्राद्ध गर्ने, तर्पण दिनेजस्ता काम गर्न मिल्छ । उनी राजा रहुञ्जेल यी तीनै श्राद्ध डिल्लीबजारस्थित बडागुरुज्यूको घरमै सम्पन्न हुने गरेको थियो । तर्पण दिने काम शाही नातेदारको उपस्थितिमा बडागुरुज्यूले गर्थे । अहिले पनि डिल्लीबजारका पाण्डेहरु पूर्वराजपरिवारका बडागुरुज्यूको उपाधिमै छन् ।

तर, स्वयं ज्ञानेन्द्रमाथि सरकारी लगानी नरहेको बेला ती गुरुज्यू खलकले सरकारी कोषबाट पाउँदै आएको भत्ता पाउने कुरै भएन । पुस्तौँदेखि दरबारको सेवा गर्दैआएका बडागुरुज्यू खलकका सदस्यहरु अहिले पनि पूर्वराजाका हरेक धार्मिक कार्यक्रममा पुरोहितकै भूमिकामा जाने गरेका छन् । शाहीपरम्परामा दरबारभित्र श्राद्ध गरिँदैन । तर, अहिले नारायणहिटी दरबार नभई सरकारी स्वामीत्वको संग्रहालय र महेन्द्र मञ्जिल अस्थायी बसोबास गर्ने ठाउँ बनेपछि त्यहाँ गरिने धार्मिक क्रियाकलापहरु खोलिएको छ । 

त्यस्तै, पूर्वयुवराज्ञी हिमानीले बारा र पर्साका बाढीपीडितलाई राहत वितरण गरी बैंककतिर लागेकी छन् । विभिन्न व्यापारिक घरानाबाट प्राप्त सहयोगबाट ५० लाखभन्दा बढी खर्च गरेर राहत बाँडेकी हुन् । हिमानी ट्रस्टका एक कर्मचारीका अनुसार, राहत वितरणका क्रममा उनको यातायात, बसोबास र खानपानको खर्चमात्रै तीन लाख नाघेको छ । उनीसँग काठमाडौंबाट सातजनाको टोली गएको थियो । हिमानीले बालबच्चालाई काठमाडौंमै छाडेकी छन् । उनी हिँडेपछि काठमाडौंमै रहेका पूर्वयुवराज पारसले बल्ल छोराछोरीसँग भेट गरेका छन् । 

टिप्पणीहरू