सरकारद्वारा पूर्वप्रधानमन्त्री ओलीको ७० रोपनी जग्गा जफत

सरकारद्वारा पूर्वप्रधानमन्त्री ओलीको ७० रोपनी जग्गा जफत

शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिष्ठानको नाममा रहेको झण्डै ७० रोपनी जग्गा जफत गरेको छ ।

ओलीले प्रतिष्ठान खोली पत्नी राधिका शाक्यलाई अध्यक्ष बनाएर तेह्रथुममा ट्रष्टको नाममा हदबन्दीभन्दा बढी जग्गा राखेको पाइएपछि त्यसलाई सरकारले जफत गरेको हो । प्रचलित कानुनअनुसार पहाडमा ७५ रोपनीभन्दा बढी जग्गा एकै व्यक्ति वा संस्थाको स्वामित्वमा राख्न पाईंदैन ।

तर ओलीले शक्तिको आडमा १ सय ४३ रोपनी १४ आना एक पैसा जग्गा खरिद गरेको भेटिएसँगै हदबन्दीभन्दा बढी जग्गा सरकारको नाममा तानिएको हो ।

ओलीको नाममा खोलिएको उक्त ट्रष्टका नाममा तेह्रथुमको आठराई पोखरी वडा नम्बर ४ मा कित्ता नम्बर २७३, ५१९, ५२०, ५२१, ५२३ र ५२४ र वडा नम्बर ५ मा ६१३, ६१६, ६१७, ६१८, ६२१ र ६२४ मा गरी कुल ६९ रोपनी १० आना १ पैसा जग्गा हदबन्दी भन्दाबढी भेटिएको हो । सरकारले हदबन्दी भन्दाबढी जग्गा जफत गरी ओली ट्रष्टको नाममा रहेको उक्त जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो ।

भूमि व्यवस्था मन्त्रालयले ०७८ असार २१ को निर्णयबाट ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारको स्वामित्वमा ल्याइएको जनाएको छ । सरकारले ६९ रोपनी जग्गा जफत गरेपछि अब त्यहाँ ओली प्रतिष्ठानको नाममा ७४ रोपनी जग्गा बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू