संवादको एउटा राम्रो शुरुवात

स्थानीय तह दोस्रो चरणको निर्वाचनपछि पुरानो रोग अर्थात् संविधान संशोधनको मुद्दा ब्युँतिएको छ । सत्तारुढ दलले स्पष्टसँग आफ्ना कुरा राख्न नसक्दा र हुनै नसक्ने कुरामा मधेसी दललाई आस देखाउँदा यो विषय पटक–पटक चर्चामा आउने गरेको हो । तर, विगतभन्दा अलिक फरक परिदृश्य के छ भने राष्ट्रिय जनता दलका नेता जारी समस्या हल गर्न र मधेसको चित्त बुझाउन अब कसरी अगाडि बढ्ने भन्नेबारे अनौपचारिक छलफलमा जुटेका छन् । यसले के संकेत गर्छ भने दुई चरणको निर्वाचन भइसक्दा बल्ल मधेसवादी भनिएका दललाई आफ्नो असली मित्र र शत्रु को हो भन्ने थोरै भए पनि ज्ञानबोध भएछ । वास्तवमा नेपालको समग्र हित र दूरगामी प्रभावबारे सामान्य चिन्ता लिनेले मधेसका मुद्दा र त्यहाँ देखिएको असन्तुष्टिलाई राजनीतिक लाभ–हानिका रूपमा हेर्दैन र एमालेले लामो समयदेखि मधेसविरोधी भएको आरोप खेप्दै भए पनि तर्क र तथ्यका आधारमा या हठकै रूपमा भए पनि समस्याको समाधान खोजौं भन्दै आइरहेको छ । 

अहिले पनि सबै राजनीतिक दल केमा सहमत हुन सक्छन् भने हालको संविधानबारे मधेसमा केही असन्तुष्टि छ । तर, त्यो असन्तुष्टि तथ्यमा आधारित भने छैन । आममधेसी जनतालाई विभिन्न भ्रम सिर्जना गरेर कुहिरोको काग बनाइराख्ने प्रयत्न एकातिर छ भने नेपालको सर्वाधिक घना जनसंख्या भएको तराई–मधेसको आफू असली मित्र रहेको प्रमाणित गर्न अनेकौं खेल भइरहेका छन् । हुनै नसक्ने र काबु बाहिरको कुरा हो भन्ने बुझ्दाबुझ्दै पटक पटक मुलुकको कार्यकारी प्रमुखले तिमीहरूले भनेझैं, त्यही भाषा र शब्द राखेर संविधान संशोधन गरिदिन्छु भन्दै झुक्याउने र अल्मल्याउने जुन खेल भयो त्यसमा मधेसबाटै आफूलाई उखेल्ने दाउपेच रहेको बल्ल राजपालगायत दलले बुझेजस्तो देखिएको छ । अहिले देखिएको र विकसित हुँदै गएको घटनाक्रमको सबैभन्दा सकारात्मक पक्ष के हो भने यसबीच मधेस र पहाडलाई छुट्याउने र एकलाई अर्काको शत्रुको रूपमा चित्रित गर्ने जुन प्रयत्न अप्रत्यक्ष रूपमा सत्तारुढ दलबाटै भइरहेको थियो त्यसको अन्त्य हुने वा भनौं त्यो खेल असफल हुने सम्भावना छ । अबको विकल्प के कतिसम्म कुरामा संविधान संशोधन गर्नु आवश्यक छ र कुन कुरालाई सम्बोधन गर्न त्यसो गर्नुपर्ने हो भनेर एमाले र राजपाबीच संवाद हुनु र उनीहरूले समस्याको बाटो पहिल्याउनु नै हो ।

यसले एमालेलाई मधेसविरोधी भनेर लाग्ने गरेको आरोप हट्नेछ भने मधेसमा भ्रामक ढंगले जुन प्रचार गर्ने र आफूलाई स्थापित गर्ने प्रयत्न हो त्यो पनि आफैं कमजोर भएर जानेछ । यसले एउटा अभूतपूर्व राष्ट्रिय एकता कायम गर्ने त निश्चित नै हुन्छ देशभित्र दलगत स्वार्थलाई केन्द्रमा राखेर खेलिने कतिपय कच्चा र अपारदर्शी खेलका लागि मैदानसमेत खाली रहने छैन ।

टिप्पणीहरू