स्थानीय चुनावको मुखैमा सुरुप्प

स्थानीय चुनावको मुखैमा सुरुप्प

गत वर्षको मंसिर २५ गते ओली सरकारले देशभरिका ३०९ स्थानीय तहमा अस्पताल भवन र तीनवटा प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेको सर्वविदितै छ । त्यसैमध्ये बझाङको वित्थडचिर गाउँपालिकामा १५ शय्याको अस्पताल भवन शिलान्यास पनि हो । १८ करोड लागत रहेको अस्पतालमा तीनदेखि चार करोडसम्म जनप्रतिनिधि र कर्मचारीले कुम्ल्याउन खोजेको जानकारहरूको भनाइ छ ।

गाउँपालिकाले अस्पताल निर्माणका लागि पहिलो पटक टेण्डर आह्वान गर्दा भवनको भित्ता (वाल) ढुंगाबाट निर्माण गर्ने भनेर उल्लेख ग¥यो । सहजै इँटा नपाइने तर प्रशस्त मात्रामा ढुंगा पाइने ठाउँमा विकास निर्माणका लागि स्टोन मेसिनरी वालबाटै काम चलाइन्छ ।

जब टेण्डर आह्वान भएको करिब २३ दिन पुग्यो गाउँपालिकाले नाटकीय शैलीमा संशोधन भन्दै दोस्रो पटक सूचना निकाल्यो । दोस्रो सूचनामा ‘स्टोन मेसिनरी वाल’ को सट्टा ‘अस्लार मेसिनरी वाल’ हुनुपर्ने उल्लेख थियो । ‘अस्लार मेसिनरी वाल’ मा ढुंगालाई मेसिनद्वारा काटेर इँटाजस्तै समान आकार दिनुपर्छ । सम्भवतः यस्तो किसिमको प्रविधियुक्त कुनै पनि भवन सुदूरपश्चिममै नभएको निर्माण व्यवसायी बताउँछन् ।

बझाङमा ‘अस्लार मेसिनरी वाल’ जस्तो अत्याधुनिक प्रविधि धेरै कारणले असम्भव रहेको उनीहरूको दाबी छ । ढुंगा तयार गर्न मात्रै नियमित विद्युत् प्रविधि र त्यहीअनुरूपको जनशक्ति पनि चाहिन्छ । अहिले जसरी बझाङमा ‘अश्लार मेसिनरी वाल’ भनेर जनताको आँखामा छारो हाल्ने काम गरिएको छ यो सरासर धोका हो ।

आफूअनुकूल व्यक्तिलाई ठेक्का दिन मात्रै यो सब नाटक गरिएको हो । अहिले ठेक्का पाएको कम्पनीले पनि भवन निर्माण गर्ने बेलामा ‘अस्लार मेसिनरी वाल’ सम्भव नभएको भन्दै बहाना गर्छ अनि जनप्रतिनिधिले त्यसोभए स्टोन मेसिनरी नै प्रयोग गर्नु भनेर निर्णय गरेपछि काम तमाम हुन्छ । जनताको आँखामा छारो हालियो । बजेट पनि स्वाहा ।’

बझाङजस्तो दुर्गम जिल्लामा अस्लार मेसिनरी वाल कुनै पनि कोणबाट सम्भव नरहेको २० वर्षदेखि काम गरिरहेका ललितपुरका हरिराम श्रेष्ठ बताउँछन् । उनको बालकोटमा श्रेष्ठ स्लेट स्टोन कम्पनी छ ।

उनी भन्छन्, ‘अस्लार मेसिनरी प्रविधि मन्दिर, गुम्बा, पार्कजस्ता ठाउँमा प्रयोग गरिन्छ । अश्लार मेसिनरी वालमा ढुंगा पनि समान किसिमका हुन्छन् । आवश्यकताअनुसार ढुंगामा विभिन्न आकृति कोर्दै डेकोरेसन पनि गरिन्छ । दुर्गम ठाउँमा यस्तो प्रविधि सम्भव नै छैन । उहाँहरूले कसरी टेण्डर मिलाउनुभयो थाहा भएन ।’

टिप्पणीहरू