दुबई जान अर्को बाधा, काठमाडौंबाट जहाज रित्तै

दुबई जान अर्को बाधा, काठमाडौंबाट जहाज रित्तै

धेरै नेपालीको श्रम गन्तव्य रहेको संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जान नयाँ बाधा उत्पन्न भएको छ । युएईले विश्वका अन्य देशबाट आउने यात्रुले सम्बन्धित मुलुकको विमानस्थलबाट उड्नुभन्दा चार घण्टाअघि र्यापिड पिसिआर टेस्ट गर्नुपर्ने नयाँ नियम जारी गरेपछि नेपालबाट त्यता जान अप्ठेरो भएको हो ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यस्तो परीक्षणको व्यवस्था नहुँदा सोमबारदेखि नेपालबाट दुबई जाने यात्रु रोकिएका हुन् । यसबीच नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सले काठमाडौंबाट रित्तो जहाज उडाएर उताबाट एकतर्फी यात्रु ओसारिरहेका छन् ।निगमले हिजो प्रकाशित गरेको सूचनामा युएई सरकारले नेपालबाट युएई प्रवेशका लागि प्रस्थान गर्नुअघि उडान समयको ४ घण्टाभित्र र्यापिड पिसिआर टेस्टको रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरेकाले काठमाडौंबाट यात्रु बोकेर दुबईलगायतका सहरमा उडान गर्न नसकिने जानकारी गराएको छ ।

यस्तै, निगमले आफ्नो विमानबाट दुबई यात्रा गर्न टिकट लिएका यात्रुलाई टिकटबारे विस्तृत जानकारी दिन सम्बन्धित ट्राभल्स एजेन्सी अथवा निगमको फोन नं. ०१–४२४४०५५÷४२४८६१८÷४२४८६०७ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

साथै, काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा र्यापिड पिसिआर टेस्टको व्यवस्था हुनासाथ पुनः सेवा सुचारु हुने जानकारी समेत दिएको छ ।

टिप्पणीहरू