सरकार जाग, छिटो यतातिर लाग

सरकार जाग, छिटो यतातिर लाग

केही दिनदेखि नेपालमा कोरोना संक्रमितको चाप उच्च देखिएको छ । उपत्यकाका अधिकांश स्थानमा मानिसको भीड देखिन थालेको छ । सबै सामान्य भएजस्तो गरेर हिँडेको हुनाले पनि कोरोना संक्रमण बढिरहेको छ । भारतबाट फर्किनेहरूको नाकामा परीक्षण भएको छैन । जसले गर्दा नेपालमा चाँडै तेस्रो लहर फैलिने विज्ञहरूको भनाइ छ । नाकामा कोरोनाको परीक्षण नभएका कारण नेपाल पनि छिमेकी देशको जस्तै अवस्थामा आइपुग्न बेर लाग्दैन ।

कोभिड परीक्षण नगरी जथाभावी जसलाई पनि उपत्यका छिर्न दिइएको छ । सरकारले बनाएको मापदण्डमध्ये कुनै पनि पालना हुन सकेको छैन । सर्वसाधारणले मास्क त लगाएका छन् तर चिउँडो छोप्नका लागि मात्र । स्वास्थ्य मापदण्ड फुटपाथ व्यवसायीदेखि लिएर ठुल्ठूला पसलेहरूले समेत पालना गरेका छैनन् । अस्पताल, विभाग, कार्यालय, वित्तीय संस्थामा पनि अत्यन्तै भीड छ । सार्वजनिक सवारी साधनमा यात्रुले कोचाकोच गरेका छन् । ट्राफिक प्रहरीले सार्वजनिक सवारी साधनको अनुगमन गरेको छैन । उच्च पदमा रहेकाले पनि स्वास्थ्य मापदण्ड पूरा गरेका छैनन् । कोरोनाको उच्च जोखिम रहेका बेला पनि जनप्रतिनिधिको भेला जारी छ ।

उपत्यकाका विभिन्न स्थानमा दैनिक नाराबाजी, धर्ना र आन्दोलन देख्न पाइन्छ । आन्दोलनमा सामेल हुनेहरूको मुखमा मास्क छैन्, भौतिक दूरीको पालना भएको छैन । अनुगमन फितलो, त्यहीमाथि सर्वसाधारणको लापरबाही । हरेक अस्पताल कोरोनाको बिरामीले भरिभराउ छ । भेन्टिलेटर र आईसीयूमा संक्रमितको संख्या बढ्दो छ । यसैगरी छाडा छाडिदिने हो भने केही दिनपछि भुइँमा राखेर पनि बिरामी जाँच्न सम्भव हुँदैन ।

कोरोना नियन्त्रणनिम्ति नीतिनियम बनाई कार्यान्वयनमा ल्याउने काम सरकारको हो । तर सत्ता चलाउने राजनीतिक दलहरु नै विभिन्न कार्यक्रममार्फत कोरोना फैलाएर हिँडिरहेका छन् । आफँै सत्तामा बस्ने, आफैँले बनाएको नियम उल्लंघन गर्ने । अनि यस्ता राजनीतिक दलबाट जनताले के सिक्ने ?

कोरोनाको कारण ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । राज्यलाई जनताभन्दा कर ठूलो लाग्न थालेको छ । नाम मात्रको निषेधाज्ञा जारी गरेर सरकार आफ्नो जिम्मेवारीबाट पछि हट्न मिल्दैन । ०७२ को भूकम्पबाट भन्दा ज्यादा कोरोनाबाट दश हजार प्लस जनता मर्नु चानचुने कुरा हैन ।  साँझपख फुटपाथका पसल र सामान किन्नेको भीडले बाटो पूरै ढाकेको हुन्छ । मुखमा मास्क छैन, हातमा पञ्जा छैन र स्टलमा स्यानिटाइजर पनि राख्ने गरेको पाइँदैन ।

खोप लगाउने ठाउँ हे¥यो भने खोप लगाउनै नपरे हुन्थ्योजस्तो लाग्छ । अव्यवस्थित खोप केन्द्र, त्यहीँमाथि सर्वसाधारणको लापरबाही । खोप केन्द्रबाटै कोरोना सर्ने डर । कोभिड नियन्त्रणका लागि ठोस कदम चाल्न जरुरी भइसकेको छ ।

टिप्पणीहरू