हामी महिला झन् धेरै असुरक्षित

हामी महिला झन् धेरै असुरक्षित

नेपालमा महिला हिंसाका घटना बढिरहेको छ । चाहे बाहिर होस् या घरभित्रै, अपरिचित मान्छेबाट होस् या आफ्नै परिवारको सदस्यबाट, महिला हिंसाका घटना बढ्दो छ । दैनिक दुई जना महिला हराएको वा बलात्कृत भएको सुन्दा मन खिन्न हुन्छ र लाग्छ देशमा कुनै कानुन नै छैन । संविधानमा महिला अधिकार र समानताबारे जति नै राम्रो लेखिए पनि व्यवहारमा लागू हुन नसक्दा अपराधजन्य घटना नियन्त्रणमा आउन सकेको छैन ।

महिला हिंसाविरुद्ध दैनिकजसो ठाउँ–ठाउँमा नारा, जुलुस, प्रदर्शन पनि हुने गरेका छन् । सामाजिक सञ्जालमा पनि विभिन्न अभियान थालिएको देखिन्छ । तैपनि, हिंसाका घटना कम भएका छैनन् बरु बढेका छन् । प्रहरी तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्रै कूल १८ हजार ९६१ वटा महिला हिंसाका घटना भएका छन् । जसमध्ये जबरजस्ती करणीका २ हजार ५३२, अपहरणका ६७ र घरेलु हिंसाको सबैभन्दा बढी १४ हजार २३२ वटा उजुरी प्रहरीमा दर्ता भएका थिए । त्यस्तै, बोक्सी आरोपमा हिंसामा परेका ६१ र बेचबिखनविरुद्ध १० वटा उजुरी परेको प्रहरीको विवरणमा उल्लेख छ ।

यो त प्रहरीमा पुगेका घटना मात्र हुन् । प्रहरीसम्म नपुगेका, लुकाईएका, मिलापत्र गरिएका यस्ता कैयौं घटना अझै कति छन् कति ! केही दिन अगाडिको कुरा हो, एक जना सँगै पढेको साथीको फोन आयो । फोन उठाएको मात्र के थिएँ रुन पो थाली । ऊ रोएको सुनेर एकछिन केही बोल्न सकिन । दिउँसो हामी बजारमा सँगै हुँदा सबै ठीक थियो । सपिङ सकेर सामान्य रूपमै छुट्टिएका थियौँ ।

ऊ एकछिनपछि बोल्न थाली । घर जान बस कुर्दै गरेका बेला बाटोमा कुनै केटाले शरीरमा हात लगाएछ । उसले त्यो केटालाई गाली पनि गरेकी रै’छ । तर, जति गाली गरे पनि केटाले हिंसा गर्न छाडेन । उल्टै केटा पिछा लाग्यो, अनि ऊ भाग्न थाली । त्यो सब हुँदै गर्दा नजिकै मोटरसाइकलमा एक जना केटा बसिरहेको थियो रे ! तर न त्यो तमाशा हेरिरहेको केटा केही बोल्यो न अरु । सहन नसकेर आफ्नो एक जना केटा साथीलाई घर छोड्दिन फोन गरेर बोलाइछ । त्यो साथीले उसलाई आइन्दा एक्लै नहिँड्ने बाचा गराएर घरमा छोडी फर्किएछ ।

घटना सुनेर नरमाइलो लाग्यो, सँगै आक्रोश पनि उठ्यो । संसारमा शायदै त्यस्ता महिला होलान्, जसले जिन्दगीमा कुनै न कुनै रूपमा यस्ता घटनाको शिकार हुनु नपरेको होस् । म स्वयं बाटोमा हिंड्दा केटाहरूले जिस्क्याउने, सिठी बजाउनेजस्ता अनैतिक हर्कत कैयौँ पटक भोग्नुपरेको छ । तर, यस्ता पीडादायी घटना कसैलाई सुनाउने हिम्मत महिलासँग हुँदैन ।

बोलेर पनि के काम ! निर्मला पन्तहरुको बलात्कार हुँदा त न्याय नपाइने समाजमा यस्ता घटना सुनाएर पनि के अर्थ ! अस्ति भर्खरको अर्को घटना हो, एकजना साथी बाइकमा पछाडि बसेर आउँदै गर्दा एकजना फुच्चेले उसको नजिक गएर घाँटी सफा गर्दै थुक फ्याँकेछ र उसलाई हँस्यौलो पारामा हेर्दै गएछ । एकदम रिस उठेको थियो तर के गर्नु चुपचाप हिँड्नुको विकल्प के छ र ! रातिको समयमा हिँड्न गाह्रो थियो अब त दिउँसै हिँड्न नि डराउनुपर्ने ?’ मसँग एकछिन खुब रिस पोखी । यो धेरै महिलाको साझा समस्या हो भन्ठानेँ अनि उसको रिस देखेर केही बोलिनँ । कुरा सुनेर मौन रहेँ ।

मनमा यही कुरा खेलिरहेको थियो, शायद यस्ता पुरुषलाई सानैबाट शिक्षा दिन सके हामी महिलाले असुरक्षित महसुस गर्नु पर्दैन थियो कि ? सानैदेखि छोरीहरूलाई आफ्नो लुगा, हिँडाइ, बोलाइमा रोक नलगाएर बरु छोराहरूलाई नैतिकता सिकाउन सके यस्तो हुँदैन थियो कि ? ‘पुरुषजति सब उस्तै’ भनेर महिलाको मुखबाट निस्कियो भने पुरुषहरू एकैपल्ट खनिन आउँछन्, तर यो सोच्दैनन् कि सबै पुरुष भनेर किन भनियो ? हुन सक्छ सबै पुरुष एउटै नहोलान् ।

एकपटक सोचौँ त बजारबाट एक किलो स्याउ किनेर ल्याऊँ र त्यसमा एउटा स्याउ कुहिएको रहेछ भने हामी सबै स्याउ त कुहिएको छैन भनेर एकपल्ट नियालेर हेर्न बाध्य हुन्छौँ । ठीक त्यस्तै, एकजना पुरुष नराम्रो भेटियो भने अरु पनि त्यस्तै हुन् भनेर पटक–पटक सोच्न बाध्य हुन्छौं । मलाई पनि यस्ता धेरै घटनाले सताएका छन् । कतिबेला कराएर हिँड्ने गरेकी छु, कतिबेला भने केटाको जात नै यस्तै भनेर नसुनेझैँ गरेकी छु । एक समयको कुरा हो, घरमा थिएँ । स्कुलकी साथी भेट्न आई । कोठामा पस्नेबित्तिकै उसको मुख हेरेँ, स्वाभाविक लागेन । केही त पक्कै गडबड छ ।

शुरुमा बोल्न नचाहेकी ऊ निकै कर गरेपछि बोल्न तयार भई । अनि खाटमा थचक्क बसी । उसको मुखबाट पहिलो वाक्य निस्कियो, ‘छ्या !’ भएको के रहेछ भने ऊ मेरो घर आउँदै गर्दा एकजना अधबैंसे मान्छेले मोटरसाइकल रोकेर आफ्नो संवेदनशील भाग देखाएछ । शुरुमा त ऊ तीनछक परी । बुझ्नै सकिन के हुँदै छ । पछि दिमागमा कुरा पसेपछि हतार हतार हिँडिछ । यस्ता घटना त हामी महिलासँग कति छन् कति तर यसबारे कसैसँग बोल्न सकिरहेका हुँदैनौँ । मान्छेहरू भन्छन्, बोल्नुपर्छ । तर जब बोल्न खोज्छन्, अरुको कुरै छाडौँ आफ्नै बाबु, आमाले नै ‘चुप चुप, बोल्ने हैन यस्तो कुरा’ भन्ने गर्छन् । साथीभाइ, इष्टमित्रसँग आफू हिंसामा परेको कुरा सुनाइयो भने उल्टै कुरा काटिने पात्र बन्नुपर्छ । ‘छोटो लुगा लगाएर होला’ प्रायः यही सुनिन्छ ।

तर, स–साना बालिका बलात्कारको शिकार हुनुपरेको तथ्य उनीहरू बुझ्न चाहँदैनन् । यतिसम्म महिला असुरक्षित छन् कि एउटी आमाले सानी छोरीलाई उसकै बाबु वा हजुर बुवासँग एक्लै छोड्न अप्ठेरो मान्नुपर्ने विडम्बनापूर्ण अवस्था छ । यो एकदमै दुःखलाग्दो कुरा हो । थाहा छैन देशको कानुन बलियो नहुँदा यो भइरहेको हो या हामी आफै सचेत नहुनुका कारण हो । धेरै मान्छे चाहे महिला होस् या पुरुष,बलात्कारको घटनामा महिलालाई नै दोषी ठोकुवा गर्छन् ।

केही समयअगाडि एउटा अन्तर्वार्ता हेरेकी थिएँ, नेपालकी कुनै पुरानी कलाकार रहिछन् । शारीरिक शोषण हुनुमा महिलाकै गल्ति हो भनेर ठोकुवा गरिन् तिनले पनि । अन्तर्वार्ता हेरेर अचम्मै लाग्यो । कलाकारजस्तो मान्छेलाई पनि बोल्न नआएको हो या महिला हिंसाका घटनामा उनको धारणा नै त्यस्तै हो । घोत्लिएर निकै बेर सोच्दा पनि अनुत्तरित भएँ । सायद आफैँमाथि यस्ता घटना नहुँदासम्म मान्छेले अरुको पीडा बुझ्दैनन् होला । भन्छन्,अरु कसैले नबुझे पनि महिलाले त महिलाको पीडा बुझ्छन् तर त्यो कुरा पनि गलत रहेछ जस्तो लाग्यो । धेरै यस्ता घटनामा महिलाकै विरुद्ध महिला उत्रिएको प्रमाणका चाङ छन् ।

टिप्पणीहरू