दुब्लाउन थाले राज्यमन्त्री,४ किलो स्वाट्टै

दुब्लाउन थाले राज्यमन्त्री,४ किलो स्वाट्टै

कोरोना महामारीको पछिल्लो समयमा स्वास्थ्य मन्त्रालय सम्हाल्न पुग्नुभएका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई एकैचोटी राजनीतिक र शारीरिक दोहोरो फाइदा मिलेको छ । अत्यधिक तौलका कारण अप्ठेरोमा रहनुभएका श्रेष्ठले पछिल्लो समय ४ किलो तौल घटाएको चर्चा छ ।

१ सय १४ किलोको मोटो शरीर लिएर सिंहदरबार छिरेको महिना दिन नपुग्दै उहाँले चार किलो तौल घटाएको निकटस्थहरुले बताएका छन् ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा अरबौँको लगानी गरेर दह्रो व्यवसायी बन्नुभएका श्रेष्ठ राजनीतिमा पनि सफलताको सिँढी उक्लिइरहनु भएको छ । सरकार गठनको झण्डै एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकिरहेका बेला श्रेष्ठलाई भने प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीको रोजाईको पात्र भएकै कारण मन्त्री बन्नुभएका श्रेष्ठलाई अहिले स्वास्थ्य मन्त्रालयमा भ्याइनभ्याई छ । विभागीय मन्त्री नियुक्त नभएका सबै मन्त्रालय प्रधानमन्त्री स्वयमले सम्हाल्ने भनिए पनि स्वास्थ्य मन्त्रालय भने श्रेष्ठकै जिम्मामा छ ।

स्वास्थ्य मन्त्रालयको नेतृत्व पाए पनि अत्यधिक शारीरिक तौललाई ध्यानमा राखेर राज्यमन्त्री श्रेष्ठले डायटिङ गर्नुभएको हो । बिहान ८ बजे ब्रेकफास्ट गरेर मन्त्रालय जाने र खाना खान एकैचोटी बेलुकी ८ बजे घर पुग्ने उहाँले नयाँ सेड्युल बनाउनुभएको छ ।

एकातिर कार्यबोझ अर्कोतिर डाइटिङ -तौल त घट्ने नै भयो । त्यसमा बेलाबखत आफ्नो व्यवसाय विस्तारको चिन्ताले मोटो शरीर स्वाट्टै घटेको अनुमान गरिएको छ ।

टिप्पणीहरू