न्यायाधीशको आदेशविरुद्ध अदालत गए पूर्व न्यायाधीश

न्यायाधीशको आदेशविरुद्ध अदालत गए पूर्व न्यायाधीश

संवैधानिक नियुक्तिविरुध्द परेको रिटको सुनुवाइ स्थगित गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुध्द पुरक निवेदन परेको छ । सर्वोच्चका न्यायधीश हरि फुयाँलको आदेशविरुद्ध सर्वोच्चकै पूर्वन्यायाधीश बलराम केसीले पुरक निवेदन दर्ज गराउनुभएको हो ।

केसीले एकल इजलासबाट भएको आदेशले अभिव्यक्ति स्वतन्त्रतामाथि कुठाराघात गरेको र वाक स्वतन्त्रतामा बन्देज लगाएको जिकिर गर्नुभएको छ ।

केसीले दर्ज गराएको पुरक रिटमा संवैधानिक परिषद्सम्बन्धी सर्वोच्चमा विचाराधीन मुद्दामा आफूलाई सरिक गराएर सुनुवाइ गर्न माग गरिएको छ । रिटमा सरोकारवाला भएका कारण आफू पनि सहभागी हुन पाउनुपर्ने केसीको माग छ । रिटमा अन्तरिम आदेश जारी गर्नसमेत माग गरिएको छ ।

यसअघि न्यायाधीश फुयाँलको एकल इजलासले वरिष्ठ न्यायाधीशहरु सम्मिलित संवैधानिक इजलासको सुनुवाइ प्रक्रियामा रोक लगाइदिएको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विवाद टुंगो नलाग्दासम्म सुनुवाइ स्थगन गर्न फुयाँल श्रीमानको इजलासले अन्तरिम आदेश दिएको हो ।

पुरक निवेदन बोकेर अदालत पुगे पनि केसीको रिट दर्ता भइनसकेको सर्वोच्च प्रशासनले जनाएको छ । न्यायाधीश फुयाँलको एकल इजलासले रोक लगाएपछि न्याय निरुपण प्रभावित भएको भन्दै चिन्ता र चासो बढेपछि विवाद निरुपणका लागि बेञ्च–बार समन्वय समितिको बैठकसमेत बसेको छ ।

टिप्पणीहरू