महन्थ ठाकुर समूह बालुवाटार पुग्यो,अध्यादेश ल्याउन छलफल शुरु

महन्थ ठाकुर समूह बालुवाटार पुग्यो,अध्यादेश ल्याउन छलफल शुरु

जनता समाजवादी पार्टीभित्र चर्को अल्पमतमा रहेको महन्थ ठाकुर र राजेन्द्र महतो समूह आफू अनुकूलको राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गराउने उद्देश्यले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न केहीबेर अघि जसपा नेताहरु महन्थ ठाकुर, शरदसिंह भण्डारी र लक्ष्मणलाल कर्ण त्यहाँ पुगेका हुन् ।

सरकारले हिजो एकाएक प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गरेपछि राजनीतिक दलसम्बन्धी अध्यादेशको चर्चा चुलिएको छ । अघिल्लो वर्ष बैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएर पछि फिर्ता लिइएको उक्त अध्यादेशलाई अझ अझ परिस्कृत गर्दै जारी गर्न लागिएको बताइन्छ । उपेन्द्र यादवलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयपछि हिजो सर्वोच्चले पनि जसपा विवादमा महन्थ ठाकुरलाई साथ नदिने टुंगो गर्नासाथ यो समूह चर्को तनावमा छ । नयाँ पार्टी खोल्ने सुविधा पाइएन भने यो खेमाका १२ भाइको साँसद पद टोपबहादुर रायमाझी,प्रभू साह,लेखराज भट्टको झैं उपेन्द्रको यौटा चिट्ठीको भरमा जान सक्छ ।

ठाकुुर समूहले जसपाबाट छुट्टिएर नयाँ दल दर्ताको निम्ति अनुकूल व्यवस्थासहितको अध्यादेश जारी गरेको अवस्थामा आफूहरु समेत देउवा सरकारमा सामेल हुने आशय राखेको स्रोतको दाबी छ ।

उता एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत प्रधानमन्त्री देउवाले अध्यादेशमा गरिने नयाँ व्यवस्थाबारे विचार विमर्श गर्नुभएको बुझिएको छ । स्वयम् नेता नेपाल पनि केही दिनदेखि आफू निकटस्थ नेताहरुसँग सरकारले जारी गर्नसक्ने राजनीतिक दलसम्बन्धी अध्यादेशमा समावेश गर्नुपर्ने नयाँ व्यवस्थाबारे विचार विमर्शमा व्यस्त हुनुभएको बताइन्छ ।

टिप्पणीहरू