​कस्ता–कस्ताले पाए काम ?

तीन हप्तासम्म कार्यालय प्रमुखविहीन बनेकोे राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रका निर्देशक डा.शरच्चन्द्र बर्मालाई ल्याइएको छ भने क्षयरोगबारे शून्य ज्ञान भएका बालरोग विशेषज्ञ डा.आरपी बिच्छालाई ८ देश संलग्न रहेको सार्क क्षयरोग केन्द्रको प्रमुख बनाइएपछि विरोध शुरु भएको छ । नेपाल सरकारको कुनै पनि स्वास्थ्य निकायमा १० वर्ष काम गरेको वरिष्ठ छातीरोग विशेषज्ञ मात्रै सार्क क्षयरोग केन्द्रको निर्देशक बन्न पाउने नियम सन् २००५मा पारित भएको थियो ।

यसअघि राष्ट्रिय क्षयरोग केन्द्रको प्रमुख नै सार्क क्षयरोग केन्द्रको पनि प्रमुख रहने व्यवस्था थियो । सार्क क्षयरोग केन्द्रका निर्देशकले सार्क सदस्य मुलुकमा क्षयरोग तथा एचआइभी एड्सको नीति निर्माण गर्ने, कार्यक्रम बनाउने, विभिन्न बैठकको अध्यक्षता गर्नेलगायत थुप्रै जिम्मेवारी निभाउनुपर्ने हुन्छ । पाकिस्तानका परराष्ट्रविद् अहमद हुसेन बि.सियाल सार्क महासचिव नियुक्त भएकै दिन (मार्च १) मा स्वास्थ्य मन्त्रालयले अघिल्लो दिनको मिति राखेर डा.बिच्छालाई नियुक्त गरेको हो ।

उनी अघिल्लो शुक्रबारदेखि कार्यालय आउन थालेका छन् । स्थानीय निकायको निर्वाचन मिति तोकिएपछि आचारसंहिता लाग्ने भएकाले मन्त्रालयले १ दिनअघिको मितिमा उनलाई नियुक्त गरेको बताइन्छ । आर्थिक अनियमितताको कारण राष्ट्रिय क्षयरोग केन्द्रका तत्कालीन निर्देशक डा.विकास लामिछानेलाई गत माघ २३ गते स्वास्थ्य मन्त्रालयले बाल स्वास्थ्य महाशाखामा सरुवा गरेपछि केन्द्र प्रमुखविहीन बनेको थियो । सो ठाउँमा कान्ति अस्पतालका बालरोग विशेषज्ञ डा.बिच्छालाई पठाउने तयारी भएपछि ४६ कर्मचारीमध्ये ४२ जनाले सामूहिक हस्ताक्षर गर्दै गत माघ २४ गते मन्त्री गगन थापा, राज्यमन्त्री तारामान गुरुङ र स्वास्थ्य सचिव डा.सेनेन्द्रराज उपे्रतीलाई ज्ञापनपत्र बुझाएका थिए । १०औं तहका वरिष्ठ छातीरोग विशेषज्ञ डा.मोहन प्रसाईलाई प्रमुख बनाउन केन्द्रका कर्मचारीले माग पनि गरेका थिए ।

१५ असारमा सेवानिवृत्त हुन लागेका सार्क क्षयरोग तथा एचआइभी एड्स केन्द्रका निर्देशक एवं छातीरोग विशेषज्ञ डा.वर्मालाई राष्ट्रिय क्षयरोग केन्द्रमा सरुवा गरी सार्कमा डा.बिच्छालाई ल्याइएको हो । यसैबीच, राष्ट्रिय क्षयरोग कार्यक्रमलाई धरापमा पार्ने भनेर उपनाम पाएका केन्द्रका उपसचिव नारायण दाहाल, तथ्यांक अधिकृत अनिल थापा, एलएचएल नर्वेका कर्मचारी गोकुल मिश्र र पब्लिक हेल्थ नर्स कमला वाग्लेलाई २ दिनको भत्ता दिनेगरी सेभ द चिल्ड्रेन र नेदरल्याण्ड टिबी फाउन्डेसनले बालरोग विशेषज्ञ मात्रै सहभागी हुन पाउने दुईदिने गोष्ठीमा सहभागी गराएको छ । राजधानीको नक्सालस्थित खागी दरबार (जापानी होटेल) मा गत मंगलबारदेखि शुरु भएको सो गोष्ठीमा ती ४ जना गैरविशेषज्ञ बाहेक कान्ति बाल अस्पताल र नेपाल पेडियाट्रिक सोसाइटीमा आबद्ध बालरोग विशेषज्ञ सहभागी थिए ।

टिप्पणीहरू